कोरोना कहरः मेला महोत्सव स्थगित, परीक्षा अघि सर्‍यो

समाधान संवाददाता २०७६ फागुन २२ गते १३:३९

समाधान संवाददाता, पोखरा

नेपाल भ्रमण वर्षलाई समेत लक्ष्य गरी मादी गाउँपालिकाले वैशाख १ देखि १० गतेसम्म ताङतिङमा आयोजना गर्ने भनेको मादी महोत्सव स्थगित गरेको छ । गाउँपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले उक्त महोत्सव स्थगित गरेको छ । अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)का अनुसार कोरोना भाइरसको जोखिममा ख्याल गर्दै महोत्सव स्थगित गरिएको हो ।

पोखरा नगर रेस्टुरेन्ट एन्ड बार एसोसियसन (सिटी रेबान) पोखराले २३ गतेबाट गर्ने भनेको महोत्सव हाललाई स्थगित गरेको छ । प्रत्येक वर्ष आयोजना हुँदै आएको सिटी रेबान फेस्टिभल ११ औं घडीमा आएर स्थगित हुनुको कारण अरु केही होइन, कोरोना नै हो । सिटी रेबान अध्यक्ष दीपक तिमिल्सिना भन्छन्, ‘रद्द गरिएको होइन, केही समयलाई स्थगित हो ।’ जसै कोरोना भाइरस संक्रमणको त्रास फैलँदो छ, प्रशासनले धेरै भिडभाड हुने मेला महोत्सव, सभा सम्मेलनहरु नगर्न सर्वसाधारणहरुलाई पनि आह्वान गरेको छ । सम्मुखमा आइपुगेका मेला महोत्सव र सभा समारोहरु स्थगित हुन थालेका छन् ।

Advertisement

समता विद्यालयले २३ फागुनलाई डाकेको अभिभावक दिवस स्थगित गरेको छ । स्कुलमै विद्यार्थी हुने भए पनि बाहिरी वातावरणमा अभिभावकहरुसहितको बृहत् भेला गर्नबाट उक्त विद्यालय पछि हट्नुको कारण पनि उही कोरोना भाइरससँगको त्रास हो । उक्त विद्यालयका शिक्षक उमेश रेग्मीका अनुसार सबैतिरबाट आएको सुझाव अनुसार अभिभावक दिवस स्थगित गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार सूचना प्रकाशित गर्दै धेरै भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा हस्ताक्षरित सूचनामा हालसम्म नेपालमा कोरोनाको संक्रमण फेला नपरेको भए पनि जोखिम निम्त्यिाउने भिडभाडयुक्त सभा समारोह नगर्न आग्रह गरिएको छ । सहायक सिडिओ पौडेलले कार्यक्रम र सभा समारोहका लागि अनुमति माग्न आउनेहरुलाई सकेसम्म भिडभाड हुने कार्यक्रम नगर्न सुझाएर पठाउने गरेको जानकारी दिए । ‘गर्दै नगर्न निर्देशन त दिएका छैनौं, सकेसम्म नगर्न सुझाव दिएका छौं,’ उनले भने ।

Advertisement

कान्तिपुर एफएमले होलीका अवसरमा पोखरा आयोजना गर्न लागेको रोड सो स्थगित गरेको छ । बुटवलमा कार्यक्रम गरी पोखरामा आयोजना गर्ने तयारीसाथ आएको टोली सो नगरी फर्केको छ । यसको कारण पनि उही कोरोना भाइरसको जोखिम नै हो ।

फागु पूर्णिमाका अवसरमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गर्ने होली महोत्सव अनिश्चित बनेको छ । पर्यटकीय केन्द्र लेकसाइडमा प्रत्येक वर्ष हुँदै आएको होली महोत्सवमा स्वदेशी विदेशी पर्यटक रम्दै आएका थिए । पानीको माध्यमबाट कोरोनो भाइरसको संक्रमण सर्न सक्ने हुँदा होली महोत्सव नगर्ने मुडमा पर्यटन व्यवसायी पुगेको बताइन्छ । तर स्थगितको घोषणा भने भइसकेको छैन । यसबारे रेबानले बिहीबार निर्णय लिँदैछ ।

पोखरामा कोरोना संक्रमणका सम्भावित बिरामीलाई ख्याल गर्दै पोखरामा गण्डकी प्रदेश सरकारले आइसोलेसन बेडहरुको व्यवस्था गरिसकेको छ । यहाँका ४ अस्पतालमा सयभन्दा बढी बिरामीलाई राख्न सकिने व्यवस्था गरिएको हो । कोरोनो भाइरसको संक्रमण अहिलेसम्म नदेखिए पनि त्यसबाट बच्न भिडभाडमा नजान र राम्ररी हात धोइरहन तथा हाँछ्यँु गर्दा मुख छोप्न चिकित्सकहरुले सल्लाह दिइरहेका छन् ।

विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्ने तयारीस्वरूप सरकारले देशभरका विद्यालयको वार्षिक परीक्षा २७ फागुनबाट गर्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ५ चैतसम्म कक्षा ९ सम्मको वार्षिक परीक्षा लिइसक्न भनेपछि विद्यालयहरुले धमाधम परीक्षा साताअघि सारेका हुन् । ६ चैतदेखि सुरु हुने एसइई परीक्षाको तालिका भने अहिलेसम्म सारिएको छैन ।

तपाईको प्रतिक्रिया