काेराेना विरुद्ध पूर्व तयारीः ६० शैय्याको आइसोलेसन वार्ड तयार, क्वारेन्टाइन खोजिँदै

समाधान संवाददाता
पोखरा
कोरोना भाइरसबाट सुरक्षित रहेको र सावधानी अपनाउन सन्देश दिने भन्दै सोमबार पोखराका पर्यटन व्यवसायीले र्याली निकाले । चीनको पीडामा पोखरेली पनि सँगै सन्देश दिन हस्ताक्षर अभियान पनि चलाएका छन् । चीनसँगको ऐक्यबद्धता भन्दै गरिएको हस्ताक्षर उहान प्रान्तका मेयरलाई पठाइनेछ ।
सुरक्षित रहेको सन्देश दिने भनिए पनि व्यवसायीमा कोरोनाको ठूलो डर र चिन्ता छ । चीनको पीडामा ऐक्यबद्धता जनाउँदै व्यवसायीले भने, ‘अहिलेसम्म त हामी सुरक्षित छौं । भोलि नेपालमा पनि फैलिए के होला ?’
बढी पर्यटकको चहलपहल हुने लेकसाइड क्षेत्र यतिबेला सुनसान छ । त्योमात्रै होइन चीनको उहानबाट विश्वका धेरै देशमा फैलिँदै गएको कोरोनाको संक्रमण नेपालमा आइपुग्यो भने के हुन्छ ? व्यवसायीमात्रै होइन, पोखरेली नै सशंकित छन् ।
विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको बताएपछि आशंका बढेको छ । कोरोना नेपालमा भित्रियो भने सरकारले कसरी नियन्त्रण र व्यवस्थापन गर्ला, यतिबेला हरेक नेपालीको चिन्ता छ ।
नेपालमा छिरे पर्यटनको हब मानिएको गण्डकी प्रदेशमा पनि कोरोना संक्रमण फैलिन सक्ने उच्च जोखिम हुन्छ । गण्डकी प्रदेश चीन र भारतसँग सीमा जोडिएको छ । आन्तरिक उडान हुने र धेरै पर्यटकको आउजाउ हुने भएकाले पनि धेरैमा डर छ ।
४ अस्पतालमा आइसोलेसन वार्ड तयार
कोरोनाको संक्रमण रोक्न तथा सावधानी अपनाउन गण्डकी प्रदेशले १ महिना अगाडि नै टास्क फोर्स गठन गरेको थियो । सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माको संयोजकत्वमा गठित टास्क फोर्सले नै कोरोनाको सतर्कता अपनाउने काम गर्दै आएको छ ।
‘अघिल्लो महिनाको अन्तिमसम्म त अब कोरोना नियन्त्रण नजिक पुग्यो भन्ने आइरहेको थियो । पछि यसको संक्रमण अरु देशमा झन् तीव्र गतिमा फैलियो,’ निर्देशक शर्माले भने, ‘हामीले जोखिम न्यूनीकरण गर्ने गरी काम गरिरहेका छौं ।’
शंकास्पद बिरामीलाई ‘आइसोलेसन वार्ड’ मा राखेर उपचार गर्नु ४ वटा अस्पतालमा बेडको व्यवस्था गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको क्षेत्रीय अस्पतालमा ३, चरक मेमोरियल नागढुंगामा २७, मनिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५ आइसोलेसन वार्ड तयार भएको डा. शर्माले जानकारी दिए ।
क्वारेन्टाइन स्थल पनि खोजिरहेको छ । ‘क्वारेन्टाइनका लागि सम्भावित स्थल खोजी भइरहेको छ,’ डा. शर्माले भने, ‘साविकको लेखनाथ नगरपालिकाको भवन, मर्ज भई गाभिएर खाली भएका विद्यालय वा कहाँ हुनसक्छ अध्ययन गरिरहेका छौं ।
गण्डकी प्रदेश सरकारले आइसोलेसन वार्ड तयार भएका अस्पतालमा चिकित्सकको समूह बनाउनेछ । अस्पताल र ल्याबका चिकित्सकलाई विशेष प्रकारको तालिम दिने व्यवस्था मिलाइएको डा. शर्माले जानकारी दिए ।
प्रदेशमा सम्भावित बिरामीको नमूना संकलन तथा सावधानीका लागि चिकित्सकले लगाउने सामग्री नै पर्याप्त छैनन् । केही दिनअघि जम्मा ५ सेटमात्र रहेकोमा अहिले प्रदेशमै जम्मा २५ सेट सावधानीमा लगाउने सामग्री उपलब्ध छन् ।
विशेष प्रकारको हेलमेट, पन्जा, मास्क लगायत सामग्राी खरिद गर्न सामाजिक विकास मन्त्रालयले ५ लाख रुपैयाँ छुट्याएको छ ।
चिनियाँ नागरिकमा निगरानी
लमजुङको ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको ङादी जलविद्युत आयोजनामा कार्यरत ३८ जना चिनियाँ हालै फर्केर काममा लागे । यो खबर फैलिएपछि स्थानीय सशंकित बने । पोखरामा तत्काल चिकित्सकसहितको टोली खटिएर यथार्थ बुझ्ने र स्थानीयलाई जानकारी गराउने काम ग¥यो ।
‘ती चिनियाँ कामदार क्वारेन्टाइनमा बसेर चीन सरकारले नै पठाएका आएका हुन् । त्यहाँ समस्या छैन,’ डा. शर्माले भने, ‘अन्त पनि चिनियाँ नागरिकलाई निगरानी गर्ने, अन्य पर्यटकलाई पनि सावधानी अपनाउन अनुरोध गर्न भनिरहेका छौं ।’
प्रदेशको टास्क फोर्सले पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत चिनियाँ कामदारमाथि पनि निगरानी गरिरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमास्थलमा छुट्टै हेल्थ डेस्क राख्नेबारे सहमति भएको डा. शर्माको भनाइ थियो ।
पोखरा र मुस्ताङमा हेल्थ डेस्क
गण्डकी प्रदेशमा हवाई यात्रामार्फत आउने पर्यटकको अवस्था बुझ्न २ ठाउँमा हेल्थ डेस्क राखिएको छ । पोखरा विमानस्थल र मुस्ताङमा हेल्थ डेस्क राखेर स्वास्थ्य अवस्था बुझ्ने काम भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
‘पोखरा विमानस्थलमा पर्यटकको ज्वरो नाप्ने र स्वास्थ्य अवस्था बुझ्ने काम नियमित भइरहेको छ,’ निर्देशक डा. शर्माले भने, ‘चीनसँग सिमाना जोडिएको मुस्ताङमा पनि त्यसरी नै डेस्क छ । चीनसँग जोडिएको कोरला नाकाबाट उनीहरुले नै बाहिर जान आफ्ना नागरिकलाई निषेध गरेका छन् ।’ हेल्थ डेस्कमा पोखरामा २ र मुस्ताङमा १ जनालाई खटाइएको छ ।
तपाईको प्रतिक्रिया