लागुपदार्थ खुवाएर डकैती गर्ने पक्राउ

समाधान संवाददाता २०७६ फागुन २० गते १४:४९

समाधान संवाददाता
गोरखा

लागुपदार्थ सेवन गराएर धनमाल लुट्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । खाद्य तथा पिय पदार्थमा लागुऔषध मिसाई गोरखा नगरपालिका ५, ६ र सहिद लखन गाउँपालिका ९ बाट गरगहना र नगद लुट्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले नवलपरासीको कावासोतीबाट पक्राउ गरेको हो ।

प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत् लट्ने व्यक्तिको सार्वजानिक गरेको हो । पक्राउ पर्नेमा गोरखाको बारपाक घर भई हाल चितवनको रत्ननगर ४ बस्ने ४६ वर्षका प्रकाश गुरुङ, उदयपुर रानीबास गाउँपालिका २ सालघारीका ५३ वर्षिय अमृत राना, बाराको निजगढ ७ का ३८ वर्षिय कृष्ण विक र सुनसरीको इटहरी ४ खनारका ४५ वर्षका प्रदिप चौधरी रहेको गोरखाका एसपी ओमबहादुर अधिकारीले जानकारी दिए ।

Advertisement

माघ २५ गते गोरखा नगरपालिका ५ को लांलेपानीकी भुवानी आचार्यलाई फ्रुटीमा लागुपदार्थ मिसाई खुवाएर कानमा लगाउने सुनको रिङ, तिलहरी, कान्छी तिलहरी, मोबाइलसहित ४० हजार नगद लुटेको एसपी अधिकारीले बताए । त्यस्तै माघ २६ गते नै वडा नम्बर ६ हरमटारीचोकबाट वडा नम्बर ८ की सन्तुमाया रम्तेललाई सोही प्रकारले लुटेका थिए । उनको साथबाट १ तोलाको सुनको रिङ, आधा तोलाको ढुंग्री, र नगद १ हजार २ सय लुटेको प्रहरीको भनाई छ ।

लुटेराले सहिद लखन गाउँपालिका ९ नामजुङकी जमुना बरामको साथबाट कानमा लगाउने सुनको २ थान रिङ, सुनकै टीका लुटेर लगेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीले नवलपरासीको कावासोती नगरपालिका ३ संगमचोकबाट गत १६ गते पक्राउ गरिएको एसपी अधिकारीले बताए । प्रहरीले गरेको अनुसन्धानबाट उनीहरुले गोरखासहित चितवन र नवलपरासीमासमेत चोरीका घटना घटाएको देखिन आएको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । पक्राउ परेकालाई डकैती मुद्धा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

Advertisement

पछिल्लो समय जिल्लामा यस्ता खाले घटना बढेकाले नचिनेका मान्छेले दिएका खानेकुरा नखानसमेत प्रहरीले आग्रह गरेको छ । ‘सबै मान्छे सहि नियतका हुँदैनन्, यसमा सर्वसाधारण सचेत हुन जरुरी छ’ एसपी अधिकारीले भने, ‘नचिनेकालाई बास दिने, खानेकुरा खाने काम नगर्न म आग्रह गर्छु ।’ कोही कसैले शंकास्पद गतिविधि र व्यवहार गरे तत्काल प्रहरी वा नजिकका मान्छेलाई खबर गर्नसमेत प्रहरीको आग्रह छ ।

तपाईको प्रतिक्रिया