खानेपानी पाेखरामा अनलाइन बिलिङ सुरु

समाधान संवाददाता २०७६ फागुन १६ गते १२:४६

केदार धमला
पोखरा

नेपाल खानेपानी संस्थानले ३१ औं वार्षिकोत्सव मनाएको छ । २०४६ सालमा स्थापना भएको संस्थानले देश भरका २४ शाखासहित प्रधान कार्यालय त्रिपुरेश्वर काठमाडौंमा वर्षिकोत्सव मनाएको हो ।

बिहीबार नेपाल खानेपानी संस्थान पोखरा शाखामा भएको वार्षिकोत्सव सभामा कार्यालय प्रमुख इन्जिनियर आशीष कार्कीले संस्थानको हित भएमात्र कर्मचारीको मनोवलबढ्ने र हित हुने बताए । प्रमुख कार्कीले पोखरेली उपभोक्ताको हितमा संस्थान क्रियाशील भएर लागेको बताउँदै छिटोभन्दा छिटो पानीको महशुल तिर्न लाइन बस्ने समस्या समाधान गर्ने उल्लेख गरे ।

Advertisement

वार्षिकोत्सवको अवसरमा अनलाइन बिलिङ प्रणाली सुरुआत गर्दै घरमै बसेर पैसा तिर्ने व्यवस्था छिट्टै गरिने कार्कीले उल्लेख गरे । पोखरा शाखामा प्लाज्मा टेक्नोलोजिस्ट काठमाडौंले अनलाइन सेवा प्रदान गरेको छ । युनाइटेड सोलुसन्स काठमाडौंका सफ्ट्वेयर इन्जिनियर रितेषकुमार विष्टले नेटवर्किङमा प्राविधिक समस्या नआउने बताए । प्लाज्मा टेकका अध्यक्ष निर्मल सेढाईँले सिंगो संस्थानलाई एउटै सफ्टवेयरमार्फत् सेवा दिने सकिने बताउँदै संस्थानले उपलब्ध गराउने डाटाका आधारमा उपभोक्तालाई पेमेन्टमा सहजता ल्याउन सकिने बताए ।

पोखरा शाखाका प्रशासन प्रमुख दिपेश्वर मण्डलको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा नेपाल खानेपानी संस्थान हेमजा शाखाका प्रमुख दिनेश्वरप्रसाद यादवले संस्थानको आकार ठूलो बन्दै आएको बताए । प्रमुख यादवले कर्मचारीलाई उच्च मनोवलकासाथ उपभोक्तालाई सेवा दिन अनुरोध गरे ।

Advertisement

वार्षिकोत्सवको अवसरमा प्रशासन प्रमुख मण्डलले पोखरा शाखाका वर्ष उत्कृष्ट कर्मचारी प्रेमकुमारी अधिकारी, रुककुमार श्रेष्ठ, भरत पराजुली र रामप्रसाद अधिकारीलाई केन्द्रीय कार्यालयबाट प्रदान गरिएको पुरस्कार घोषणा गरेका थिए । कार्यक्रममा शाखाका कर्मचारीबीच भएको घैंटो फुटाउने कार्यक्रममा रुपेश पाण्डे विजयी बनेका थिए । ३३ सहभागीलाई पछिपार्दै पाण्डेले नगद ५ सय पुरस्कार हात पारेको कर्मचारी वसन्त भण्डारीले जानकारी दिए ।

पुरस्कार घोषणा कार्यक्रम सञ्चालन गर्दै कर्मचारी अच्युत घिमिरेले विजय हुने भन्दा कार्यक्रममा सहभागिता जनाउने ठूलो कुरा भएको बताएका थिए । घिमिरेले संस्थान र कर्मचारीको समस्या समाधानमा सबै मिलेर समाधान निकाल्नुपर्ने बताए । वार्षिकोत्सव सभामा पोखरा शाखाका अनील शर्मा सुवेदी र हेमजा शाखाका प्रधुम्न बस्नेतले गजल तथा हाइकुवाचन गर्दै मनोरञ्जन प्रदान गरेका थिए ।

पोखरा शाखामा भएको वार्षिकोत्सव कार्यक्रममा कर्मचारीले नृत्य प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेको सिमाना केसीले जानकारी दिइन् । वार्षिकोत्सव सभामा खानेपानी शुद्धिकरण आयोजनाका प्रतिनिधि सहभागी थिए । जापानिज संस्था जाइकाको सहयोगमा करिव ५ अर्बको लागतमा ट्रिटमेन्ट प्लान्ट निर्माण भइरहेको छ । आयोजनाको काम करिब२२ प्रतिशत कार्य सम्पन्न भएको इन्जिनियर सन्तोष दासले जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया