जिल्लैपिच्छे आँखा उपचार केन्द्र खुल्दै

समाधान संवाददाता २०७६ फागुन १९ गते १३:४१

समाधान संवाददाता, पोखरा

अरु रोगव्याधि लाग्दा जस्तो भए पनि आँखासम्बन्धी ९५ प्रतिशतसम्मका समस्यको उपचार पोखरामै सम्भव छ । त्यो सम्भव बनाउने एउटै संस्था हिमालय आँखा अस्पताल हो । साविक कर्णाली र धौलागिरी र गण्डकी अञ्चलका जिल्लाजिल्लामा पुगेर सेवा दिइरहेको यो संस्थाले अब जिल्लैपिच्छे आँखा उपचार केन्द्र खोल्ने भएको छ । त्यो पनि एउटा होइन, दुइटा होइन, तीनतीन वटा ।

स्थापनाको २७ वर्ष पूरा गरी २८ मा टेकेको उपलक्ष्यमा आइतबार आयोजित वार्षिकोत्सवमा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. इन्द्रमान महर्जनले उद्घोष गरे, ‘अबको हाम्रो लक्ष्य एउटै जिल्लामा ३ वटा प्राथमिक आँखा अस्पताल खोल्ने हो ।’ यसको सुरुआत भइसकेको जानकारी उनले दिए । उनका अनुसार भर्खरैका दिनमा लमजुङको भोटेओढार र भोर्लेटार, तनहुँको भीमाद, स्याङ्जाको पुतलीबजारमा आँखा उपचार केन्द्र खुलिसकेको छ । कर्णालीको सिञ्जा उपत्यकामा केन्द्र खोल्न त्यहाँ सम्झौता भइसकेको उनले सुनाए ।

Advertisement

भौतिक पूर्वाधार र जनशक्तिलाई पारिश्रमिक स्थानीय तहले उपलब्ध गराउने सम्झौता गरी उपकरण दिएर आँखाको प्राथमिक अस्पताल खुलाइएको डा महर्जनले बताए । उनकै भनाइमा त्यस्तो उपचार केन्द्रमा एचए सरह मानिने अप्थाल्मिक एसिस्टेन्ट खटिन्छन् । जनशक्ति उत्पादनमा अस्पताल आफै लागेको छ । अप्थाल्मिक एसिस्टेन्टको पढाइ भने हिमालय आँखा अस्पतालमै भइरहेको छ ।

सिटिइभिटीसँगको सहकार्यमा ३ वर्षे डिप्लोमा इन अप्थाल्मिक साइन्स पढाइरहेको अस्पतालले पोखरा विश्वविद्यालयसँगको सहकार्यमा ४ वर्षे ब्याचलर अफ अप्टोमेट्रीको अध्यापन पनि गराउँछ । सन् १९९३ मार्च १ देखि सुरु भएको हिमालय आँखा अस्पतालले अहिलेसम्म २८ लाख जनाको आँखा जाँचिसकेको छ । ‘१ लाख १८ हजारजनाको अप्रेसन गरेका छौं,’ डा. महर्जनले भने ।

Advertisement

अस्पताल सञ्चालक गर्दै आएको नेपाल नेत्र ज्योति संघ कास्कीका पूर्वअध्यक्ष तथा गण्डकी प्रदेश अध्यक्ष प्राडा दिलबहादुर क्षेत्री नेदरल्यान्डको संस्थाको सहयोगबाट चल्दै आएको अस्पताल गएका झन्डै १५ वर्षयता आफ्नै खुट्टामा उभिन सकेको जानकारी दिए । ‘अब अस्पताल इन्स्टिच्युट हुँदैछ,’ उनले भने, ‘नमुना अस्पतालका रुपमा स्थापित भएको छ ।’ उनले एमडीको पढाइ सञ्चालन गर्ने योजना रहेको पनि सुनाए ।

नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्तले हिमालय आँखा अस्पताललाई सघाउने प्रतिबद्धता जनाए । ‘हाम्रा लागि पदभन्दा जिम्मेवारी प्राथमिकता हुन्छ,’ उनले भने, ‘हिमालय अस्पताललाई नमुना बनाउने हो, बनाउनुपर्छ ।’ संघका महासचिव भरत चन्दले सतप्रतिशत नेपाली डक्टर र प्राविधिले उपचार गर्ने हिमालय आँखा अस्पताल नमुना रहेको विचार व्यक्त गरे । बिरामीको सन्तुष्टिमा ध्यान दिने उनले बताए । संघ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव सुरेन्द्र थापामगरले गरेका थिए ।

तपाईको प्रतिक्रिया