रवीन्द्र अधिकारीका ३ आयाम

समाधान संवाददाता २०७६ फागुन १५ गते १४:२७

रश्मि आचार्य

कस्केली जनताले आफ्नो प्रिय नेता रवीन्द्र अधिकारीलाई गुमाएको आज १ वर्ष भयो । उहाँको भौतिक शरीर जनतामाझ नभए पनि उहाँका योजना, सपना र विचारले निरन्तर बाटो देखाइरहका छन् । कास्की जिल्ला, गण्डकी प्रदेश र समग्र देशलाई उहाँको अभाव हरदम खड्किरहेको छ । समृद्ध नेपाल निर्माणका अभियन्ता उहाँलाई यो अभियानले पलपलमा सम्झिरहेको छ ।

रवीन्द्र अधिकारीलाई धेरैले आफ्नै जोड, कोणबाट सम्झिरहेका छन् । उहाँसँगै स्कुलमा पढेका दौंतरी आज पनि उहाँलाई सम्झेर भक्कानिने गर्छन् । क्याम्पसको विद्यार्थीकालमा सँगै काम गरेका सहयोद्दा उहाँसँगका आत्मिय क्षण सम्झेर निःशब्द हुने गरेका छन् । पार्टी जीवनमा हातेमालो गरेका सहकर्मीले १ शब्दमा ‘अपुरणीय क्षति’ भन्ने गरेका छन् । १ समयको दक्षिणी इलाका (कृस्ती, निर्मलपोखरी र भरतपोखरी) ले परिवारको साहरा गुमेको महसुुुुस गरेका छन् । समग्र पोखरेलीले पोखाराको ज्योति निभेको ठानेका छन् । यसमध्ये मुख्यतः ३ आयाम ज्यादै महत्वपूर्ण छन् । प्रथमतः विद्यार्थी आन्दोलनका १ रोलमोडेलको रुपमा उहाँलाई धेरैले व्याख्या गरेको पाइन्छ । दोस्रो, राजनीतिक क्षेत्रको १ आशाको दिपको रुपमा हेर्नेको पनि उत्तिकै संख्या छ । तेस्रो, देशको समृद्धिको अभियानमा सर्जकको रुपमा उहाँलाई प्रस्तुत गरेका अनेक पक्ष देख्न सकिन्छ ।

विद्यार्थी आन्दोलनका ‘रोल मोडेल’
नेपालको विद्यार्थी आन्दोलनमा रवीन्द्र अधिकारी पृथक पहिचान हो । विद्यार्थी आन्दोलनलाई नयाँ शिराबाट परिभाषित गर्न उहाँका योगदान महत्वपूर्ण आधार बन्ने गरेका छन् । यातायातका साधनमा विद्यार्थीलाई सहुलियत दिलाउने आन्दोलन, स्वाथ्य र मनोरञ्जनका क्षेत्रका विद्यार्थी सहुलियतको आन्दोलन, राष्ट्रियताको प्रवद्र्धनमा कालापानी मार्च जस्ता अभियान, स्ववियुलाई सृजनात्मक र रचनात्मक बनाउन विशेष पहलकदमी लगायतका सवालमा उहाँको योगदान अद्वितीय छ । राजाको सक्रिय शासन रहेको समयमा तत्कालीन शाह ज्यादा पारस शाहले घटाएको प्रवीण गुरुङ हत्याकाण्डमा पारस शाहमाथि कारवाहीको माग गर्दै उहाँले उठाएको आवाज राजनीतिक हिसाबले पनि ज्यादै जोखिमपूर्ण कदम थियो । जुन काम उहाँले तत्कालीन अनेरास्वयुको अध्यक्ष रहँदा बहन गर्नुभयो । यथार्थताको जगमा उभिएर भन्नु पर्दा विद्यार्थी आन्दोलनमा आकर्षण भर्न र आम जनताको आशा र भरोसाको केन्द्र बनाउन उहाँको भूमिका अग्रणी थियो भन्दा सायद अतिशयोक्ति हुँदैन ।

विद्यार्थी आन्दोलन र स्ववियुको औचित्य माथि प्रश्न उठिरहेको वर्तमान सन्दर्भमा उहाँले अगाडि सारेका धारणा, विचार र योजना धेरै हदसम्म यस आन्दोलनलाई पुनर्जागृत गर्ने आधार हुन सक्छन् । कक्षाकोठासम्म स्ववियुको सम्बन्ध जोड्ने, गुणस्तरी शिक्षाको लागि पठनपाठन, परीक्षाको नतिजा केन्द्रित अनेक बहस चलाउने, देशका ज्वलन्त मुद्दामा घनिभूत बहस सञ्चालन गर्ने, राजनीति भित्र नैतिकता, इमान्दारिता र जिम्मेवारिताको मूल्य स्थापित गर्ने सवालमा समकालिनमध्ये उहाँको स्थान निकै उँचो थियो । अधिकारीले विद्यार्थी आन्दोलनमा विजारोपण गरेको सृजनशिलता यस आन्दोलन जोगाउने सक्ने महत्वपूर्ण पूँजी हो । यस अर्थमा उहाँलाई विद्यार्थी आन्दोलको रोल मोडेलको रुपमा लिन सकिने एक होइन अनेक आधार छन् ।

