सर्जिकल मास्क कालो बजारी

समाधान संवाददाता
काठमाडौं
कोरोना भाइरस (कोभिड १९) को बढ्दो त्रासबीच चिकित्सक मास्क लगाउन सल्लाह दिन्छन् तर मास्क भने किन्नै पाइँदैन । महंगोमा किनबेच सुरू भएपछि व्यापारीले मास्क लुकाएका छन् । त्यसैले खुद्रा बिक्री प्रभावित भएको हो ।
मेडिकल र सर्जिकल स्टोरहरूमा सहजै उपलब्ध हुने मास्क यतिबेला भेट्न सजिलो छैन । कतै पाइए पनि व्यापारीले महंगो शुल्क असुल्छन् । ३ साता अघिसम्म प्रतिगोटा ५ रूपैयाँ पर्नेलाई २० देखि २५ रूपैयाँ र १० रूपैयाँ पर्नेलाई ४०–५० रूपैयाँसम्म असुलेका खुद्रा व्यापारी यतिबेला थोकमै खरिद गर्न नपाएको बताउँछन् ।
चीनको वुहानमा फैलिएको कोभिड १९ को महामारीपछि नेपाल सरकारले चीनलाई मास्क सहयोग गरेको थियो । गत माघ अन्तिम साता राजधानीमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई सहयोगस्वरुप १ लाख थान मास्क हस्तान्तरण गरेको समाचार बाहिरिएसँगै बजारबाट मास्क सुलभ हुन छाडेको हो ।
नेपालमा मास्क चीन र बंगलादेशबाट आयात हुँदै आएको थियो । कोभिड १९ को संक्रमण फैलिएको घटनाअघिसम्म आयात पनि सहज थियो । यतिबेला चीनमै मास्क अभाव छ । १ डिब्बाको ३ सयदेखि ५ सय रुपैयाँ पर्ने सामान्य सर्जिकल मास्क यति बेला सजिलै पाइँदैन, पाइहाले १ हजार ७ सयदेखि २ हजार रूपैयाँसम्म परिरहेको खुद्रा व्यवसायी बताउँछन् ।
लुकीछिपी बजारबाट बटुलेर चीन पठाउँदा राम्रो आम्दानी हात परिरहेकाले केही गिरोहले नेपाली बजारमा अभाव गराएको व्यवसायीको तर्क छ । नेपालले वार्षिक १० लाखभन्दा बढी मास्क आयात गर्दै आएको थियो । यतिबेला बंगलादेश र भारतमा पनि कोरोनाको त्रास छ । त्यसैले उताबाट नेपाल निर्यात हुने परिमाण घटाइएको औषधी व्यवसायी बताउँछन् ।
गत माघको तेस्रो साता औषधि व्यवसायी संघ काठमाडौंले अभाव हुन नदिन व्यवसायीलाई आह्वान गर्दै सूचना जारी गरेको थियो । त्यसयता झन कालोबजारी बढेर मास्क पाइन छाडेको हो ।
काठमाडौंमा भूकम्पले ढलेका घर, भवनको ढुंगा, माटो छरपस्ट हुँदा, धेरै ठाउँ सडक निर्माण, मर्मत र स्तरोन्नति चलिरहँदा र मेलम्चीले पाइप बिच्छ्याउँन उपत्यकाका मुख्य मुख्य भागमा खनिरहँदा जताततै धूलो थियो । त्यो बेला मास्कको बिक्री अचाक्ली बढेको थियो । यतिबेला धूलोको मात्रा घटे पनि मास्क प्रयोगको बानी परेका सर्वसाधारणका कारण बिक्री घटेको थिएन । १ पटक लगाएर मिल्काउन हुने डिस्पोजेबल मास्क सस्तो र सजिलो हुने भएकाले गत महिनासम्म सर्वसुलभ थियो । यतिबेला त्यो सस्तो र सजिलो मास्क त पाइँदै पाइँदैन, महंगो भए पनि सुरक्षित मानिएका एन ९५ लगायतका मास्क पनि किन्न नपाउँदा सर्वसाधारण आजित छन् ।
अस्पताल र स्वास्थ्य संस्थामा सधैं अनिवार्यजस्तै प्रयोग हुने मास्क पनि बजारमा अभाव हुँदा एक प्रकारको असुरक्षा बढेको सर्वसाधारण बताउँछन् । ‘अन्तभन्दा पनि हाम्रा लागि त अनिवार्य हो, तर स्टकमा अब निकै कम छ,’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका १ कर्मचारीले भने, ‘बेलामा पाइएन भने हामीले दिने सेवा पनि प्रभावित हुनसक्ने स्थीति बन्दैछ ।’ आफू असुरक्षित भएर स्वास्थ्यकर्मीले काम गर्न नसक्ने उनले बताए । ट्रमा सेन्टरको इमजेन्सीमा कार्यरत कर्मचारीको प्रयोगका लागि मास्क स्टकमा नभएको त्यहाँका कर्मचारीले बताए ।
हाल राजधानीका अस्पतालहरूमा स्वास्थ्यकर्मी र कर्मचारीले तुना बाँध्ने मास्क प्रयोग गरिरहेका छन् । १ पटक लगाएको मास्क बारम्बार प्रयोग गर्न योग्य नहुने अवस्थामा नयाँ किन्न नपाउनुले असुरक्षाको भावना बढाएको छ । वीर अस्पतालको स्टोरमा यति बेला ८ हजारमात्रै पेपर मास्क बाँकी रहेको त्यहाँका कर्मचारीले बताए । स्वास्थ्यकर्मी, कर्मचारी र आवश्यकता अनुसार बिरामीलाई पनि उपलब्ध गराउनुपर्ने भएकाले उक्त स्टकले १ साताभन्दा बढी नधान्ने उनले बताए । बागबजारको काठमाडौं मोडेल हस्पिटलको फार्मेसीले आपूर्ति हुन छाडेको भन्दै हप्ता दिनदेखि पेपर मास्क बिक्री गर्न छाडेको छ ।
अब पाइने मास्क पनि स्टक गरेर राख्नुपर्ने अवस्था रहेको कलंकी पोलिक्निकका सञ्चालक बुद्धि थापाले बताए । ‘पूरै अभावको स्थिति छ, सजिलै पाइने मास्क पनि सप्लायरले दिन छाडेका छन्,’ उनले भने, ‘अत्यावश्यक स्थितिका लागि केही थान जोगाएर राख्नुपर्ने भएको छ ।’ मास्कको कालोबजारी बढिरहँदा नियमनकारी निकायको सक्रियता भने बजारमा देखिएको छैन ।
तपाईको प्रतिक्रिया