गाई फार्म प्रकरणः लेखाले माग्यो ११ करोडको विवरण

भरत कोइराला
पोखरा
निजी गाई फार्मको सेयर खरिदका लागि ११ करोड रुपैयाँ दिने गण्डकी प्रदेश सरकारको निर्णयप्रति प्रदेश सभाको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । पत्रिकामा नियमित समाचार आएपछि समितिले प्रदेश सरकारसँग यो विषयसँग सम्बन्धित सम्पूर्ण कागजात मगाउने निर्णय गरेको छ ।
समितिको बिहीबार बसेको बैठकले ११ करोडको विषय निकै संवेदनशील रहेको भन्दै यसबारे सम्पूर्ण जानकारी १ साताभित्र पेस गर्न सरकारलाई निर्देशन दिने निर्णय भएको सभापति कुमार खड्काले जानकारी दिए । उनले भने, ‘यो गम्भीर विषय हो, एजेन्डा बनाएर अगाडि बढ्नुपर्नेछ, आवश्यक परे मुख्यमन्त्री, मन्त्री, प्रमुख सचिव र विज्ञसमेत राखेर यसबारे छलफल गर्नुपर्ने हुन्छ ।’ सरकारकै अर्थ मन्त्रालयले यो प्रक्रिया गलत छ भनेर रोकेकाले यसलाई एजेन्डा बनाइएको सभापति खड्काले बताए । यो विषयमा लेखा समितिका सदस्यले पनि अध्ययन अनुसन्धान गरेर वास्तविकताका बारेमा बुझ्न उनले आग्रह गरे ।
प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गण्डकी सरकारले गण्डकी काउ फार्म एन्ड रिसर्च सेन्टर प्रालिको सेयर खरिद गर्न भन्दै ११ करोड रुपैयाँ निकाशाका लागि माघ ९ निर्णय गरेको थियो । प्रदेश दुग्ध विकास बोर्ड मार्फत सेयर खरिद गर्ने निर्णय गरिए पनि निजी कम्पनीलाई कसरी सार्वजनिक निजी साझेदारी अनुसार सञ्चालन गर्ने र त्यसमा सरकारको कति प्रतिशत लगानी हुने कहिँ कतै खुलेको छैन । कम्पनीको चुक्तापुँजी २० करोड देखाइए पनि प्रदेश सरकारसँग २५ करोड माग भएकोमा तत्कालका लागि ११ करोड निकासाको निर्णय भएको हो । तर लगानी सुरक्षित हुने कुनै आधार नदेखिएको भन्दै प्रदेश अर्थ मन्त्रालयले उक्त रकम निकासा दिन मानेको छैन ।
अर्थ मन्त्रालय मात्र होइन प्रदेशकै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कर्मचारी यो रकम निकासा गर्दा आफूहरु फँसिने हो कि भन्ने डरमा छन् । सरकारका प्रवक्ता रामशरण बस्नेतले त प्रक्रियागत रुपमा धेरै प्रष्ट हुनुपर्ने देखिएकाले हालका लागि रकम निकासा नहुने बताइसकेका छन् । अर्थ मन्त्रालयका अधिकारीहरु त यसलाई गण्डकी प्रदेशको ‘एमसिसी’ भन्छन् । चिनिया सरकार मातहतको चाइनिज एकेडेमी अफ मेकानाइजेसन साइन्सेज (सिएएएमसी) को २० अर्ब रुपैयाँमा गण्डकीमा ‘रुरल पोभर्टी रिडक्सन बाइ डेरी डेभलपमेन्ट इन नेपाल’ सञ्चालन गर्ने भनिएको छ । सिएएएमएसको २० अर्ब, स्थानीय जनताको ५ अर्ब, प्रदेश सरकारको २५ करोड र निजी क्षेत्रको २५ करोड रुपैयाँ गरी २५ अर्ब ५० करोडको परियोजना लगानी हुने देखाइएको छ ।
यो परियोजनाका लागि सिएएएमएसले रामेछापका रामकुमार खड्का अध्यक्ष रहेको कम्पनीलाई अगाडि सारेको छ । प्रदेश सरकारले जग्गा, बाटो, बिजुली, पानी लगायत पूर्वाधार बनाइदिने र त्यसमा सिएएएमएसले अत्याधुनिक प्रविधिसहितको गाई फार्म सञ्चालन गरेर ४ वर्षमा प्रदेशलाई हस्तान्तरण गर्ने सहमति गण्डकी सरकारसँग भएको छ । सिएएएमसी फर्केपछि चिनीया लगानी स्वतः गण्डकी सरकारको हुने भनिएको छ । तर उक्त लगानी कहिले आउने, कसरी आउने भन्ने कुनै टुंगो छैन ।
सिएएएमसीको परियोजना कार्यकारीसहितको टोलीले तनहुँको फिरफिरेस्थित परियोजनास्थल कात्तिक १३ गते अवलोकन गरिसकेको प्रदेशको कृषि मन्त्रालयले जनाएको छ । तर त्यति धेरै लगानी गर्ने भनेर निर्णय गरिएको ठाउँ हेर्न प्रदेश सरकारका मन्त्री र अधिकारीहरुले चासो नै देखाएका छैनन् ।
मन्त्रालयमा पेस गरिएको कागजमा ७ सय रोपनी जग्गा किनिएको उल्लेख भए पनि हालसम्म ११ सय रोपनी जग्गा कम्पनीको नाममा आइसकेको छ । गाउँठाउँमै ठूलो परियोजना आउने भयो भनेर फिरफरे र आसपासका बासिन्दा उत्साही छन् । दोलखाको कालिञ्चोक गाई फार्म अलपत्र परेका बेला त्यसैका सञ्चालक रामकुमार खड्काले गण्डकी गाई फार्मको काम अगाडि बढाएकाले प्रदेश सरकारका अधिकारी सशंकित भएका हुन् ।
तपाईको प्रतिक्रिया