ग्याल्पो ल्होसारकाे अवसरमा याम्दीकाे पेमा छाल गुम्बामा ओपेरा

समाधान संवाददाता २०७६ फागुन १९ गते १३:५५

समाधान संवाददाता
पोखरा

पोखराको याम्दीमा रहेको पेमा छाल गुम्बामा ग्याल्पो ल्होसारको अवसर पारी हिमाली क्षेत्रमा हुने गतिविधि समेटिएको पौराणिक गीति नाटक प्रदर्शन गरिएको छ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ बासीले स्थापना गरेको पेमा छाल गुम्बामा नेपाल तिब्बत ल्हामो समाजका कलाकारले गीति नाटक प्रदर्शन मञ्चन गरेका हुन् ।

गौतम बुद्धको ज्ञानको सन्देश दिने र लोभ, लालचमा पर्न नहुने सन्देश दिने गीति नाटकले समाज परिवर्तनसँगै हिमाली क्षेत्रको रहनसहनलाई देखाएको प्रदेसभा सदस्य इन्द्रधारा विष्टले बताए । मुस्ताङबाट निर्वाचित विष्टले त्यहाँ पुरानो संस्कृति र परम्पराबारे नाटकले जानकारी दिने बताए । २ दशक पहिले उपल्लो मुस्ताङको लो ७ क्षेत्र लोमन्थाङमा पौराणिक गीति नाटकहरु मञ्चन गरिने गन्थ्यिो । पछिल्लो समय युवा पलायन हुन थालेपछि नाटक मञ्चन भएको थिएन । परम्परालाई पुनर्जागरण गर्नका लागि यो नाटक प्रदर्शनले भूमिका खेल्ने उनले अपेक्षा गरे ।

Advertisement

पौराणिक नाटकका निर्माता नेपाल तिब्बतियन ल्हामो समाजका ग्याल्पो लामाले हिमाली क्षेत्रको पहिचान उजागर गराई सकारात्मक सन्देश प्रवाह गर्नु यसको उद्देश्य भएको सुनाए । पछिल्लो समय युवायुवतीको यस खालका गीति नाटकमा चाख बढेको उनको भनाइ छ ।

नाटककी कलाकार थिन्ले ल्हामो गीति नाटकको माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रदान गर्न पाउँदा खुसी छिन् । फिल्ममा गरेको अभिनयको अनुभव आफ्नो संस्कृति संरक्षण र प्रवद्र्धनका लागि लगाएको उनको भनाइ छ । उपल्लो समय मुस्ताङीले पेमा छाल गुम्बामा विभिन्न चाडपर्वका वेला उपल्लो मुस्ताङका संस्कृति समेट्ने कार्यक्रम गर्दै आएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया