पीडामा यौनिक अल्पसंख्यक

समाधान संवाददाता २०७६ फागुन २२ गते १६:२०

युवराज पौडेल
सबै मानिस जन्मँदा पुरुष र महिलामात्र भएर जन्मन्छन् भन्ने हुँदैन । संसारमा धेरै मानिस पुरुष र महिलाकै रूपमा जन्मन्छन् र तिनको यौन आकर्षण पनि विपरित लिंगीमै हुन्छ । तर कतिपयलाई थाहा नभएको कुरा के छ भने केही यो मूलधारभन्दा भिन्न लैंगिक पहिचान तथा फरक यौनिक भूमिकाका मानिसहरु पनि हुन्छन् । पुरुषको यौन झुकाव महिलासँग र महिलाको पुरुषसँग हुने सामान्य यौनिक भूमिका हो । तर सबै मानिसको यौन झुकाव विपरित लिंगीप्रति मात्र हुन्छ भन्ने हुँदैन । यस्ता आम मानिसभन्दा फरक लैंगिक तथा यौनिक पहिचान र भूमिकाका मानिसलाई यौनिक अल्पसंख्यक भनिन्छ । यस्ता लैंगिक तथा यौनिक अल्पसंख्यकलाई मूलतः ५ प्रकारमा विभाजन गरिएको पाइन्छ । यस्ता फरक यौनिक अल्पसंख्यकलाई बुझाउन आजभोलि ‘एलजिबिटिआई’ शब्द प्रयोग प्रचलनमा ल्याइएको छ । यसमा ‘एल’ शब्दको अर्थ ‘लेस्बियन’ अर्थात् महिला समलिङ्गी, ‘जि’ को अर्थ ‘गे’ वा पुरुष समलिङ्गी, ‘बि’ को अर्थ ‘बाइसेक्सुअल’ अर्थात् द्विलिंगी ‘टि’ को अर्थ ‘ट्रान्सजेन्डर’ अर्थात् तेस्रो लिंगी, ‘आई’ को अर्थ ‘इन्टरसेक्सुअल’ अर्थात् अन्तरलिंगी भन्ने हुन्छ । यसरी ‘एलजिबिटिआई’ विभिन्न शब्दको सम्मीश्रणबाट बनेको यौनिक अल्पसंख्यकलाई बुझाउन प्रयोग गरिने छाता शब्द हो ।

यौनिक अल्पसंख्यकको ठूलो हिस्सा समलिंगी प्रकृतिभित्र पर्छ । भावनात्मक रुपले विपरित लिंगीप्रति नभई आफूजस्तै समलिंगीप्रति आकर्षित हुनेलाई समलिंगी भनिन्छ । महिला पुरुषप्रति र पुरुष महिलाप्रति आकर्षित नभई पुरुष पुरुषसँग र महिला महिलासँग आकर्षित हुनुलाई समलिंगी भनिन्छ । यिनीहरुको बच्चा हुँदैनन् । एलजिबिटिआई भित्रको अर्काे समूह ट्रान्सजेन्डर वा तेस्रो लिंगी हो । जसलाई छोटकरीमा टिजी भनेर चिनिन्छ । जन्मँदा छोरा पछि छोरीमा खुल्ने, अनि जन्मँदा छोरी पछि छोराको पहिचानमा अगाडि आउने वा परम्परागत रुपमा महिला र पुरुषको अपेक्षा गरिएभन्दा फरक लिंगीको अवस्था टिजी हो । यिनीहरु २ प्रकारका हुन्छन्ः पुरुष तेस्रो लिंगी र महिला तेस्रो लिंगी । पुरुष तेस्रो लिंगी जन्मँदा केटा तर पछि हुर्कदैं जाँदा केटीका रुपमा देखा पर्छन् । यौनिक अल्पसंख्यकको अर्काे समूह द्विलिंगी वा बाइसेक्सुअल हो । यिनीहरुको यौनिक आकर्षण महिला र पुरुषसँग बराबर हुने खालको हुन्छ । द्विलिंगीका बच्चाबच्ची हुन्छन् । द्विलिंगी पुरुष पनि हुन सक्छन् महिला पनि हुन सक्छन् । यस समुदायभित्रको अर्काे प्रकार अन्तरलिंगी हो । जन्मदा छोरा छोरी छुट्याउन नसकिने यौनिक समुदायलाई अन्तरलिंगी भनिन्छ । चिकित्शाशास्त्रको भाषामा यसलाई ‘हेर्माेफ्रोडाइट्स’ भनिन्छ । यस्ता अन्तरलिंगी बालबालिकाको यौन अंग शल्यक्रियाद्वारा प्रत्यारोपण गर्ने गरिएको पाइन्छ ।

