बाराही मन्दिरमा अपांगमैत्री संरचना

समाधान संवाददाता २०७६ फागुन १८ गते १२:४३

जमुना वर्षा शर्मा
पोखरा

१२ औं अन्तर्राष्ट्रिय ह्विलचियर दिवसका सन्दर्भमा पोखराका ह्विलचियर प्रयोगकर्ताले डुंंगा सयर गर्दै बाराही मन्दिर दर्शन गरेका छन् । स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराले फेवा किनार र बाराही मन्दिर जाने बाटोमा अपांगमैत्री संरचनाको निर्माण गरेपछि ह्विलचियर प्रयोगकर्ताले फेवाताल घुम्ने र मन्दिर दर्शन गर्ने अवसर पाएका हुन् ।

पोखरा गणेशटोलकी ४८ वर्षीय ह्विलचियर प्रयोगकर्ता रीना पालिखेले पहिलो पटक बाराही मन्दिर दर्शन गर्न पाउँदा निकै आनन्द र शान्ति अनुभूति गरेको बताइन् । ‘म पोखरमा जन्में, हुर्कें तर ह्विलचियर प्रयोग गर्नुपर्ने भएकाले फेवाताल डुंगा चढे पनि मन्दिरमा नै आएर दर्शन गर्न पाएको थिइनँ,’ उनले भनिन्, ‘१÷२ चोटि तालतिरबाट नै दर्शन गरेँ, अहिले अपांगमैत्री बाटो बनेपछि भने आज प्रत्यक्ष यहीँ आएर दर्शन गर्ने अवसर मिल्यो ।’

Advertisement

पोखरा पस्र्याङकी ह्विलचियर प्रयोगकर्ता ३५ वर्षीय गंगा गुरुङ पनि पहिलोपटक बाराही मन्दिर दर्शन गर्न पाएकोमा निकै खुसी भएको बताए । ‘म पहिलोपल्ट आएको आज निकै रमाइलो भएको छ । सबैजनाले दर्शन गर्न पायौं । कति राम्रो रहेछ ।’

स्वावलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष हेम गुरुङले बाराही मन्दिर आउने अपांगमैत्री संरचना निर्माण गर्न निकै कसरत गर्नुपरेको सुनाए । ‘निकै लामो समयदेखि र्‍याम्प निर्माणमा जुटेका थियौं । बल्ल त्यो पूरा भएको छ ।’ उनले अस्ट्रेलियन दुताबासको सहयोगमा साढे ६ लाख आर्थिक सहयोगबाट फेवा किनारमा आल्मुनियम र फलामको र्‍याम्प र डुंगाबाट झरेर बाराही मन्दिर जाने ठाउँमा अपांगमैत्री स्लोप राखेर ह्वियचियर लान मिल्ने संरचनाको निर्माण गरिएको जानकारी दिए ।

Advertisement

गुरुङले बाराहीघाटदेखि हल्लनचोकसम्म र बीचमा पनि स्लोप राखिएको र अब ह्विलचियर प्रयोगकर्ता फेवाकिनारमा आनन्दले घुम्दै दृश्यवालोकन गर्न पाउने बताए ।

अहिले महानगरले अपांगमैत्री फुटपाथ भनेर बनाइरहेको फुटपाथ पूर्ण रुपमा अपांगमैत्री नभएको उनको भनाइ छ । ‘दृष्टिविहीनका लागि बीचमा पोल छन् भने ह्विलचियर प्रयोगकर्ताका लागि सन्तुलन नभएका फुटपाथ निर्माण गरिएको छ ।’ उनले सम्बन्धित निकायलाई यस विषयमा पटक पटक जानकारी गराए पनि सम्बन्धित निकायले नसुनेको गुनासो गरे । अपांगमैत्री भौतिक संरचना सञ्चार निर्देशिका २०६९ मा सबै कुरा उल्लेख गरे पनि नीति निर्माता र कार्यान्वयनकर्ताले यस विषयलाई बेवास्ता गरेको उनले सुनाए ।

केन्द्रका महासचिव अन्जना केसीले अपांगमैत्री संरचनाको अभावले मठमन्दिर दर्शन गर्नबाट ह्विलचियर प्रयोगकर्ता वञ्चित भएको बताइन् । ‘पोखराको धेरै ठाउँमा यो समस्या छ । अहिले फेवाताल किनार बाराही मन्दिर परिसरमा निर्मित यस संरचनाले देशभित्र र बाहिरबाट आएका ह्विलचियर प्रयोगकर्तालाई केही मात्रामा सहज हुनेछ,’ उनले अपांगता भएकाप्रति सकारात्मक सोच विकास नभएसम्म अझै संरचना बन्न नसक्ने दाबी गरिन् ।

साथी संसारका प्रबन्ध निर्देशक नारायण अधिकारीले विभिन्न अवस्था र समस्यामा रहेका ह्विलचियर प्रयोगकर्तालाई यस किसिमको कार्यक्रमले रिफ्रेस बनाएको बताए । अपांगमैत्री संरचना बनाउन ठूलो लगानीभन्दा पनि सकारात्मक सोच आवश्यक हुनेमा जोड दिँदै सानो प्रयासबाट पनि सम्भव हुने उनले तर्क गरे ।

मन्दिर दर्शन गर्न २५ जना ह्विलचियर प्रयोगकर्ता र उनीहरुका अभिभावक गएका थिए । उनीहरुबीच अनुभव आदान प्रदान गरिएको थियो । मार्च १ मा अन्तर्राष्ट्रिय ह्विलचियर प्रयोगकर्ता दिवस मनाइन्छ ।

तपाईको प्रतिक्रिया