कोरोनाका नाममा कालोबजारीः २ सय पर्ने मास्कलाई ४ सय ५०

समाधान संवाददाता २०७६ फागुन २३ गते १२:१४

पोखरामा मास्कको कृत्रिम अभाव भएको भन्ने गुनासोको आधारमा अनुगमनमा खटिएको सरकारी टोली । तस्बिरः ईश्वर देवकोटा÷समाधान

ईश्वर देवकोटा
पोखरा

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जोगिन सावधानी पूर्वक प्रयोग गरिदै आएको सर्जिकल फेस मास्कको पोखरामा कृत्रिम अभाव सिर्जना गराई औषधी पसलेले कालोबजारी सुरु गरेका छन् । चल्तीको बजार भाउभन्दा झन्डैं २ सय प्रतिशत बढी नाफा राखेर बेच्ने गरेको पाइएको छ । प्रदेश बजार अनुगमन समितिमा सम्मिलित टोलीले बिहीबार पोखराका मुख्य ठाउँहरुमा गरेको अनुगमनमा अधिकांश औषधी पसलमा खुद्रा रुपमा मास्कको बिक्री गरेका छैनन भने, मौज्दात (स्टक) भएका व्यवसायीले सामान्य मूल्य भन्दा दोब्बर तेब्बरसम्म मूल्य असुल्ने गरेको भेटाएको छ ।

Advertisement

महेन्द्रपुलस्थित स्याङ्जा औषधी पसलले एन ९५ अंकित सुरक्षित मास्क ४ सय ५० रुपैयाँसम्ममा बेच्ने गरेको सरकारी टोलीले सप्रमाण फेला पारेको हो । विश्वभर फैलिइरहेको कोरोना भाइरस संक्रमणको समयमा व्यवसायीले अन्य समयमा भन्दा एउटै मास्कमा झन्डैं २ सय ५० रुपैयाँ बढी लिएका हुन् । उक्त पसलका सञ्चालक केदार पोखरेलले भने यस समयमा आफ्नो खरिद मूल्य नै बढी परेको दाबी गरे पनि अनुगमन टोलीलाई खरिद बिल देखाउन सकेनन् । उक्त पसललाई प्रहरीको सहयोगमा तत्कालै बन्द गराई जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन टोलीले निर्देशन दिएको छ । उक्त पसलबाट ३ प्याकेट मास्क समेत नियन्त्रणमा लिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हस्पिटलचोकका औषधी पसलमा टोलीले गरेको अनुगमनका क्रममा सर्जिकल मास्कको मूल्य बढाएर बेच्ने गण्डक परी फार्मेसीलाई पनि कारबाही गरेको छ । उक्त फार्मेसीले अधिकतम १० रुपैयाँसम्म लिन मिल्ने सर्जिकल मास्कलाई ३० रुपैयाँसम्ममा बेच्ने गरेको खुलेपछि टोलीले सटर बन्द गराएको थियो । पसलमा भएका मास्क नियन्त्रणमा लिई प्रशासनमा हाजिर हुन टोलीले निर्देशन दिएको छ । सोही ठाउँको निर्देश फर्मा औषधी पसलले पनि उपभोक्ताले माग्दा नदिने तर पसलमा राखिएको मास्क कालोबजारी हुन सक्ने शंका सहित टोलीले नियन्त्रणमा लिइ प्रशासनमा हाजिर हुन टोलीले निर्देशन दिएको छ ।

Advertisement

सामाजिक विकास मन्त्रालयको समन्वयमा स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, जिल्ला प्रशासन कार्यालय कास्की, उपभोक्ता मञ्च गण्डकीका प्रतिनिधि बजार अनुगमनमा खटिएका थिए । टोलीले पोखराको हस्पिटल चोक, महेन्द्रपुल, मालेपाटन, लेकसाइड, गैह्रापाटन गरी झन्डै २ दर्जन औषधी पसलमा अनुगमन छड्के जाँच गरेको हो । तीमध्ये अधिकांश पसलमा सर्जिकल मास्क सकिसकेको मौखिक जानकारी गराएका थिए । मालेपाटनको आतिश मेडिको फर्माले पनि सर्जिकल मास्कको २० रुपैयाँ लिने गरेका पाइएपछि २ प्याकेज मास्क नियन्त्रणमा लिइ कारबाही अघि बढाइएको छ । सर्जिकल मास्क डिस्पोजेबल भएका कारण पनि बजारमा अधिकतम माग छ । सोही कारण पनि व्यापारीले फैलँदो त्रासलाई अवसरको रुपमा लिँदै मनोमानी व्यापार गर्दै आएका छन् ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीका निर्देशक गोकुल शर्मा पौडेलले कोरोना भाइरस संक्रमण फैलिइरहेको सन्दर्भमा मास्क लगायत औषधीहरुको कालोबजारी भइरहेको गुनासोको आधारमा संयुक्त टोली अनुगमनमा खटिएको बताए । ‘प्रदेश बजार अनुगमन समितिले खानेपानी, खाद्य तथा मासुजन्य वस्तुको अुनगमन क्रममा थियो । यहीँबेला मास्क लगायत औषधी बजारमा अभाव भएको गुनासो आएपछि अनुगमन जुटेका हौं,’ उनले भने, ‘अनुगमनमा निस्कने क्रममा मूल्य बढाएर बेचेको र बिल समेत नदिएको पसललाई कारबाही थालेका छौं ।’ मास्क मात्र नभई अन्य औषधी पनि स्टकमा राखेर उपभोक्तालाई नदिने गरेको पाइए कारबाही तत्काल कारबाही थालिने निर्देशक पौडेलले बताए । उनले भने, ‘उपभोक्ता सचेत भएर कुन वस्तुको मूल्य कति हो भन्ने कुरामा स्पष्ट हुनुपर्दछ । मूल्य बढी लिएमा गुनासो गरिहाल्न अनुरोध गर्दछौं ।’ पसलमा ६०÷७० वटासम्म मास्क राखेर उपभोक्तालाई नदिने पसललाई समेत कारबाहीको दायरामा ल्याइने उनले जानकारी दिए ।

व्यापारीकै कारण बजारमा अत्यावश्यक मास्कको कृत्रिम अभाव भइरहेको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले सुनाए । ‘बजारमा मास्कको उपलब्धता कम देखियो तर जतिमा उपलब्ध छन् त्यसमा कालोबजारी नै भइरहेको देखियो,’ उनले भने, ‘मूल्यदर भन्दा बढाएर बिक्री गर्न पाइदैन । यदि खरिद नै महँगो परेको हो भने बिल देखाउनुपर्छ ।’

खरिद बिल नदेखाउने र उपभोक्तालाई बिक्री बिल पनि नदिने व्यवसायीलाई कारबाही हुने अध्यक्ष कोइरालाले बताए । संकटको बेला मानवीयता भुलेर व्यापारीले नाफा मात्र हेर्नु उचित नभएको उनको भनाइ छ । अझ सशक्त भई खाद्यजन्य वस्तुको पनि यसै समयमा सहज उपलब्धता र मूल्यलाई अनुगमन मार्फत उच्च निगरानी गरिने कोइरालाले जानकारी दिए । स्वास्थ्य सम्बन्धी अनुगमनलाई गम्भीरतापूर्वक लिएर अघि बढ्ने उनले सुनाए । ‘कोरोना भाइरस संक्रमण बढेको बेला मास्कमा मात्र नभइ ग्लोप्स् लगायतका अन्य औषधीजन्य सामग्रीमा कालोबजारी भए÷नभएको कडा रुपमा अनुगमन हुन्छ,’ उनले भने ।

के हुन्छ सजाय ?
बजारमा सहज रुपमा उपलब्ध हुनुपर्ने वस्तुको कृत्रिम अभाव गराई वा तोकिएको मूल्य भन्दा बढी रकम लिइ बिक्री गरेमा कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारबाही हुनेछ । ऐनले कालोबजारी गर्नेलाई १ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख गरेको छ । गण्डकी प्रदेशमा त्यससम्बन्धी कानुन नबनेकाले संघीय ऐनलाई नै आधार मानेर जिल्ला प्रशासन कार्यालय कास्की मार्फत मुद्दा चलाइने भएको छ ।

सरकारले तोकेको मूल्यमा कुनैपनि वस्तुको २० प्रतिशतभन्दा बढी नाफा लिइ बिक्री गरेमा ऐनको ‘नाफाखोरी’ महल अन्तर्गत १ वर्ष कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । सिडिओको अध्यक्षतामा बस्ने उपभोक्ता इजलासले मुद्दाको प्रकृतिअनुसार कारबाही तोक्ने छ । बुधबार मात्रै मास्कको कालोबजारी गर्ने काठमाडौं क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना तिराएको थियो ।

तपाईको प्रतिक्रिया