राजनीति क्षेत्रको आशाको दियो
पुस्ताका हिसाबले मूल्यांकन गर्दा नेपालको राजनीतिमा युवा पुस्ताका केही अब्बल पात्रमा अधिकारीको नाम दर्ज थियो । कुनै पनि विषयमा गहिरो ज्ञान राख्न सदैव तल्लिन, समाजका हरक्षेत्रसँग उत्तिकै सामिप्यता राख्न सिपालुु, राष्ट्रिय अन्तर्राष्ट्रिय ज्वलन्त मुद्दाप्रति चनाखोपन, जनतासँग जीवन्त सम्बन्ध राख्न माहिर, निडर स्वभाव, अध्ययनशील र आलोचनात्मक चेत रवीन्द्रका पर्याय थिए । कुशल राजनीतिज्ञमा हुनुपर्ने गुणले आफूलाई निपूर्ण बनाउने यात्रामा उहाँका पाइला धेरै अगाडि बढेका थिए । राजनीतिमा रहेको पहिलो पुस्तालाई विस्थापित गर्ने सम्भावित पात्रको रुपमा आम जनमानसले उहाँलाई हेरेका थिए ।

राजनीतिक विवाद र असहमतिका बीचमा सहमति कायम गर्न सक्नुलाई यस क्षेत्रमा विशिष्ट क्षमता ठानिन्छ । जुन क्षमता अधिकारीमा थियो । फरक राजनीतिक विचारधार अगाल्नेको समेत सजिलै मन जित्न सक्ने, आफ्नै विरुद्दका आवाजलाई पनि हाँसीहाँसी सामना गर्न सक्ने, असहमतसँग पनि एकै क्षणमासँगै हिड्न सक्ने अनौठो सहनशिलता र धैयैता उहाँमा थियो । विधि, थिति, मूल्य र मान्यता बचाएर मात्रै असल सँस्कार बसाल्न सकिन्छ भन्ने उहाँको दृढ मत थियो । राजनीतिलाई भ्रष्टीकरण र अपरााधिकरणबाट टाढा राख्न उहाँमा सचेतता नै देखिन्थ्यो । यसरी जुनकोण र जताबाट नियाले पनि रवीन्द्रमा खोट भेट्टाउन मुस्किलै पथ्र्यो । उहाँलाई आशाको नजरले हेर्ने पंक्ति हरेक दिन बढ्दै थियो । कास्कीबाट लगातार ३ पटक प्रतिनिधिसभामा विजय हाँसिल गरेर उहाँले दिएको सन्देशले धेरै प्रश्नको उत्तर आफैं दिन्थ्यो ।

समृद्धिको अभियन्ता
राजनीतिलाई जनताको समृद्धिसँग लगेर जोड्नुपर्छ भन्ने मान्यता अधिकारीमा धेरै पहिलेदेखि पलाएको देखिन्छ । ०६२÷०६३ को जनक्रान्तिले देशमा गणतन्त्र स्थापना गरे लगत्तै उहाँले लेखेका धेरै लेखमा यस्तो झल्को पाउन सकिन्छ । नेपाली समाजका अबका शत्रु रोग, भोक, गरिबी र अविकास हुन् भन्ने निचोडमा उहाँमा कुनै दुविधा थिएन । राजनीतिलाई समृद्धिसँग जोड्न उहाँलाई संसदको दोस्रो कालमा विकास समिति सभापतिको जिम्मेवारीले सघाउ पु¥याएको देखिन्छ । सांसद विकास कोषको रकमलाई उत्कृष्ट तवरले बाँडफाँड गरेर उदाहरणीय बन्ने, संसदका १० उत्कृष्ट सांसदमध्ये आफूलाई उभ्याउने, विकास समिति सभापति हँुदा विशेष पहलकदमी लिएर विभिन्न परियोजना समयमै सम्पन्न गराउन निर्णायक भूमिका खेल्नु जस्ता कार्यले उहाँको विकास र समृद्धि प्रतिको तिर्खालाई झल्काउँथ्यो । ‘समृद्ध नेपाल’ नामक पुस्तक लेखेर उहाँले यस अभियानको मूल अभियन्त बनेको तथ्य घाम जत्तिकै छर्लंग विषय हो ।

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न उहाँले गरेको निगरानी र खबरदारी ज्यादै अर्थपूर्ण खालका छन् । पर्यटन तथा संस्कृति मन्त्री रहँदा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य तोकिएकै समयमा पुरा गर्न उहाँले गरेको भगिरथ मेहनत सबैका सामु छर्लंग नै छ । जसको परिणाम स्वरुप यी २ विमानस्थल तोकिएको समय सीमाभित्र सकिने ठाउँमा आइपुगेका छन् । पोखरा आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि अनेकौं गुरुयोजना बनाउने, तिनलाई लागु गर्ने, कोरोला–जोमसोम–पोखरा–भैसालोटन जोड्ने लोकमार्ग निर्माण गरी गण्डकी प्रदेशको समृद्धिको ढोका खोल्न उहाँको योगदान अतुलनीय खालको छ । पोखरा, कास्की, गण्डकी मात्रै होइन, समग्र देशकै समृद्धिका लागि रविन्द्र अधिकारीले २ कदम अगाडि बढेर नै सोचेको देखिन्छ । वास्तवमा रवीन्द्र अधिकारी नेपालको समृद्धिको सच्चा द्रष्टा थिए ।

पहिलो स्मृति दिवसमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली !

तपाईको प्रतिक्रिया