कोरोनालाई त्रास नबनाऊँ
चीनको एउटा राज्य वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणले चीन मात्र होइन, अहिले विश्वमै त्रास फैलाएको छ । यो रोगबाट चीन सबैभन्दा बढी आक्रान्त भए पनि विश्वभर नै असर पारेको छ । विश्व स्वास्थ्य संगठनले त विश्वव्यापी स्वास्थ्य आपतकाल नै घोषणा गरेको छ । दिन प्रतिदिन ज्यान गुमाउनेको संख्या बढ्दो छ । विश्व्यापी रुपमै आपतकाल घोषणा गरिनु सानोतिनो विषय पक्कै पनि होइन । विश्वका सबैजसो हवाईजहाज सञ्चालक कम्पनीहरुले अहिले चीनमा उडान रोकेका छन् । विश्वभर आवतजातमा नै निकै कमी आइसकेको छ । अझ यो भाइरस जहाँबाट सुरु भएको थियो, उक्त सहर वुहानको अवस्था त अहिलेसम्म पनि सुधारमा आएको छैन । त्यहाँ रहेका नेपाली विद्यार्थीहरुलाई नेपाल सरकारले उद्दार गरे ल्याइसकेको छ । १६ दिन लामो क्वारेन्टाइनपछि उनीहरु अहिले परिवारसँग बस्न पाएका छन् । समयक्रमसँगै विश्वमा नयाँ नयाँ खाले सरुवा रोगको संक्रमण देखिन थालेको छ । विश्वभर मानिसहरुको आवतजावतमा सहजताका कारण त्यही अनुसार रोग पनि १ ठाउँबाट अर्को ठाउँमा, १ व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गरेको छ ।
अहिले कोरोना भाइरसका कारण संकटकाल घोषणा गरियो । विश्वव्यापी संकटकाल घोषणा भएको यो पहिलो पटक भने होइन । डल्लुएचओले यस अघि नै ५ पटक स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ । आमजनमानसमा त्रास फैलाउने भन्दा पनि रोगबाट जोगिनबाट सक्दो उपाय अपनाउने पूरै विश्व यो र यस्ता रोगबाट सचेत हुन आह्वान गर्दै संकटकाल घोषणा हुने गर्छ । कुनै मुलुक, त्यो मुलुकका शासक र नागरिकबीच जतिसुकै द्वन्द्व वा विद्वेषको भावना भए पनि रोगका विरुद्ध सम्पूर्ण विश्व एकमत हुनुपर्छ भन्ने सन्देश हो । चीनवाहेक बाहिरका मुलुकमा समेत कोरोना भाइरसबाट मानिसको ज्यान गएको छ । नेपालमा समेत यो रोगको जोखिम अत्यधिक छ । यसबारेमा विश्व स्वास्थ्य संगठनले पनि सचेत बनाइसकेको छ । चीन र अरु देशहरुबाट नेपाल र पोखरामा पर्यटक प्रशस्तै आउने गरेका छन् । ती पर्यटकसँगै कतै कोरोना त आएको छैन भन्नेमा हामी सचेत हुन जरुरी छ ।
संघ सरकारले यो रोगबाट बच्न विशेष रणनीति नै बनाइसकेको छ । त्यसैको अनुशरण गर्दै प्रदेश र स्थानीय तहहरुले पनि काम थालिसकेका छन् । पोखराको विमानस्थल र मुस्ताङमा हेल्प डेस्क नै सञ्चालनमा आइसकेको छ । मनिपाल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजमा कम्तीमा १५÷१५ वटा र चरक मेमोरियलमा २७ र गण्डकी अस्पतालमा ३ वटा गरी ६० वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । रगत परीक्षणका लागि किटको प्रवन्ध गर्नुपर्ने छ । त्यसैगरी मास्क अनिवार्य रुपमा लगाउने, सामान्य रुघाखोकी लागे पनि जँचाइहाल्ने, तातो झोलिलो पदार्थ बढी सेवन गर्ने र सरसफाइमा विशेष ख्याल गरेरमा यो रोग लाग्नबाट बच्न सकिन्छ । अहिले कोरोनाको वाहानामा बजारमा महंगी बढेको छ । सामान्यतया ५ रुपैयाँमा पाइने मास्कलाई अहिले २० रुपैयाँ लिन थालिएको छ । कतिपय मुलुकमा त अहिले सिटामोल पनि नपाइने अवस्था सिर्जना भएको छ । संकटको क्षण भनेको कमाउने अवसरमा व्यवसायीले लिएका छन् । ज्यान रहे पो पैसा काम लाग्ला । त्यसैले कालोबजारीलाई बढावा हैन अहिले जसरी हुन्छ १ भएर कोरानाको विरुद्दमा जुट्ने बेला छ । यो सरकार र स्वास्थ्यकर्मीको मात्रै जिम्माको विषय होइन । आम नागरिक र सरोकारवाला मिलेर यसका विरुद्ध जुट्ने बेला हो ।
तपाईको प्रतिक्रिया