कालीगण्डकीमा स्काभेटर खस्दा अपरेटरको घटनास्थलमै मृत्यु

समाधान संवाददाता २०७६ फागुन २० गते १३:३७

एसके थकाली
जोमसोम

बेनी–जोमसोम सडक खन्न प्रयोग भएको स्काभेटर सोमबार साँझ ५ बजे कालीगण्डकीमा खस्दा अपरेटरको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा स्काभेटर अपरेटर सिन्धुपाल्चोकका ५० वर्षीय अर्जुन दाहालको मृत्यु भएको हो । मुस्ताङको थासाङ ४ घाँसा डाँडामाथि भीर कटिङ गर्दै गरेको अवस्थामा अकस्मात् माथिबाट सुख्खा पहिरो गएपछि स्काभेटर कालीगण्डकी नदीमा खसेको मुस्ताङका सहायक प्रजिअ घनश्याम गौतमले जानकारी दिए ।

उनका अनुसार स्काभेटर करिब ३ सय मिटर तल कालीगण्डकी नदीमा खसेको थियो । कालीगण्डकीमा खसेको स्काभेटर पूर्णरुपमा क्षति भएको छ । टाइमकार्डले रोकिएको ना६ख ४०८१ नम्बरको यात्रुबाहक बसमा समेत पहिरोले क्षति पुर्‍याएको घाँसा प्रहरी चौकी इन्चार्ज नीमप्रसाद तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार बसका १९ यात्रुमध्ये १ जना सामान्य घाइते छन् ।

Advertisement

उक्त क्षेत्रमा भीर काटेर सडकको ग्रेड डाउन गर्ने तथा सडक चौडा गर्ने क्रममा सुख्खा पहिरो गएको थासाङ ४ का स्थानीय जनप्रतिनिधि विशाल शेरचनले जानकारी दिए ।

बेनी–जोमसोम खण्डअन्र्तगत म्याग्दी तातोपानीदेखि मुस्ताङको कोवाङसम्मको सडक स्तरोन्नतिको जिम्मा शर्मा गजुरमुखीले लिएको थियो । सडक खनिरहेको अवस्थामा सुख्खा पहिरो गएपछि सडक भासिएकाले खुल्न केही दिन लाग्ने मुस्ताङका निमित्त प्रहरी प्रमुख विनोद सुवेदीले जानकारी दिए ।

Advertisement

सुख्खा पहिरो गएको घटनापछि स्थानीय प्रशासन, सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीय उद्धारमा खटिएका थिए ।

तपाईको प्रतिक्रिया