वर्तमान अवस्था
कुनै समय विश्व स्वास्थ्य संगठन र अमेरिकी मनोरोग चिकित्सा संघले लैंगिक तथा यौनिक अल्पसंख्यकलाई रोग वा कुनै मनोवैज्ञानिक असरको परिणामका रुपमा व्याख्या गर्थे । सन् १९७० मा अमेरिकन साइकोलोजी एसोसिएसनले आफूले ठूलो भूल गरेको स्वीकार गर्दै समलैंगिकता कुनै रोग नभएको पुष्टि गर्‍यो र मानसिक रोगको तालिकाबाट यसलाई हटायो । सन् १९९२ मा विश्व स्वास्थ्य संगठनले पनि समलैंगिकता कुनै रोग नभएको पुष्टि गरिसकेको छ । अन्तराष्ट्रिय मान्यता अनुसार कुल जनसंख्याको १० प्रतिशत मानिस लैंगिक तथा यौनिक अल्पसंख्यक छन् । नेपालमा हाल यौनिक अल्पसंख्यकको संख्या कति छ भन्ने एकिन तथ्यांक छैन । नेपालमा समलिंगी र तेस्रो लिंगीको संख्या अन्य यौनिक अल्पसंख्यकको भन्दा बढी रहेको देखिन्छ । धेरैजसो यौनिक अल्पसंख्यक खुल्न नसक्ने भएकाले वास्तविक तथ्यांक नै नआउने अवस्था छ । अधिकारकर्मी पिङ्की गुरुङका अनुसार हाल नेपालमा तेस्रो लिंगी, समलिंगी तथा यस समुहको संख्या ९ लाखभन्दा बढी छ ।

अहिले आएर दक्षिण अफ्रिका, फिजी, फ्रान्स, अमेरिका लगायत विश्वका १ दर्जनभन्दा बढी राष्ट्रले समलिंगी वा तेस्रो लिंगीलाई पूर्ण मान्यता दिइसकेको छ भने दक्षिण एसियामा नेपालले सर्वप्रथम यसलाई मान्यता दिने काम गरेको छ । भारत, पाकिस्तान, न्युजिल्यान्ड, अष्ट्रेलिया लगायत थुप्रै देशले पासपोर्ट, नागरिकता, जन्मदर्ता प्रमाणपत्रमा तेस्रो लिंग समावेश गर्ने कानुनी प्रावधान गरेका छन् । नेपालमा वि.सं. २०७० सालमा सर्वाेच्च अदालतले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई नागरिकता, शैक्षिक प्रमाणपत्र सहितका सबै कागजात पहिचान अनुसार दिने व्यवस्था गरेको छ । यस्ता यौनिक अल्पसंख्यकलाई पहिले लिएको नागरिकतामा रहेको नाम र लिंग परिवर्तनको अधिकार पनि दिइएको अवस्था छ ।

चुनौती
कुनै मानिस यौनिक तथा लैंगिक रुपमा फरक हुनु रोग वा मनोवैज्ञानिक समस्या होइन । हाम्रो समाजले यसलाई अझै रोग वा विकृतिका रुपमा लिने गरेको पाइन्छ । महिला र पुरुषको सम्भोग वा समागमलाई प्राकृतिक मान्ने तर सोही प्रक्रियाबाट समलिंगी वा अन्तरलिंगी व्यक्तिको जन्म हुँदा त्यसलाई अप्राकृतिक मान्नु आफैंमा गलत हो । हाम्रो समाजमा समलिंगी वा विभिन्न यौनिक अल्पसंख्यक समुदायका मानिस भन्नासाथ नकारात्मक रुपमा हेर्ने प्रवृत्ति छ । बाटोमा हिँड्दा समेत यस्ता समुदायका मानिसले दुव्र्यवहार सहनु परिरहेको यथार्थ छ । खासगरी यस्ता मानिसलाई हिजडा, छक्का, नपुशंक लगायत भनेर खिसी गर्ने गलत प्रवृत्तिले उनीहरुको आत्मसम्मानमा गहिरो चोट पुर्‍याएको उनीहरुको अनुभूति छ । आज यौनिक अल्पसंख्यकप्रति राज्य र समाजको दृष्टिकोण पूर्ण सकारात्मक बन्न सकेको छैन । विद्यालयमा उनीहरुमाथि हुने अपमान र दुव्र्यवहारका कारण औपचारिक शिक्षाबाट बाहिरिनुपर्ने स्थिति छ । उनीहरुका लागि रोजगारका क्षेत्रमा सहज पहुँचको स्थिति छैन ।

यतिसम्म कि यस्ता समलिंगी वा तेस्रो लिंगीलाई कोठा भाडामा दिन समेत आनाकानी गरिने, यिनीहरुसँग बोल्नु हुँदैन वा छुनु हुँदैन जस्तो व्यवहार गर्ने, ‘यिनीहरु अर्कै ग्रहका मानिस हुन्’ भनेजस्तो आम मानिसको व्यवहार हुनुले यौनिक अल्पसंख्यलाई चुनौती थपिदिएको छ । रोजगारका सबै बाटो बन्द भएपछि बाध्य भएर यिनीहरु यौन व्यवसायमा संलग्न हुनुपरेको तेस्रो लिंगी अधिकारकर्मी सिमरन शेरचन बताउँछिन् । यौनिक अल्पसंख्यकका लागि राज्यका सबै अवसर बन्द गरिएको, सरकारी रोजगारमा आरक्षणको व्यवस्था नगरिएको शेरचनको धारणा छ ।

अर्का समलिंगी अधिकारकर्मी पिटर तामाङका अनुसार यौनिक अल्पसंख्यकमध्ये धेरै पढेलेखेका बाहिरी मुलुकमा रोजगारका लागि गएको र नेपालमा जागिर खाएकाले काम गर्ने ठाउँमा परिचय खुलाउन नसकेको अवस्था रहेको बताउँछन् । नेपालमा राजनीति, मोडलिङ, यौन व्यवसाय, होटल व्यवसाय, मेकअप आर्टिस्ट, बुटिक व्यवसाय आदिमा यिनीहरुको संलग्नता रहेपनि त्यो न्यून अवस्थामा छ । निलहीरा समाजको भनाइ अनुसार नेपालमा करिब १० हजारभन्दा बढी यौनिक अल्पसंख्यक यौन व्यवसायमा आबद्ध छन् ।

नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक ठूलो पीडाका बीच जीवन गुजारिहरहेका छन् । उनीहरुलाई परिवारबाट असहयोग र यातना दिइने गरिन्छ । घरमा वा समाजमा घृणा गर्ने डरले धेरै यस्ता समुदायका मानिसले आफ्नो पहिचान खुलाउन नसकी पीडा सहेर बाँच्न बाध्य छन् । उनीहरुको फरकपनालाई घरपरिवारले सहज रुपमा स्वीकार्न नसकेकाले जबर्जस्ती विवाह गरिदिने प्रवृत्ति छ । कतिपयले त उनीहरु आफ्नै रहरले यसो गरेका हुन् जस्तो गरी व्यवहार गर्ने गरेको पाइन्छ । यौनिक अल्पसंख्यक चाहेर अन्य भएका होइनन् । यिनीहरु पुरुष वा महिलाको समागमबाटै प्राकृतिक तरिकाले अरु साधारण मानिस सरह जन्मेका हुन् । हुर्कदैं जाँदा यौन आकर्षण कतातिर हुने भन्ने मात्र हो । सेक्सुअल ओरेन्टेसनको भिन्नताकै आधारमा उनीहरुलाई भिन्न ठानिनु प्राकृतिक सिद्धान्त विपरित नै हो । एउटा पुरुष महिलासँगको सम्बन्धबाट सन्तुष्ट बन्न सक्छ भने अर्काे कोही पुरुष पुरुषसँगको शारीरिक, मानसिक र भावनात्मक सम्बन्धमा सन्तुष्ट हुन सक्छ भन्ने तथ्यलाई आम जनसमुदायले सहज रुपमा स्वीकार्न नसक्दा समस्या बढिरहेको छ ।

यत्ति आधारमा मानिसले मानिसमाथि गर्ने यो विभेद अमानवीय, पाशविक र अवैज्ञानिक छ । फरक यौनिक आकर्षण हुने बित्तिकै उसका सबै प्रतिभा, गुण, क्षमता, सीप समाप्त हुँदैनन् । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने पनि अहिले थुप्रै शिक्षित, क्षमतावान्, प्रतिभाशाली व्यक्तिहरु यस समुदायभित्र रहेका छन् । तिनीहरुको योग्यता र क्षमतालाई ससम्मान उपयोग गर्ने कुरामा राज्य र समाज चुकेको छ । नेपालमा दलित, महिला, आदिवासी जनजाति, मधेसी, थारु आदिका विभेदका अनेकन् आख्यान बने । कथा कहानी तयार भए । समुदायका अधिकारका लागि आन्दोलन र संघर्ष पनि भए । आन्दोलन, संघर्ष र अभियानको परिणामस्वरुप ती जाति, वर्ग र समुदायका हितमा संविधान, कानुन र नीति नियम बनाइए । आन्दोलनका बलमा थुप्रै उपलब्धि हासिल भए । राज्यका सबै निकायमा ती समुदायको निश्चित आरक्षण सहितको कानुनी व्यवस्था समेत गरियो ।

