गाँजा खुलाउने गैरसकारी विधेयक

समाधान संवाददाता २०७६ फागुन २० गते १४:५०

सांसदको मुख्य काम कानुन निर्माण गर्ने हो । तर नेपालका सांसदहरु कर्मचारीतन्त्रबाट रेडिमेड आएको कानुन पास गर्ने वा पार्टीका केही मुखिया नेताहरुले भने बमोजिमको कानुन पास गर्न टेबुल ठोक्ने काममा मात्रै सीमित रहेको आरोप लाग्दै आएको छ । त्यसैले त थुप्रै सांसदहरु संसदबाट कुनकुन कानुन बनेर र मैले कहिले कहिले टेबुल ठोकेर कानुन पास गरें भन्ने जवाफ पनि दिन सक्दैनन् । त्यस्तो अवस्थामा केस्राकेस्रा पढेर विधेयकमा थपघट के गर्ने उनीहरुले ? झन् गैरसरकारी विधेयक दर्ताको हिम्मत त विरलै उदाहरण हुने भइहाले । नेकपाका सांसद शेरबहादुर तामाङले भने गाँजाखेतीलाई वैधता दिनुपर्ने प्रस्तावसहितको निजी विधेयक सोमबार दर्ता गरेका छन् । २०६२÷६३ सालयता विधायकले गैरसरकारी विधेयक दर्ता गरेको यो पहिलोपटक हो । नत्र सधैं सरकारले नै विधेयक ल्याउँछ र सांसद टेबुल ठोकेर पास गर्छन् । २०४८ सालयताको संसदीय अभ्यासमा तामाङले भन्दा अघि केवल सुवास नेम्बाङले बार काउन्सिल विधेयक र महेश आचार्यले मानव अधिकार आयोग सम्बन्धी गैरसरकारी विधेयक दर्ता गराएका थिए ।

Advertisement

गाँजा खेतीलाई प्रतिबन्ध मुक्त गराउन मागसहित यसअघि ४६ सांसदले गाँजा खेतीलाई कानुनी मान्यताको माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए, जसको अगुवाइ नेकपा सांसद विरोध खतिवडाले गरेका छन् । अहिलेसम्मको कानुनले गाँजालाई नेपालमा लागु औषध मानिन्छ । वर्षभरि लागुऔषध कारोबार र प्रयोक्ताका नाममा मुलुकभर पक्राउ पर्ने हजार १२ सयजनामध्ये ८७ प्रतिशतजना गाँजासम्बद्ध हुन्छन् । २०३३ सालअघिसम्म नेपालमा गाँजा खुला नै थियो । गाँजा खान आउने हिप्पीहरुकै कारण नेपालमा पर्यटन फस्टाउँदै आएको पनि हो । तर त्यही नै नेपालमा गाँजा प्रतिबन्ध लाग्नुको कारण बन्यो । अमेरिकी दबाबमा नेपालले लागु औषध नियन्त्रण ऐन २०३३ ल्यायो र गाँजा खेती र यसको प्रयोग तथा कारोबार लगायत सबैमा प्रतिबन्ध लगायो । सन् १९६१ मा संयुक्त राष्ट्रसंघको नार्काेटिक्स महासन्धिमा पनि नेपालले हस्ताक्षर ग¥यो । कैयौं मुलुकले गाँजामाथि प्रतिबन्ध नलगाउने सर्तसमेत राखी महासन्धिमा हस्ताक्षर गरे भने नेपालले बिनासर्त । अहिले प्रतिनिधि सभामा दर्ता भएको पूर्वकानुनमन्त्रीसमेत रहेका शेरबहादुर तामाङको विधेयकले पुरानो लागु औषध नियन्त्रण ऐनका बुँदा संशोधन गरी गाँजा खुला गर्‍यो भने मात्रै पनि काम पूरा हुँदैन । राष्ट्रसंघको नार्काेटिक्स बोर्डमा नेपालले निवेदन गरी अरु लागुऔषध प्रतिबन्धै गराइराख्ने गाँजा फुकुवा गर्ने अनुमति लिनुपर्छ । सरकारले चाहना नै राख्यो दुवै काम असम्भव हुँदै ।

गाँजा किन फुकुवा गर्ने भन्ने बहस व्यापक छ । पहिलो तसले हामीलाई प्रतिबन्ध लगाउन उकासेको थियो, त्यो देश अमेरिका आफैंले गाँजालाई खुला गरिसक्यो । यस्तो पंक्तिमा थुप्रै मुलुक छन् । गाँजामात्रै किन धेरै खाँदा जुनसुकै खाद्यपदार्थ पनि मानिसका लागि विष हुन्छ । गाँजा औषधीय गुणसहितको वनस्पति हो, जसको खेती गरी औषधी उत्पादन गर्न भारतमा प्रयास सुरु भइसक्यो । नेपालको हावापानी गाँजाका लागि अति उपयुक्त मानिएको छ । एक गाँजाबाट दर्जनौं रोगको उपचारक औषधी बनाउन सकिन्छ भने अर्काे यसको डाँठ र रेशा पनि कपडा र फर्निचर लगायत वस्तु बनाउन प्रयोग गर्न सकिन्छ । गुणैगुणले भरिएको गुणकारी वनस्पतिको खेती गर्दा किसानले पनि लाखौं आम्दानी गर्न सक्छन् । मुलुकको अर्थतन्त्रमै यसले योगदान पु¥याउन सक्छ भन्ने विज्ञहरुले बताउँदै आएका छन् । यस कुरालाई ख्याल गरी तामाङले पेस गरेको विधेयक पारित गर्नु मुलुकका लागि हितकर हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया