अर्गानिक स्वादका लागि ग्रिनहिल होमस्टे

समाधान संवाददाता २०७६ फागुन १८ गते १२:४८

समाधान संवाददाता
पोखरा

तनहुँको डुम्रे बजारबाट १० किमीमा रहेको भानु नगरपालिका ९ चितीखोलामा चिटिक्क परेको बस्ती छ । त्यहाँ वरपर देखिने डाँडाकाडा, सफा सडक, चिटिक्क परेका घर, मनमोहक प्राकृतिक छटा र मगर संस्कृति र चितीखोला गाउँ पर्यटकलाई स्वागत गर्न आतुर छन् ।

गाउँको अर्गानिक खाना ख्वाउन र होमस्टेको संस्कृतिमा रमाउन यहाँको ग्रामीण वस्ती उपयुक्त छ । यहाँका २३ घरधुरी मगर समुदायले ग्रिनहिल भिलेज सामुदायिक होमस्टे चलाएका छन् । यो होमस्टेको क्षमता १ सय जना हो । पाहुनाका लागि खाना र बस्नका लागि प्याकेज र मेनु पनि बनाइएको छ । यहाँको खानामा मकैको चिया, पानीअमलाको जुस, पुदिनाको जुस, टिमुरको छोप, कोदोको जुस, तरुलको चिप्स, साँधेको गुन्द्रुक, मेवाको जाम, तरुलको खिर र कोदोको प्यान केक छन् ।

Advertisement

यसका अलावा फाँपर र गाजरको हलुवा, सेलरोटीसहित खसी, बोका, कुखुरा, हाँस लगायतको मासु पनि होमस्टेमा पाइन्छ । यहाँको संस्कृतिसमेत मन लोभ्याउने खालको छ । होमस्टेमा आउने पर्यटकले रोहोटे पिङको मज्जा लिनसमेत पाउनेछन् । यो होमस्टे सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले १० लाख र नगरपालिकाले १० लाख सहयोग गरेका छन् । होमस्टे शुक्रबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरे । मन्त्री लम्सालले होमस्टे ग्रामीण पर्यटनको अभिन्न अंग भएको उल्लेख गरे ।

पर्यटन क्षेत्रलाई प्रदेश सरकारले प्रथामिकतामा जनाउँदै उनले ग्रामीण भेगको पर्यटन प्रवद्र्धन भएमा मात्र समृद्ध प्रदेश बन्न सक्ने औंल्याए । प्रदेशका ३ सय होमस्टेलाई व्यवस्थित बनाउने तयारीका साथ प्रदेश सरकार लागेको उनको भनाइ छ । होमस्टेबाट गण्डकी प्रदेशका धेरै मानिसले रोजगारी पाएको उनले दाबी गरे । प्रदेश सरकारले ग्रामीण भेगमा होमस्टेको प्रवद्र्धन गर्न थालेपछि गाउँमा रोजगारी सिर्जना, लोपोन्मुख कला, संस्कृतिको जगेर्ना मात्र नभएर उत्पादनसमेत वृद्धि भएको उनको भनाइ छ । यहाँको प्राकृतिक, सांस्कृतिक, एतिहासिक पृष्ठभूमिलाई जोड्दै होमस्टे प्रवद्र्धनका कार्यक्रम अगाडि बढाउने योजनामा प्रदेश सरकार रहेको उनले जनाए ।

Advertisement

गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङले ग्रामीण भेगको पर्यटन प्रवद्र्धन गर्न होमस्टेको महत्वपूर्ण भूमिका रहने बताए । गाउँमा आउने पाहुनाले विभिन्न संस्कृतिका साथै सुपथ मूल्यमा खाना र बासको व्यवस्था गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया