तालबेंसीमा फागु महोत्सव

समाधान संवाददाता
लेखनाथ
रुपा–तालबेंसी दशौं फागु महोत्सव फागुन २४ देखि २६ सम्म हुने भएको छ । स्थानीय सप्तरंगी क्लबको आयोजनामा रुपा गाउँपालिका र पोखरा महानगरपालिकाको सिमाना रुपा ताल छेउ तालबेंसीमा महोत्सव गर्न लागेको क्लब अध्यक्ष कुबेरजंग गुरुङले जानकारी दिए ।
भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता, झाँकी प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारद्वारा लोकदोहोरी, चुड्का, हास्यव्यङ्य, साँझमा पप कन्सर्ट, रुपातालका माछा प्रदर्शनी मेलाका आकर्षण भएको क्लबका सचिव सन्तोष खड्काले बताए ।
भलिबल प्रतियोगिता विजेताले ५० हजार र उपविजेताले ३० हजारका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाइनल पुग्ने टिमले ५ हजार प्राप्त गर्नेछन् ।
स्व. गंगाबहादुर गुरुङको स्मृतिमा हुने छेलो प्रतियोगिता तथा एकल नृत्य प्रतियोगिताको विजेताले ५÷५ हजार र उपविजेताले समान ३ हजार प्राप्त गर्नेछन् । झाँकी प्रदर्शनीमा प्रथम हुनेले ५ हजार, द्वितीयले ३ हजार र सहभागी सबैले समान १ हजार प्राप्त गर्नेछन् । निशुल्क प्रवेश रहने महोत्सवमा करिब २० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने महोत्सवका सल्लाहकार चित्रबहादुर गुरुङले जानकारी दिए ।
तपाईको प्रतिक्रिया