प्रदेशस्तरीय सुरक्षा गोष्ठी सकियो

समाधान संवाददाता २०७६ फागुन १८ गते १२:३७

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी शनिबार पोखरामा सकिएको छ । शुक्रबार सुरु भएको गोष्ठीमा प्रदेशभित्रका जिल्लाको सुरक्षा अवस्थाबारे विश्लेषण गरी आगामी दिनमा अपनाउनुपर्ने उपायका बारेमा रणनीति तय गरिएको छ ।

प्रदेश अन्तर्गत शान्ति सुरक्षाका बारेमा हालसम्म भए गरेका विभिन्न गतिविधि बारेमा गोष्ठीमा छलफल भएको सहभागीले बताएका छन् । प्रदेश अन्तर्गत रहेका विविध सुरक्षा चुनौती, अपराधिक तथ्यांक विश्लेषण लगायत विभिन्न पक्षमा संयुक्त अन्तरक्रिया गरी आगामी रणनीतिक कार्ययोजना तयार पार्न नेपाल सरकार गृह मन्त्रालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा उक्त गोष्ठी भएको हो ।

Advertisement

कार्यक्रमको समापन समारोहलाई गृहमन्त्री रामबहादुर थापा र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । समापन कार्यक्रममा गृहमन्त्री थापाले अहिले देखा परेका सुरक्षा चुनौती समाधान गर्दै समाजमा शान्ति, स्थायित्व एवं शुसासन कायम गर्न सर्वपक्षीय समन्वय एवं सहकार्यबाट परिस्कृत तथा एकिकृत रणनीतिक योजना अनुरुप लाग्नु पर्ने बताए । विकास एवं समृद्धिका लागि नागरिकको चेतना अभिवृद्धि गर्नुपर्ने कुरामा समेत उनले जोड दिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले प्रदेश अन्तर्गतको प्रहरी संगठनको संरचनालाई थप सुदृणीकरण गर्दै ज्ञान एवं कौशलले दक्षतापूर्ण प्रहरी जनशक्ति उत्पादन गरी थप रचनात्मक ढंगले जनता केन्द्रित प्रहरी सेवा प्रदान गराउने तर्फ प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । उनले प्रहरी संगठनलाई श्रोतसाधनयुक्त बनाई प्रविधिमैत्री जनशक्तिबाट जनमैत्री प्रहरी सेवा प्रवाहको विकल्प नरहेको बताए ।

Advertisement

गृहसचिव महेश्वर न्यौपानेले पेसागत अभिवृद्धि, उच्च व्यवसायिकता प्रदर्शन, जिम्मेवारीमा संवेदनशीलता साथै समन्वय र सहकार्यबाट शान्ति सुरक्षा र अमनचयनको अवस्थालाई सदैव चुस्तदुरुस्त राख्न निर्देशन दिए ।

कार्यक्रममा गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयका सचिव किरणराज शर्माले समग्र प्रदेशमा शान्ति सुरक्षाका सवालमा भएगरेका क्रियाकलापका बारेमा प्रस्तुति गरेका थिए । प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको शान्ति सुरक्षाको अवस्था, देखा परेका र सम्भावित चुनौतीहरु एवं गर्नुपर्ने अन्य थप गतिविधिहरुका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रमुख सचिव हरिप्रसाद बस्याल, नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको सहभागिता थियो । नेपाली सेना युद्धकार्य महानिर्देशनालय जंगी अड्डाका युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्की, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक गणेश अधिकारी, सशस्त्र प्रहरी महानिरीक्षक सैलेन्द्र खनाल, नेपाल सरकार गृह मन्त्रालयका सुरक्षा सल्लाहकार प्राडा इन्द्रजीत राई लगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया