क्रिकेट रंगशालालाई कलश बचत तथा ऋण सहकारीको सहयोग

समाधान संवाददाता २०७६ फागुन १८ गते १२:४९

समाधान संवाददाता
पोखरा

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा बनाउँदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्नका लागि पोखराको कलश बचत तथा ऋण सहकारीले सहयोग गरेको छ । निर्माणाधीन रंगशालामै पुगेको सहकारीको टोलीले रंगशाला निर्माण समिति सदस्य कुमार कट्टेललाई ७५ हजार नगद हस्तान्तरण गरेको हो ।

सहकारीका अध्यक्ष दुर्गाप्रसाद सुवेदीले सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत रकम प्रदान गरिएको बताए । उनले कलाकार धुर्मुस तथा सुन्तलीले थालेको विकासको अभियानमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे । राज्यले गर्नु पर्ने काम कलाकारले अभियानका रुपमा गरेकाले सहयोग गर्नुपर्छ भावना धेरैमा विकास भएको उनले सुनाए ।

Advertisement

कलाकार कुमार कट्टेलले देशभित्र बनिरहेको रंगशाला नेपालीकै रंगशाला भएको बताए । उनले हरेक जिल्लाबाट स्वतःस्फूर्त सहयोग जुटिरहेकाले उत्साहित भएको उल्लेख गरे ।

फाउन्डेसनले सहकारीलाई सम्मानसमेत गरेको छ । सहकारीको टोलीमा अध्यक्ष दुर्गाप्रसाद सुवेदी, उपाध्यक्ष बिजेन्द्र शर्मा पौडेल, सदस्यहरु एकराज गिरी, रुपक मिश्र, दीपक थापा, युवा परिचालन संयोजक विष्णुबाबु खड्का, कर्जा उपसमिति सदस्य अर्जुन केसी, मधु सुवेदी, सल्लाहकार जगत पौडेल, लेखा समिति सदस्य कृष्णप्रसाद सवेदी, सेयर सदस्य किरण बानिया, सुरेश शाह ठकुरी, टीकाराम सुवेदी, विकास लामिछाने लगायत सहभागी थिए ।

Advertisement

रंगशाला निर्माण समिति सदस्य अर्जुन भुसालले पोखराबाट पहिलो सहकारीको सहयोग प्राप्त भएको उल्लेख गरे । यो सहयोगले वित्तीय संस्थालाई पनि सहयोगका लागि सन्देश पुग्ने उनको भनाइ छ । कलाकार सीताराम कट्टेल तथा कुञ्जना घिमिरेको अगुवाइमा धुर्मुस सुन्तली फाउन्डेसनले २० बिघा ६ कट्ठामा रंगशाला निर्माण गर्र्दै छ । २५ हजार दर्शक क्षमताको रंगशालामा ४ प्रवेश द्वार रहने छन् ।

मुख्य प्रवेशद्वार नेपालको झल्को दिने खालको हुनेछ । रंगशालासँगै २ छुट्टै अभ्यास मैदानसमेत हुनेछन् । रंगशाला परिसरमा फुटबल, स्विमिङ, बास्केट बल, भलिबल, डन्डीबियो, लन टेनिस लगायतका खेल मैदान पनि बन्ने छन् ।

तपाईको प्रतिक्रिया