वालिङका महिलाले सिके सिलाइकटाइ सीप

समाधान संवाददाता २०७६ फागुन २३ गते १२:४१

समाधान संवाददाता
वालिङ

वालिङ १४ गैह्रा टोलका महिलाले सिलाइकटाइ सीप सिकेका छन् । सहकारीमार्फत् पहिलो चरणको दिगो विकास कार्यक्रम अन्तर्गत युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

वालिङ नगरपालिका १४ गैह्राटोल दलित बस्ती हो । यहाँका ३२ घरधुरीका दलित महिलालाई सहकारीमार्फत व्यावसायिक सीप सिकाउन अघि सारिएको छ । सहकारी भवनमा कपडा उद्योग जस्तो देखिने दृश्य गाउँका ३२ जना महिलाले कलको आवाजमा कपडा सिउने दृश्यले यी समुदायमा व्यावसायिक बन्ने इच्छाशक्ति स्पष्ट झल्किन्छ ।

Advertisement

तालिमपछि आफ्नै खुट्टामा उभिन सक्ने विश्वासका साथ महिलाहरु उत्साहित भएको छन् । तालिममा सहभागी शोभा परियार भन्छिन्, ‘यो तालिमले आफ्नै व्यवसाय सुरु गर्ने ऊर्जा थपेको छ ।’ सीप तालिम कृषि तथा उद्यम विकासद्वारा आर्थिक सशक्तीकरण परियोजना अन्तर्गत गत फागुन २ देखि तालिम सञ्चालन गरिएको परियोजना प्रमुख राधाकृष्ण डुम्रे बताउँछन् । उनी भन्छन्, ‘हामीले आवश्यक सामग्रीमात्र होइन उत्पादन भएका वस्तुको बजार व्यवस्थापन समेत गरेका छौं । यसले सहभागीलाई थप हौसला थपेको छ ।’

परियोजना अन्तर्गत तरकारी, पशुपालन, हस्तकला र सीपमूलक तालिम लगायत ३६ विषयमा १८ सयभन्दा बढीलाई तालिम दिएको प्रमुख डुम्रेले बताए । पहिलो चरणको दिगो विकासकार्यक्रम चैत मसान्तमा सकिनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया