गोरखामा समता स्कुल भवनकाे शिलान्यास

समाधान संवाददाता २०७६ फागुन २१ गते १३:३२

मोहसिन अलि मियाँ
गोरखा

हास्य कलाकार मदकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गोरखा सदरमुकामस्थित समता शिक्षा निकेतनको भवन शिलान्यास गरेका छन् । गोरखा नगरपालिका ६ दरवारमार्गमा रहेको समता विद्यालयको भवन निर्माणका लागि सोमबार मह जोडीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । समता ट्रस्टका संस्थापक उत्तमकुमार सञ्जेलको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा गोरखा नगरपालिकाका उपप्रमुख विनाकुमारी श्रेष्ठले समताको अभियान सकारात्म रहेको बताइन् । उपप्रमुख श्रेष्ठले सुविधा सम्पन्न क्षेत्रमामात्र समताले शिक्षा नदिई दुर्गम क्षेत्रका पहुँच नपुग्ने बालबालिका केन्द्रित हुन सक्नु पर्ने बताइन् ।

कार्यक्रममा कलाकार मदकृष्ण श्रेष्ठले समता स्कुल सरकारी र निजी भन्दा फरक रहेको बताए । ‘समता नेपालको शिक्षा क्षेत्रको विकासका लागि महाअभियान हो, सरकारी र बोर्डिङ स्कुलभन्दा यो विलकुल फरक छ’ उनले भने, ‘असल संस्कार सहितको निस्वार्थ शिक्षा दिन यो स्कुल खोलिएको हो ।’ असल र सर्वसुलभ शिक्षाका लागि देशैभर समता ट्रस्टले स्कुल र कलेज स्थापनाको अभियान चलाएको बताउँदै उनले यसबाट सक्षम नागरिक उत्पादन हुने विश्वास व्यक्त गरे ।

Advertisement

कार्यक्रममा कलाकार हरिवंश आचार्यले निजी र सरकारी शिक्षालयसँग प्रतिस्प्रर्धा गर्न सक्ने शिक्षा समताले दिएको बताए । ‘समता निस्वार्थ शिक्षा दिने संस्था हो, अहिले १ केजी लसुनको ८ सय पुगेको छ तर, समताले महिनाभर पढाएर १ सय रुपैयाँ मात्रै लिन्छ’ आचार्यले थपे, ‘समताले धेरै पृथ्वीनारायण शाहहरु जन्माएर देशको विकास र सम्मृद्धिमा लाग्ने नागरिक उत्पादन गर्छ यसमा कुनै डाउट छैन ।’ गोरखामा रहेको समता स्कुल आफ्नो र ट्रस्टको मात्रै नभई सारा गोरखालीको भएको बताए ।

राजुबाबु श्रेष्ठको २ करोडको सहयोग
गोरखा नगरपालिका ६ का डा. राजुबाबु श्रेष्ठले समता शिक्षा निकेतनको भवन निर्माणका लागि साडे ५ रोपनी जग्गा दान दिएका छन् । दरवारमार्गमा रहेको पुर्खेउली जग्गा उनले ९ वर्ष अघि समतालाई निशुल्क दान दिएका हुन् । करिव २ करोड बराबरको जग्गा श्रेष्ठले दान गरेका हुन् । आफ्ना स्वर्गीय बाबु ईश्वरीप्रसाद श्रेष्ठ र आमा ईश्वरीदेवी श्रेष्ठको स्मृति र सम्मानका लागि विद्यालयलाई जग्गा दान दिएको बताए ।

Advertisement

‘असल समाज र सम्मृद्ध देश निर्माण गर्न बालकालिकालाई राम्रो शिक्षा पाउन जरुरी छ, समताले देशभर चलाएको अभियानबाट प्रभावित भएर मैले दान दिँए’ पूर्व एसपीसमेत रहेका श्रेष्ठले भने । शिलन्यास कार्यक्रममा संस्थापक उत्तमकुमार सञ्जेलले गोरखासहित देशभर समाताले ८० वटा विद्यालय स्थापना गरेर ६५ हजार विद्यार्थीलाई सर्वसुलभ शिक्षा प्रदान गरिरहेको जानकारी दिए । गोरखामा रहेको उक्त विद्यालय निर्माणका लागि रोटरी क्लब ३२५ बी १ ले ३० लाख रुपैयाँ सहयोग गरेको बताइएको छ । कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख विनाकुमारी श्रेष्ठ, रोटरी नेपालका डिस्ट्रिक्ट गर्भनर किरणलाल श्रेष्ठ, रोटरीका लिट्रेसी मिसनका प्रमुख तीर्थमान शाक्य, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, समता ट्रस्टका निर्देशक दीपक सञ्जेल, जग्गादाता डा. राजुबाबु श्रेष्ठ, झलक शर्मा पौडेल लगायतले बोलेका थिए । भवन २० कोठाको बन्न लागेको प्रधानाध्यापक मनिता थापा मगरले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया