पानीको मूल्य घटाउन उद्योगी वाधक

समाधान संवाददाता २०७६ फागुन २३ गते १२:१५

अनुप पौडेल
पोखरा

गण्डकी प्रदेश सरकारले बजार अनुगमन नियमावली २०७६ पारित गरेर गएको असोज ९ गते राजपत्रमा प्रकाशित गर्‍यो । नियमावली पारित भएपछि बनेको प्रदेश बजार अनुगमन समितिले पानीको मूल्य समायोजनको काम थाल्यो । मूल्य समायोजनका विषयमा २ पटक छलफल गरेपछि नेपाल बोटल वाटर उद्योग संघको प्रदेश कमिटी र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीबीच पिउने पानीको मूल्य घटाउने सहमति भएको थियो ।

नयाँ मूल्य कार्यान्वयनमा आएको भए बोतलको पानी १६ रुपैयाँ र जारको ५० रुपैयाँ पर्ने थियो । तर मंसिर २० गतेदेखि लागु गर्ने भनिएको मूल्य अझै कार्यान्वयनमा आउन सकेको छैन । बोतलको पानीमा ९ र जारको पानीमा १० रुपैयाँ घटाउने भनिए पनि पुरानै मूल्यमा किनबेच भइरहेको छ । अहिले बोतलको पानीको मूल्य २५ रुपैयाँ र जारको पानीको मूल्य ६० रुपैयाँ छ ।

Advertisement

किन कार्यान्वयन हुन सकेन नयाँ मूल्य ?
पानीको मूल्य समायोजनको विषयमा बोटल वाटर उद्योग संघमा आवद्ध सबै उद्योगीले सहमति जनाएका थिए । संघका प्रथम उपाध्यक्ष लेखबहादुर प्रधानले नयाँ मूल्य लागु गर्न तयार रहेको भन्दै निर्देशनालयलाई चिठी पठाए ।

संघमा हाल ३३ वटा उद्योग आवद्ध छन् । संघमै आवद्ध केही उद्योगी प्रधानले पठाएको पत्रपछि नयाँ मूल्य कार्यान्वयन गर्न तयार भए भने केही भएनन् । केही उद्योगले नयाँ मूल्य प्रिन्ट भएको बोतल मंसिर २० मा बजारमा पठाए । तर, संघमा आवद्ध नभएकाले पुरानै मूल्य प्रिन्ट गरेर पठाए । मूल्य समायोजन गर्न सहमति जनाएका उद्योग पनि पछि हटे । पछि पुरानै मूल्यमा पानी किनबेच हुन थाल्यो ।

Advertisement

हाल उत्पादन लागत बढिरहेको र त्यसलाई मध्यनजर गरेर पानीको मूल्य पुनः समायोजन गर्ने तयारी भइरहेको नेपाल बोटल वाटर उद्योग संघ गण्डकीका अध्यक्ष रवीन्द्रमोहन अधिकारीले जानकारी दिए । उनले भने, ‘त्यो बेला उत्पादन लागत अनुसार मूल्य समायोजनको सहमति गरेका थियौं । तर अहिले पुनः मूल्य समायोजन गर्न सरोकारवालासँग छलफल जारी छ ।’

उद्योगमा गरिएको लगानीका आधारमा लागत मूल्य घटबढ हुनु स्वाभाविक भएको उनले बताए । ‘सबै उद्योगमा एउटै प्रकारको लगानी छैन । कसैले विदेशबाट राम्रै प्रकारको मेसिन ल्याएर उद्योग सञ्चालन गरेका छन् । कसैले साधारण मेसिन पनि प्रयोग गरेका छन्,’ अध्यक्ष अधिकारीले भने, ‘बोतल सफा गर्नेदेखि बिर्को लगाउने सबै काममा जसले उच्च प्रविधिको प्रयोग गरेको छ, उसले घाटा व्यहोरेर बजारमा उत्पादन पु¥याउन सक्दैन ।’