नेपालको सबैभन्दा ठूलो सामुदायिक उत्पीडनको रुपमा रहेको महिला उत्पीडन र दोस्रो ठूलो उत्पीडनका रुपमा रहेको दलित उत्पीडनमा ठूलो सुधार आयो । तर सामुदायिक उत्पीडनको एउटा पक्ष यौनिक अल्पसंख्यकको अधिकारका आवाज मूल रुपमा सम्बोधन भएनन् । सबैभन्दा बढी बहस गरिनुपर्ने विषयका रुपमा रहेको यो विषयलाई कुनै महत्व दिइएन । यो समुदाय समयमै संगठित हुन नसक्दा राज्यले सुनेन । यिनका पीडालाई अपनत्व बोध गरेन । के आज यौनिक अल्पसंख्यक उत्पीडनमा छैनन् ? के यिनीहरुका विषय राज्य र समाजले सम्बोधन गर्नुपर्ने विषय होइनन् ? निश्चय पनि उनीहरु हाम्रै समाजका सदस्य हुन् । हाम्रो जस्तै गास, बास, कपास, यौन उनीहरुको पनि आवश्यकता हो । हामीलाई सम्मान चाहिन्छ भने उनीहरुलाई पनि सम्मान चाहिन्छ भन्ने बोध हुनु आवश्यक छ । समाज, हाम्रै सामाजिक मनोविज्ञान, सामाजिक संरचनाकै कारण तेस्रो लिंगी आत्महत्याको बाटोसम्म जानुपर्ने स्थितिलाई हामीले गम्भीरतापूर्वक लिनैपर्छ ।

यो यसबाट प्रत्येक नागरिकले सम्मानपूर्वक जीवन जिउन पाउनुपर्ने संवैधानिक व्यवस्थालाई समेत उपेक्षा भएको छ । प्रकृतिले दिएका सबै भिन्नता वा फरकपनलाई सम्मान गर्ने र सबैलाई समेटेर जाने उदार सोचले मात्र सामाजिक न्याय र समतामूलक समाजको निर्माण सम्भव हुन्छ । हजारौ वर्षदेखिको उत्पीडन र विभेद एकाएक चटकेको सर्कसजस्तो हटिहाल्ने विषय भने पक्कै होइन । यसले एउटा निश्चित समय र युग चेतनाको एउटा विशिष्ट कोर्स लिएकै हुन्छ । महिला राष्ट्रपति, महिला सभामुख हुँदैमा पूर्ण सामाजिक न्याय स्थापित भइसक्यो भन्ने खालको विश्लेषण गर्नु आफैमा भ्रम हो । परिधिमा रहेका सबै सीमान्तकृत वर्ग, समुदायलाई मूल प्रवाहमा नसमेट्दासम्म र सीमान्तकृत वर्गले पूर्ण सम्मान र अपनत्वको अनुभूति नगर्दासम्म सामाजिक न्याय र समताका नारा गफमै सीमित भइरहन्छन् । यौनिक अल्पसंख्यकलाई राज्यले अवसरको सिर्जना नगर्दासम्म समाजवाद उन्मुख संमृद्धिको सपना फगत सपनामात्र हुनेछ ।

