अर्जुन चौपारीमा औद्योगिक ग्राम

अर्जुन काफ्ले, स्याङ्जा
अर्जुन चौपारी गाउँपालिका १ को छयालिस मुरेमा देशकै पहिलो औद्योगिक ग्राम शिलन्यास गरिएको छ । संघ सरकारले देशभर घोषणा गरेका ४७ औद्योगिक ग्राममध्ये गण्डकी प्रदेशका १९ ठाउँमा औद्योगिक ग्राम बन्ने भएका छन् । स्याङ्जामा ५ औद्योगिक ग्राम बनाउने संघ सरकारले निर्णय गरेको छ ।
स्थानीयले कब्जा गरेको ९१ रोपनी जग्गामा गाउँपालिकाले संरक्षण गरी औद्योगिक ग्राम बनाउन लागेको हो । केन्द्र सरकार दिएको बजेटमा प्रदेश र स्थानीय तहले बराबर रकम साझेदारी गर्ने गरी औद्योगिक ग्राम बन्ने गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्यालले बताए ।
पहिलो चरणमा अर्जुन चौपारीले संघबाट ९२ लाख र प्रदेशबाट ५४ लाख ५० हजार रकम पाएको छ । गाउँपालिकाले ५४ लाख ५० हजार थपेर २ करोड १ लाखमा औद्योगिक ग्रामको कामअघि बढाएको हो ।
यो बजेटबाट ग्रामका पूर्वाधार गेट, वाल, मोटरबाटो, बिजुली, फोहोर मैला व्यवस्थापन केन्द्र, क्याफे, पार्क बनाउने योजना छ । औद्योगिक ग्रामको ७० प्रतिशत क्षेत्रमा उद्योग र ३० प्रतिशतमा अन्य संचरना हुने अध्यक्ष अर्यालले बताए । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले छिरालिएर रहेका उद्योगलाई एक ठाउँमा ल्याउने अभियान औद्योगिक ग्राम भएको उल्लेख गरे । आवश्यक सबै विधि पु¥याएर संघले औद्योगिक ग्राम घोषणा गरेको जनाउँदै लम्सालले पालिकाले उपलब्ध गराएको ठाउँमा प्रदेशले प्राविधिक सहयोग गर्ने बताए ।
असारभित्र कम्पाउन्ड र गेटको काम सक्न निर्देशन दिँदै उनले पारदर्शी, जवाफदेही र जनताको सहभागिता काम हुनुपर्ने जनाए । ग्राममा उद्योग खोल्न पहिलो प्राथमिकता गाउँपालिकाले पाउने उनको भनाइ छ । विदेश जाने जनशक्तिलाई देशमै रोजगारी औद्योगिक ग्रामको अवधारणा ल्याइएको उनले उल्लेख गरे । लम्सालले उद्योग खोल्नेलाई लगानीको ५० प्रतिशत सरकारले सहयोग गर्ने प्रतिवद्धतासमेत गरे । २५ वर्षमा समृद्ध नेपाल बनाउने लक्ष्य पूरा गर्न तीनै तहका सरकारहरु लागिरहेको उनले बताए ।
गण्डकी प्रदेशका विधायन समिति सभापति मोहनप्रसाद रेग्मीले औद्योगिक ग्रामले जनताका अपेक्षा पूरा गर्ने दाबी गरे । कार्यक्रममा प्रदेश सभा सदस्य मीनप्रसाद गुरुङ, प्रदेश नीति तथा योजना आयोग सदस्य डा विष्णुराज बराल, नेकपा जिल्ला अध्यक्ष पारस गैरे, कांग्रेस सभापति कुमार राना, मन्त्रालयका योजना अनुगमत महाशाखा प्रमुख नारायण आचार्य, गाउँपालिका उपाध्यक्ष चिनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कमल गौतम लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया