काम गरेर बित्छ नारी दिवस

समाधान संवाददाता २०७६ फागुन २५ गते १२:२४

सुमन थापामगर
पोखरा

सपना तामाङ पोखरामा निर्माण भइरहेको १ घरमा धमाधम माटो सम्याउने काम गरिरहेकी थिइन् । उनलाई काम गर्दा गर्दै आफ्नै लागिसमेत फुर्सद हुँदैन । हेटाैंडाकी तामाङले केही वर्ष भयो पोखरामा आएर घर निर्माण काममा मजदुरी गर्न थालेको । कहिलेकाहीँ बिदा बस्दाबाहेक उनको दिन यसरी नै ढुंगा–माटो तथा बालुवासँग बित्छ ।

सपनाका श्रीमान् वैदेशिक रोजगारीमा छन् । कमाइ राम्रै भइरहेको छ । श्रीमानले विदेशबाट पठाएको पैसा बचाउँछिन् सपना । यहाँ आफैंले काम गरेर खर्च जुटाइरहेकी छिन् । आइतबार अर्थात ८ मार्चको दिन अन्तर्राष्ट्रिय नारी दिवस हो भन्ने त उनलाई थाहा रहेछ । तर त्यसमा खासै वास्ता लाग्दैन सपनालाई । ‘नारी दिवस भन्ने त सुनेको छु नि, तर हामीलाई त्यसको केही मतलब हुन्न,’ उनले हाँस्दै भनिन्, ‘हामी जस्तालाई जसरी पनि काम गर्नै पर्छ, १ दिन नारी दिवस मनाएर के गर्नु ? हाम्रो समस्या जहाँको त्यही हुन्छ ।’

Advertisement

कामलाई सानो–ठूलो भन्न नहुने सपनाको बुझाइ छ । ‘यहाँ हामीलाई धेरैले मजदुरी गरेको भनेर त्यस्तै व्यवहार गर्छन्,’ उनी भन्छिन्, ‘काम गरेर खान के को लाज ? काम सानो ठूलो भन्ने हुँदैन । कसैको चोरेको छैन ।’ यसरी काम गर्न आउँदा महिला भनेर धेरै हेपाइमा परेको उनको गुनासो छ । महिलाले पनि अवसर पाए पुरुषले भन्दा राम्रो काम गर्न सक्ने सपना बताउँछिन् ।

‘नारी दिवसमा मात्र महिला अधिकार तथा उनीहरुका लागि सम्मान खोज्दैमा केही हुने होइन,’ उनी भन्छिन्, ‘नारीलाई साँच्चै नै सम्मान दिलाउने हो भने हाम्रो जस्तो पुरुष प्रधान राष्ट्रमा महिलालाई गरिने दोस्रो दर्जाको व्यवहारको अन्त्य हुनुपर्छ ।’

Advertisement

फूलबारीमा केही वर्षदेखि सानो रेस्टुरेन्ट तथा मासु पसल सञ्चालन गरेकी दिलमाया थापामगरको दिन बिहानबाट रातिसम्म त्यही रेस्टुरेन्ट तथा मासु पसलमा नै बित्छ । उनका हातले मम, चाउमिन लगायत पोखरामा रुचाइने खाजा बनाउन माहिर छन् । त्यही खाजाघर तथा मासु पसलमा बिहानबाट भीड लाग्छ । उनलाई अन्य विषयमा चासो लिने फुर्सद छैन । किनकि यही व्यवसायबाट उनले आफ्नो परिवारको जिम्मेवारी उठाएकी छिन् । श्रीमान्÷श्रीमती मिलेर उनीहरुले यो व्यवसाय धानेका छन् । ‘नारी दिवस भन्ने सुनेको त हो, तर खासै जानकारी नै छैन,’ मगर लवजमा उनले भनिन्, ‘हामी जस्तोलाई के को नारी दिवस, काम नगरी परिवार तथा सन्तानलाई राम्रो भविष्य दिन सकिँदैन त्यही भएर मलाई वास्ता हुन्न ।’

अन्तर्राष्ट्रिय नारी दिवस भन्दैमा आफूले पसल बन्द गरे खान नै नपाइने अवस्थामा पुगिन्छ कि भन्ने उनको पीर हुन्छ । दसैं तथा तिहारमा केही समयका लागि उनको पसल बन्द हुन्छ । उनी भन्छिन्, ‘महिलालाई अधिकार नै दिलाउने हो भने उनीहरुमा सचेतना फैलाएर आत्मनिर्भर बनाउन सक्नुपर्छ, वास्तविक महिलाको समस्या कार्यक्रम गर्दै हिँड्नेलाई होइन, काम गरेर खानेलाई थाहा हुन्छ ।’

फूलबारीमै फलफूल पसल तथा पार्लर सञ्चालन गरेर बसिरहेकी प्रतीक्षा केसीलाई अन्तर्राष्ट्रिय नारी दिवसको बारेमा राम्रारी थाहा छ । उनलाई पनि आफ्नै पसल तथा पार्लरमा नै दिन बिताउनुपर्छ । कारण, पोखरामा उनीसहित परिवारलाई यही व्यवसायले धान्नुपर्ने हुन्छ । उनका श्रीमानले पोखरामा ट्याक्सी चलाउँछन् । तर पोखराको महँगीले उनलाई बसेर खान दिँदैन । हुन त काम गरेपछि उनी आत्मनिर्भर बनेकी छिन् । हरेक कुराका लागि श्रीमानको कमाइमा भर पर्नुपरेको छैन । धेरैथोरै आफैंले कमाइ गर्छिन् । ‘बजारमा हरेक कुरा किनेर खानुपर्छ, त्यही पनि त्यस्तो महँगी छ । काम नगरेर के गर्नु ?’ उनी भन्छिन्, ‘नारी दिवस भन्दैमा कार्यक्रम तथा र्‍यालीमा गएर दिन बिताउन सकिन्न । फुर्सद पनि हुँदैन ।’

तपाईको प्रतिक्रिया