स्वदेशी पानीको मूल्य कम र विदेशबाट आयात हुने पानीको मूल्य बढी हुँदा कार्यान्वयनमा समस्या भएको अर्का उद्योगी यदुनाथ अधिकारी बताउँछन् । ‘मूल्य कम भएको वस्तुको गुणस्तर राम्रो हँुदैन भन्ने आम उपभोक्ताको बुझाइ छ,’ अधिकारीले भने, ‘हामीले १६ रुपैयाँमा बेच्यौं भने पानीको गुणस्तरमाथि प्रश्न उठ्न सक्छ ।’ बजारमा गुणस्तरीय पानी ल्याउने उद्योगले नयाँ मूल्य लागु गर्ने हो भने त्यसमा आफू पनि तयार रहेको उनले बताए ।

अत्यावश्कीय वस्तुभित्र पर्ने पानीमा पनि सरकारले भ्याट लगाउँदै आएको छ । पानी उद्योगीले भने अत्यावश्कीय वस्तु पानीमा भ्याट नलगाउन माग गरेका छन् । पानीलाई भ्याटमुक्त बनाउन सरकारसँग छलफल भइरहेको नेपाल बोटल वाटर उद्योग संघ गण्डकीका सदस्य रामचन्द्र गिरीले जानकारी दिए ।

मूल्य समायोजनका विषयमा छलफल हँदैछः अनुगमन समिति
उद्योगीले मूल्य समायोजनको माग गरिरहँदा अनुगमन समिति भने सकेसम्म मंसिरदेखि लागु गर्ने भनिएको मूल्य कार्यान्वयन गर्ने मनस्थितिमा देखिन्छ । प्रदेश बजार अनुगमन समितिका सदस्य सचिव भरतमणि बरालका अनुसार मूल्य समायोजन गर्ने वा पुरानै मूल्य लागु गर्ने भन्ने विषयमा उद्योग मन्त्रालयसँग छलफल भइरहेको छ । ‘पहिले नयाँ मूल्य लागु गर्ने सहमति भएको थियो तर अहिले उद्योगीले त्यसलाई समायोजन गर्न माग गर्नुभएको छ,’ सदस्य सचिव बरालले भने, ‘यस विषयमा उद्योग मन्त्रीसँग छलफल गरिरहेका छौं । १÷२ दिनमा टुंगोमा पुग्छौं ।’

उद्योगीले खुद्रा व्यापारीसँग सिधा सम्पर्क बनाउन नसक्नु पानीको मूल्य बढ्नुको मुख्य कारण भएको प्रदेश बजार अनुगमन समितिका सदस्यसमेत रहेका उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला बताउँछन् । ‘उत्पादन भएपछि सिधै खुद्रा बिक्रेतामार्फत उपभोक्तासम्म पुग्ने भए मूल्य धेरै कम हुन्थ्यो,’ उनी भन्छन्, ‘उत्पादक र बिक्रेताबीचको दुरीले मूल्य बढी भएको हो ।’

१ लिटरको बोतललाई २० रुपैयाँ तोकिए पनि उपभोक्ताले ३० रुपैयाँसम्म तिर्ने गरेका छन् । नेपाल बोटल वाटर संघका गण्डकी अध्यक्ष रवीन्द्रमोहन अधिकारीका अनुसार १ बोतल पानी उत्पादन गर्दा उद्योगीको लागत साढे १२ रुपैयाँ पर्छ । उद्योगीले बोतलको पानीलाई प्रतिकार्टुन १ सय ३० देखि १ सय ५० रुपैयाँसम्ममा दिने गरेका छन् । १ कार्टुनमा १२ बोतल हुन्छ । उद्योगीले धेरैमा प्रतिबोतल १५ रुपैयाँमा त्यसलाई बिक्री गर्छन् । जारको पानीको उत्पादन खर्च २० देखि २५ रुपैयाँसम्म पर्छ । उद्योगीले धेरैमा ३५ रुपैयाँसम्म बिक्री गर्छन् । त्यही पानी उपभोक्ताकहाँ पुग्दा ६५ रुपैयाँसम्म पर्छ ।

गण्डकी प्रदेशभर हाल ५५ भन्दा बढी पानी उद्योग छन् । त्यसमध्ये कास्कीमा मात्र करिब ४० वटा उद्योग सञ्चालनमा छन् । गण्डकी प्रदेशका पानी उद्योगमा डेढ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको उद्योगी बताउँछन् । प्रदेशभर सञ्चालित पानी उद्योगबाट ३ हजार जनाले रोजगारी पाएका छन् ।

तपाईको प्रतिक्रिया