अक्षरयात्रा प्रतिभा पुरस्कार २०७६ बाट सञ्जीव पुरस्कृत

समाधान संवाददाता २०७६ फागुन १९ गते १३:५१

समाधान संवाददाता, पाेखरा

अक्षरयात्रा प्रतिभा पुरस्कार २०७६ बाट साहित्यकार सञ्जीव पौडेल पुरस्कृत भएका छन् । अक्षरयात्रामा सहभागी हुने उदीयमान स्रष्टालाई प्रदान गरिने पुरस्कार पौडललाई प्रदान गरिएको हो । रुपा गाउँपालिका ७ हंसपुरमा आयोजित अक्षरयात्रा कार्यक्रमको १ सय ७५ औं शृंखलामा कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पौडेललाई पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कार प्रदान सभामा कवि श्रेष्ठले साहित्यमा समयचेत र निरन्तरता सबैभन्दा मुख्य कुरा रहेको बताए । उनले सर्जकले आफूलाई समयभन्दा अगाडि हिँडाउन सक्नुपर्ने धारणा व्यक्त गरे । साहित्यिक अभियानले प्रतिभालाई निखार्दै जाने र समाजलाई मार्गनिर्देश गर्दै जाने बताउँदै श्रेष्ठले स्थानीय सरकारले साहित्य, कला र संस्कृति संरक्षणमा विशेष योजना ल्याउनुपर्नेमा जोड दिए ।

Advertisement

कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले लेखक कलाकार निष्कृय बस्दा राज्यले विकास र सभ्यताको फड्को मार्न नसक्ने बताए । उनले साहित्यकारले राजनीतिकर्मीलाई निरन्तर मार्गनिर्देश गर्नुपर्नेमा जोड दिए । उनले गाउँपालिकाले स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षणमा ध्यान दिँदै आएको उल्लेख गरे । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य सूर्य खड्काले साहित्यिक पुरस्कारले सर्जकमा ऊर्जा थप्ने बताए । विसं. २०२२ सालमा गण्डकी प्रदेशस्तरीय साहित्य सम्मेलन भएको हंसपुरको ऐतिहासिक स्थलमा नै कार्यक्रम आयोजना गरी हंसपुरकै स्रष्टालाई सम्मान गरेको देख्दा हंसपुरको गर्विलो इतिहासको सम्झना रुपा ७ का अध्यक्ष दयासागर सुवेदीले गरे ।

स्थानीय समाजसेवी कालीदास सुवेदीले वि.सं. २०२२ सालको ऐतिहासिक साहित्य सम्मेलनका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले स्रष्टाका सिर्जनाले नै समाज सुन्दर हुने बताइन् । स्रष्टा परिचय गराउँदै सुरज उपाध्यायले साहित्यकार पौडेलले प्रस्तुत गर्ने रचना अत्यन्त उत्कृष्ठ बन्दै आएको बताए । पुरस्कृत सञ्जीव पौडेलले पुरस्कारले साहित्य लेखनमा थप जिम्मेवारी पूर्वक लाग्न प्रेरणा मिलेको बताए । उनले माटो र बाटोलाई निरन्तर सिर्जनाका कसीमा राखेर यथार्थ लेख्ने कार्यमा थप ऊर्जा प्राप्त भएको बताउँदै अक्षरयात्राको मर्म अनुसार जीवन र जगतका सापेक्षमा कलम चलाइरहने प्रतिबद्धता जनाए । पौडेलका ‘यानी’ मुक्तक संग्रह प्रकाशित छ भने विभिन्न पत्रपत्रिकामा लेख रचना प्रकाशित छन् ।

Advertisement

कार्यक्रममा अक्षरयात्राका परिकल्पनाकार प्रकट पंगेनी ‘शिव’, अक्षरयात्रा पुरस्कारका संस्थापक गोविन्द गिरी, साहित्यकार लक्ष्मण थापा, मोहन भण्डारी लगायतले बोलेका थिए ।

युवा साहित्यकार गोविन्द गिरी र कृष्ण देवकोटाद्वारा वि.सं. २०६६ सालमा स्थापित उक्त पुरस्कारको राशि ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यस पुरस्कारबाट प्रकाश ज्ञवाली, रुपिन्द्र प्रभावी, कपिल शर्मा, सरला लामिछाने, जीवनसागर भण्डारी, सुरज उपाध्याय पुरस्कृत भइसकेका छन् ।

तपाईको प्रतिक्रिया