समाधान
यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारका सन्दर्भमा हामी अझै परम्परागत ‘माइन्डसेट’ बाट बाहिर आउन सकिरहेका छैनौं । यो समुदायप्रति समाजमा थुप्रै भ्रम, अन्धविश्वास र गलत सोच विद्यमान छन् । एकदमै शिक्षित भनिएका मानिसमा समेत उनीहरुप्रति अनेकौं मिथ्या सोच पाइन्छ । उनीहरुलाई मान्छे कै रुपमा स्वीकार गर्न समेत नसक्ने संकीर्ण बुझाई र पछौटे चेतनामा रमाउने शैलीले हामीलाई मानव बन्न दिने छैन । विविधता, समावेशी र सहभागितामूलक लोकतन्त्रको जति गीत गाए पनि वास्तविकतामा हामी असाध्यै असहिष्णु, अमानव र एकतन्त्रीय चरित्रका बनिरहेका त छैनौं ? बलियो र मूलधारको त त्यसै बलियो हुन्छ, कमजोरलाई उठाउन सकेमात्र त्यो महानता हो । आजको २१ औं शताब्दीको भुमण्डलीय विश्व चेतना बोकेको मानव जातिकै लागि पनि यो विषय शोभनीय हुनै सक्दैन । हुनतः यौनिक तथा लैंगिक अल्पसंख्यकको समस्या विश्वव्यापी समस्या हो । तापनि हामीले नेपालबाट यौनिक तथा लैंगिक विभेदको व्यावहारिक रूपमै अन्त्य भएको शिक्षा र सन्देश बाँकी विश्वलाई दिन सक्दैनौ र ? गौतम बुद्धले नेपालबाटै अहिंसा र शान्तिको सन्देश विश्वलाई दिएका होइनन् र ?

अवसर पाएमा यौनिक अल्पसंख्यकले अन्यले जस्तै सबै काम गर्न सक्छन् भन्ने तथ्यलाई थुप्रै आधारमा प्रमाणित गर्न सकिन्छ । विश्वकै प्रथम महिला समलिंगीका रूपमा आइसल्यान्डकी प्रधानमन्त्री जोहोना सिगुरडडोटर, विश्वविख्यात टेनिस खेलाडी महिला समलिंगी मार्टिना नोभ्रातिलोमा, चर्चित कार्यक्रम प्रस्तोता लेस्बियन ऐलेन डी जेनेस लगायतका यौनिक अल्पसंख्यकले आफ्नो सक्षमता प्रमाणित गरेर दुनियाँलाई देखाएका छन् । नेपालमा पनि संविधानसभा सदस्य सुनिलबाबु पन्त, अधिकारकर्मी भूमिका श्रेष्ठ, पिंकी गुरुङ, सिमरन शेरचन लगायत थुप्रै व्यक्ति यौनिक अल्पसंख्यकको अधिकारका पक्षमा निरन्तर लडिरहेका छन् ।

यौनिक अल्पसंख्यकप्रतिको समाजको नकारात्मक दृष्टिकोण परिवर्तन गर्न सचेतनामूलक कार्यक्रम व्यापक रुपमा तल्लो तहसम्म प्रभावकारी रुपमा लैजानुपर्छ । विद्यालयको पाठ्यक्रममा यसलाई महत्त्वका साथ समावेश गर्नुपर्छ । यौनिक अल्पसंख्यकको शिक्षा, स्वास्थ्य र रोजगारको लागि राज्यले विशेष कदम चाल्नुपर्छ । उनीहरुलाई बुलिङ गर्ने, हेप्ने, अपमान गर्ने तथा हिंसात्मक गतिविधि गर्नेलाई कडा कारबाही गर्नुपर्छ । शिक्षा र चेतनामा परिवर्तन नआएसम्म यौनिक अल्पसंख्यकका सम्बन्धमा मानिसमा भएको परम्परावादी अन्धविश्वासमा आधारित रुढिवादी चेतनामा परिवर्तन ल्याउन नसकिने हुनाले सबै कार्यक्रमको मूल कार्यक्रम चेतनामा आधारित हुनुपर्छ ।

सरकारी सेवामा निश्चित आरक्षणको व्यवस्था गरिनुपर्छ । समलिंगी विवाहलाई वैधानिक र व्यावहारिक दृष्टिमा स्वीकार्नुपर्छ । यौनिक अल्पसंख्यकको एउटा छुट्टै आयोग बनाउनुपर्छ । उनीहरुलाई सीपमूलक तालिम मार्फत् आयआर्जनमा जोड्ने वातावरण बनाउनुपर्छ । यौनिक अल्पसंख्यकको हकहितका लागि संविधानको अधीनमा रही एउटा छुट्टै ऐनको व्यवस्था गर्नुपर्छ । उनीहरुलाई राज्यभित्र ‘यो मेरो पनि देश हो’ ‘म पनि यो देशको एउटा नागरिक हुँ’ भन्ने अपनत्व र स्वामित्व अनुभूति हुने किसिमको वातावरण राज्यले निर्माण गर्ने प्रयत्न गर्नुपर्छ अन्यथा समावेशी लोकतन्त्र हात्तीको देखाउने दाँतमात्र हुनेछ ।

तपाईको प्रतिक्रिया