भूकम्पपछि बौरिएको हर्षपुर

समाधान संवाददाता २०७६ फागुन १८ गते १४:२९

सुमन थापामगर
हर्षपुर (तनहुँ)

हेर्छु हिमाल हर्षपुर आएर
स्वागत गर्छु फूल टीका लाएर

यस्तै यस्तै गीतले स्वागत गर्न न्यानो आतिथ्यतासहित आइपुग्छन्, आफ्नै भेषभूषामा चिटिक्क परेर मगर्नी आमासँगै युवतीहरु पनि । लाइन लागेर टाढाबाट गाउँमा आइपुगेका पाहुनालाई स्वागत गर्छन् मीठो मुस्कानसहित उनीहरु । गाउँ ठाउँमा नै सुन्न पाइने विभिन्न भाका, फूलमाला र टीका लगाइदिएर आगन्तुकको स्वागत गरिन्छ ।

Advertisement

परम्परागत भेषभूषामा सजिएका आमा तथा युवतीहरुले कुनै परम्परागत पर्व वा उत्सवको छनक दिन्छ । यीभन्दा पनि गाउँको सुन्दर दृष्य तथा सुन्दर बनोटका घर यहाँका आकर्षण हुन् । यी र यस्ता सुन्दरताले साँच्चै आनन्द लाग्छ तनहुँको हर्षपुर होमस्टे । जस्तो नाम, उस्तै आनन्ददायक ठाउँ हो यो हामस्टे । जहाँ पुगेपछि सबै किसिमका दुख, पीडा भुलिन्छ । सहरको कोलाहलमा बसिरहेका र व्यस्त दैनिकी भएर आफ्ना लागि धेरै समय निकाल्न नसक्नेका लागि सुन्दर, कोलाहलमुक्त र सांस्कृतिक प्रस्तुति तथा गाउँघरमा नै उत्पादित खानाका परिकारले बेग्लै आनन्द महसुस गराउँछ ।

यो होमस्टेमा आएसकेपछि विभिन्न हिमालका सुन्दर दृष्य, फरक प्रकारका गुफा तथा धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विभिन्न मन्दिर पनि अवलोकन गर्न सकिन्छ । आदिवासी जनजातिमा परिचित कौरा, झ्याउरे, सोरठी, घाटु लगायत मनोरञ्जनका लागि प्रस्तुत गरिन्छ पाहुनाका लागि । यिनै मौलिकताले हर्षपुर होमस्टे सुन्दर छ, अनि पृथक पनि । धेरै मगर बस्ती रहेको यो गाउँमा २÷४ घरमात्र नेवारका छन् । त्यसैले पनि यहाँ मगर संस्कृति बढी प्रचलित छ । पोखराबाट झन्डै २ घण्टाको दुरीमा पर्छ म्याग्दे गाउँपालिका ७ तनहुँको हर्षपुर होमस्टे । दमौलीबाट १० किमी र थर्पुबाट ७ किमीमा रहेको हर्षपुर कच्ची सडक हुँदै पुग्न सकिन्छ । यो होमस्टे पुग्न दैनिक बस तथा जिपको सुविधा छ ।

Advertisement

पहिले गाउँमा होमस्टे सञ्चालन गर्ने कुनै योजना थिएन । नेपालकै अन्य गाउँघरकै जस्तो अवस्था थियो । भएका केही युवा विदेशमा थिए, थोरै मात्र गाउँमा । यहाँ पनि बसाइसराईंको रोग थियो । श्रीमान् वा परिकारका कोही सदस्य केही कमाउने भइसकेपछि नेपालका अधिकांश गाउँबाट सुख पाउने आशामा सहर झर्छन् र गाउँलाई बिर्सन्छन् । हर्षपुरमा पनि त्यस्तै थियो । गाउँको विकासका बारेमा सोच्ने कसैलाई ध्यान नै थिएन । नेपालमा एउटा भनाइ नै छ, केही पाउनका लागि केही गुमाउनु पर्छ । यही भनाइ यो सुन्दर गाउँका पनि लागु भयो ।

२०७२ सालको विनासकारी भूकम्पले नेपाललाई तहसनहस बनायो । हजारौंले ज्यान गुमाए । लाखौं नागरिक घरबारविहीन बने । हर्षपुर गाउँमा भूकम्पले मानवीय क्षति नभए पनि भौतिक संरचना नराम्ररी क्षतविक्षत बनायो । भूकम्पले घर भत्काइसकेपछि गाउँलेले घर ठड्याए । धेरैले भूकम्पपीडितले भनेर घर बनाउन अनुदान पनि पाएका छन् । अब त्यहाँका बासिन्दाले तेस्रो किस्ता पाउन बाँकी छ । भूकम्पले भत्काएको घरलाई नयाँ बनाइसकेपछि मात्र होमस्टेको अवधारणा आएको हो । अहिले धेरैले चिटिक्ट परेका घर निर्माण गरेका छन् ।

होमस्टे सञ्चालनमा आइसकेपछि यहाँका स्थानीयलाई आफ्नो पुरानो घर भूकम्पले भत्काए गुनासो छैन । नयाँ र गाउँघरकै मौलिक डिजाइनमा बनाइएका घरमा पाहुनालाई स्वागत गर्न पाउँदा स्थानीय होमस्टे सञ्चालक खुसी छन् । यहाँ होमस्टे सञ्चालनमा आएको केही महिनामात्र भएको छ । २०७६ सालबाट मात्र सञ्चालनमा आएको होमस्टेमा यहाँ आन्तरिक पर्यटक भने पुग्छन् । विदेशी पर्यटक गाउँसम्म पु¥याउने पहल गरिरहेका छन् त्यहाँका स्थानीय तथा गाउँपालिकाका जनप्रतिनिधिले । होमस्टे सञ्चालन भएपछि त्यहाँका स्थानीयको आर्थिक अवस्थामा सुधार आएको छ । केही युवा वैदेशिक रोजगारीका लागि गए पनि बाँकी आफ्नै गाउँ ठाउँलाई समृद्ध बनाउन जुटेका छन् । उनीहरु मौलिक तथा धार्मिक सुन्दरतालाई आधार बनाएर पर्यटकीय ठाउँका रुपमा गाउँलाई विकास गर्न तल्लीन छन् ।

म्याग्दे गाउँपालिका अध्यक्ष देवी रानामगर हर्षपुरमा होमस्टे सञ्चालन गरी स्थानीयलाई गाउँघरमा नै आत्मनिर्भर बनाउन लागिएको बताउँछिन् । यसले गाउँलेलाई व्यवसायमा लाग्न प्रेरित गरेको उनको भनाइ छ । हर्षपुरमात्र होइन, अन्य सम्भावित गाउँघरमा पनि होमस्टेका लागि अध्ययन गरेर अगाडि बढ्ने उनको योजना छ । ‘हर्षपुरमा होमस्टे सञ्चालनमा आएपछि महिला आत्मनिर्भर बनेका छन् । उनीहरु आफैं स्थानीय रुपमा नै उत्पादनमा लागेका छन्,’ देवी भन्छिन् ।

हर्षपुरसहित गाउँपालिकाका अन्य स्थानलाई जोडेर पदयात्रा सञ्चालनमा ल्याउने उनको योजना छ । केही पदयात्राका रुट सञ्चालनमा आइसकेका छन् । हर्षपुरसम्म पुग्ने कच्ची सडकलाई पक्की बनाउने काम पनि भइरहेको छ । ‘हाम्रा आन्तरिक पर्यटक हिँड्न मान्दैनन्, उनीहरुलाई गाडी नै चाहिन्छ । जसका लागि सडक पक्की बनाउने छौं,’ उनी भन्छिन्, ‘तर विदेशी पर्यटक ल्याउने हो भने पदयात्रा सबैभन्दा उत्तम उपाय हुन्छ । उनीहरु गाडीमा आफ्नै देशमा हिँडिरहेका हुन्छन्, उनीहरुलाई चाहिने नै फरकपन हो । त्यही फरकपन दिन हामी होमस्टे सञ्चालक तथा गाउँपालिका लागेका छौं ।’

अध्यक्ष रानाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गाउँपालिकाका एकल महिलाका लागि रातो टीका तथा रातो पहिरन लगाउने अभियान पनि सञ्चालन गर्दै छिन् । ‘महिला आफैंमा शक्ति हुन्, सबैलाई यो कुरा बुझाउने हेतुले म यो अभियान सञ्चालन गर्दै छु । गाउँपालिकाका एकल महिलाले यो अभियानमा मलाई साथ दिनुहुनेछ।’ उनले उत्साहित हुँदै भनिन् ।

गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरे जनजातिको सांस्कृतिक चलन तथा मौलिकता पर्यटकका लागि आकर्षण बन्ने बताउँछन् । हर्षपुरमा पुराना तथा ऐतिहासिक मन्दिर बढी भएकाले धार्मिक पर्यटनको सम्भावना पनि उनी देख्छन् । पर्यटनको मुख्य आधार हर्षपुरको प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदा नै भएकाले यसको विकासमा ध्यान दिनुपर्ने घिमिरे बताउँछन् । ‘हर्षपुरसहित म्याग्दे गाउँपालिकाभित्र ६÷७ वटा गुफा पहिचान भएका छन् । ती सम्पादा संरक्षण तथा विस्तुत अध्ययनमा हामी लागेका छौं,’ उनले भने, ‘पर्यटकका लागि यस्ता मौलिक तथा सांस्कृति महत्व बोकेका विषय नै महत्वपूर्ण छन् ।’

हर्षपुर प्राकृतिक रुपमा सुन्दर त छन् नै, यहाँ समस्या पनि रहेको होमस्टे सञ्चालन समिति अध्यक्ष बिहीसरा थापामगरको भनाइ छ । अहिले साना लाग्ने समस्याले पनि भोलि गएर पर्यटकमा नराम्रो प्रभाव पार्छ कि भन्ने उनको चिन्ता छ । ‘पहिलो कुरा विदेशी पर्यटकलाई पदयात्रा राम्रो भए पनि आन्तरिक तथा गाडीमा आउन चाहनेका लागि राम्रो सडक छैन । हिउँदमा धुलो धेरै, वर्षायाममा पानी परेपछि गाडी नै नचल्ने पनि हुन्छ,’ उनले भनिन्, ‘होमस्टेमा बढीभन्दा बढी पर्यटक भिœयाउन यस्ता समस्या समाधान छिटो हुनुपर्छ ।’ खानेपानीको पनि समस्या रहेको उनले सुनाइन् । ‘तर यस्ता समस्या छन् भनेर होमस्टेमा आएका पर्यटकलाई हामी कुनै असुविधा हुन दिँदैनौं,’ उनले भनिन् । खानामा गाउँघरमा नै उत्पादित अर्गानिक खाना प्रदान गरिने उनी बताउँछिन् ।

यहाँको पनि मुख्य आम्दानीको स्रोत वैदेशिक रोजगारी हो । यहाँका युवालाई आफ्नै गाउँमा फर्काएर आम्दानीको स्रोतलाई अझै बलियो बनाउने होमस्टे सञ्चालकको योजना छ । केही थोरै घरमा मात्र होमस्टे सञ्चालमा ल्याइएको भए पनि आउने समयमा थप्दै जाने योजना छ । गाउँमा होमस्टे सञ्चालनमा आएपछि स्थानीयको आम्दानी बढेको छ भने महिलाले रोजगारी पाएका छन् । गाउँकै खेतबारीमा उत्पादन गर्न थालिएको छ । जमिन बाँझो रहने समस्या पनि केही मात्रामा घटेको छ । गाउँलाई अब गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने योजना बनाएको छ ।

यहाँका १८ घरमा सञ्चालित होमस्टेमा ४० जनाको क्षमता छ । यहाँ पुग्ने पर्यटकलाई स्थानीयले कौराह तथा मगर संस्कृतिका अन्य नाच देखाउने गरेका छन् । सहरको व्यस्त जीवनबाट केही समय फुर्सद लिने र गाउँका अर्गानिक परिकार र सांस्कृतिक नाच हेर्न धोको यहाँ आएपछि पूरा हुन्छ ।

तपाईको प्रतिक्रिया