सुख्खा पहिरोले सडक भाँसिएपछि पर्यटकलाई सास्ती

समाधान संवाददाता २०७६ फागुन २१ गते १२:४३

सुख्खा पहिराले सडक अवरुद्ध भएपछि पर्यटकलाई सास्ती। तस्विरः प्रयास थकाली

एसके थकाली, जोमसोम

सुख्खा पहिरो गएपछि गत सोमबार देखि अवरुद्ध बनेको बेनी–जोमसोम सडकखण्डमा मुस्ताङ आउजाउ गर्ने पर्यटकले सास्ती पाएका छन् ।

Advertisement

राष्ट्रिय गौरवको आयोजना, कालिगण्डकी करिडोरले सडक स्तरोन्नति गर्दै गरेको मुस्ताङको थासाङ गाउँपालिकाको वडा नं. ४ र ३को घैकु खोला नजिक सुख्खा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो । सुख्खा पहिरोले करिव १५ मिटर सडक भासिएको थियो । नियमति सडक चौडा र भीर कटिङ गर्ने क्रममा खटिएको एक स्काभेटर समेत कालिगण्डकीमा खस्दा सिन्धुपाल्चोक घर भएका अपरेटर चालक अजुर्न दाहालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्काभेटरले सडक माथिको माटो पन्छ्याउने क्रममा सुख्खा पहिरो गएपछि सडक खन्ने उपकरणसहित अपरेटर चालक कालिगण्डकी नदीमा खसेको थियो । यस्तै पहिरो मुस्ताङ तर्फ जाने एक बसमा समेत क्षति पुगेको थियो । मुस्ताङको घासा माथि घैकु खोला नजिक सुख्खा पहिरोले सडक अवरुद्ध बनेपछि म्याग्दी र मुस्ताङको सिधा यातायात सेवा अवरुद्ध भएको घासा प्रहरी चौकीका ईञ्चार्ज नीमप्रसाद तिमिस्लिसनाले बताए । उनका अनुसार म्याग्दी हुँदै मुस्ताङ जाने पर्यटकले सवारी फेरबदल गर्नु पर्ने अवस्था रहेको छ ।

Advertisement

मुस्ताङ जाने पुरै सडक पुरिएको र जमिन समेत भासिएकाले उपल्लो घासा माथिको जंगलको बाटो हुँदै करिव ४५ मिनेट पैदल हिडेर घैकु खोलामा झर्नु पर्ने भएको ईञ्चार्ज तिमिल्सिनाले जानकारी दिए । सडक अवरुद्धले सबै भन्दा बढी सकस भारतीय पर्यटकलाई परेको छ । जगंलको अप्ठ्यारो उकालो –ओरालो बाटोमा पर्यटकलाई सवारी फेर्न समस्या परेको प्रयास थकालीले बताए ।

यस्तै, सडककै कारण खाद्यान्न लगायतका मालसामान ढुवानी तथा ओसार–पोसारमा समेत समस्या परेको उनले बताए । शर्मा गजुरमुखिका प्रोजेक्ट मेनेजर नरेन्द्र न्यौपानेले बुधबार देखि सडक खुलाउन पहल सुरु भएको बताए । उनले सडक माथिको भाग धुजा धुजा परेकाले ब्लास्टिङ गरी चिरा परेको भागलाई मेटेर सडक सफा गर्ने योजना रहेको छ । अहिले ब्लास्टिङका लागि होल खुल्ने काम भईरहेको र आजै सडक सफा गर्ने लक्ष्य रहेको बताए ।

तपाईको प्रतिक्रिया