राष्ट्रियसभाका १८ सदस्यहरूद्वारा गाेपनियताकाे सपथ ग्रहण

समाधान संवाददाता, काठमाडाैं
राष्ट्रिय सभाका १८ सदस्यहरुले बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद मिलिल्सिनाले बुधबार बिहान संसद भवनको ल्होत्से हलमा सपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहण गर्नेहरुमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का २ जना छन् । उनीहरु गत माघ ९ गते भएको राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका थिए ।
सपथ ग्रहण गर्नेहरुमा नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल, देवेन्द्र दाहाल, इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।
यसैगरी भगवती न्यौपाने, तारामान स्वाँर, शारदादेवी भट्ट, सुमित्रा विसी, मायाप्रसाद शर्मा, गोपाल भट्टराई, विमला घिमिरे, गंगाकुमारी बेल्बासे र जगतप्रसाद शर्माले पनि आज नै सपथ ग्रहण गरेका छन् ।
राजपाका शेखरकुमार सिंह जातीय पहिरनमा देखिए पनि अन्यले राष्ट्रिय पोशाक लगाएका थिए ।
मंगलबार राष्ट्रपतिबाट मनोनित डा. युवराज खतिवडासहित १९ जनाको कार्यकाल सकिएको थियो । १८ पदका लागि गत माघ ९ गते निर्वाचन भएको थियो । डा. खतिवडाको स्थानमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई मनोनित गर्ने निर्णय पार्टी सचिवालयले गरे पनि सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको छैन । पार्टी सचिवालयमा एकमतले निर्णय गरे पनि प्रधानमन्त्री केपी शर्मा ओली गौतमलाई सिफारिस गर्न तयार नदेखिएको नेकपा नेताहरु बताउँछन् ।
तपाईको प्रतिक्रिया