‘तारो हान्ने सांस्कृतिक खेल ’

समाधान संवाददाता २०७६ फागुन २३ गते १२:५३

एसके थकाली
जोमसोम

मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम भएको छ । फागुपूर्णिमा अर्थात थकालीहरुको महान पर्व तोरन्ल आउन १साता बाँकी हुँदा वारागुङ मुक्तिक्षेत्र ५ फल्याक गाउँमा सांस्कृतिक कार्यक्रम भएको हो । हरेक वर्ष फागुन महिनाको दास्रो सातातिर यहाँ तारो हान्ने खेल हुन्छ ।

यस खेललाई स्थानीय भाषामा धज्याङ भन्ने गरिन्छ । युवाहरुबीच आपसमा रमाइलो गर्ने मीठो खाने, राम्रो लाउने र एकआपसमा आत्मीयता जोड्न तारो हान्ने खेल आयोजना हुने गरेको वडा ५ का अध्यक्ष राप्के गुरुङले बताए ।

Advertisement

तारो खेलमा १ गाउँले आयोजना गरे पनि आसपासका गाउँका युवा पनि सहभागी हुने उनको भनाइ छ । एकआपसमा २ देखि ५ जनाको समूह बनाएर तारो हान्ने खेल हुन्छ । तारो खेलमा दायाँबायाँ काठको मुड्का राखिन्छ र ५० मिटर परबाट तीर हानिन्छ । काठको मुड्को बीचमा सानो फलामको पाताले घेरिएको गोलाकार रिङ राखिन्छ, यसलाई खोल भनिन्छ । खोलमा तीर परे हान्ने व्यक्तिलाई अरु विपक्ष खेलाडीले पैसा दिने नियम हुन्छ । काठमा परेको तीरको गणना गरी समूह बिजेता घोषणा गरिन्छ । तल्लो क्षेत्रका थकालीले तोरन्लको समयमा तारो खेल्छन् । तारो हान्ने खेल हिमाली क्षेत्रको मौलिक संस्कृति भएको वडाध्यक्ष गुरुङले बताए ।

विशेष गरी मुस्ताङमा यार्तुङ पर्व र तीजी पर्वमा मौलिक संस्कृतिका कार्यक्रम हुने गरेको पाइएको छ । वारागुङको फल्याकमा भएको धज्याङ खेलका अवसरमा स्थानीयले मौलिक संस्कृति पस्किएका छन् । उनीहरुले सदियांैदेखिको मौलिक भाषा, संस्कृति र मौलिकतालाई तारो खेलसँग जोडे । वारागुङको फल्याक समाजघरमा जम्मा भएका उनीहरुले गुरुङ समुदायको मौलिक भाषाको गीत गाउँदै तारो हान्ने खेलाडीलाई ऊर्जा भरे । तारो हान्ने खेल शक्रबार सकिने छ । तारो हान्ने सांस्कृतिक खेलमा सहभागी गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले धार्मिक तथा सांस्कृतिक सभ्यता संरक्षणमा पालिका लागिपरेको सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया