टिक्ने उपाय खोज्दै होटल व्यवसायी

समाधान संवाददाता २०७६ फागुन २५ गते १३:४२

समाधान संवाददाता
पोखरा

विश्वभर आतंक फैलाएको कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा उत्पन्न संकट विरुद्ध पश्चिमाञ्चल होटल संघ पोखराले मानव स्वास्थ्य र खाद्य स्वच्छतामा जोड दिन सदस्य होटललाई आग्रह गरेको छ । कोरोना भाइरसका कारण पर्यटन तथा होटल व्यवसायमा परेको प्रभाव र व्यवसायलाई कसरी दिगो बनाउन सकिन्छ भन्ने विषयमा संघले शनिबार आयोजना गरेको भेलामा ४ निर्णय भएका छन् ।

संघ अध्यक्ष विकल तुलाचनले कोरोना विरुद्ध होटल प्रतिष्ठानमा मानव स्वास्थ्य र खानाको स्वच्छता सम्बन्धमा सचेतना फैलाउने विषय पहिलो बुँदामा उल्लेख छ । कर्मचारी, पर्यटक र ग्राहकलाई समेत यस्तो सचेतनामा समेट्नुपर्ने उल्लेख छ । आन्तरिक पर्यटन प्रबद्र्धन गर्न अभियान सञ्चालन गर्ने र यसका लागि मेन्युमा छुट दिने संघले जनाएको छ । होटल क्षेत्रको लगानी सुरक्षित गर्न सरकारसँग विशेष राहत प्याकेज घोषणाका लागि अनुरोध गर्ने विषय पनि समेटिएको छ ।

Advertisement

उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराइने संघले जनाएको छ । अध्यक्ष तुलाचनले कोरोनाबाट उत्पन्न विषम परिस्थितिसँग जुध्न क्राइसिस म्यानेजमेन्ट कमिटी संघले गठन गरेको जानकारी दिए । तुलाचनको संयोजकत्वमा गठित समितिमा होटल संघ नेपालका केन्द्रीय सदस्य विप्लव पौडेल, पश्चिमाञ्चल होटल संघ पोखरा सल्लाहकार परिषद् अध्यक्ष हरि शर्मा गैह्रे, होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली, संघका सल्लाहकार विश्वशंकर पालिखे, संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदी र महासचिव गणेशराज पहारी सदस्य छन् ।

समितिले कोरोनाको असरका कारण पर्यटन क्षेत्रमा परेको नकारात्मक असर विरुद्ध जुध्न रणनीति तय गर्ने, राहत र अन्य सुविधाका लागि नेपाल राष्ट्र बैंक, पर्यटन मन्त्रालय तथा अर्थ मन्त्रालयसँग छलफल र समन्वय गर्ने महासचिव पहारीले बताए । उनले कोरोनाभन्दा विश्वमा अरु रोग र घटनाबाट धेरै मानिसको ज्यान जाने गरेको यथार्थ सबैले मनन गर्नुपर्ने उल्लेख गरे ।

Advertisement

नेपालमा हालसम्म कोरोना नभित्रिएको र यसबाट मानिसको ज्यान पनि नगएको विषयलाई प्रचार र मनन गर्नुपर्ने कार्यक्रममा जोड दिइयो । संघका सदस्यले कोरोनाका कारण व्यवसायलाई टिकाउनै मुस्किल परेको दुःखेसो गरे । होटल बनाउन बैंकसँग लिएको ऋणको ब्याजदर, भाडामा घर लिएर सञ्चालित होटलले भाडा तिर्न परेको समस्याका बारेमा पनि कार्यक्रममा चर्चा भएको छ । कोरोनाबाट जोगिनु अहिलेको अवस्थामा मुख्य विषय भएको, मास्क र हेन्ड सेनिटाइजर अभाव भएको, हात मिलाउनुको सट्टा नमस्ते गर्ने बानी बसाल्नुपर्ने, मिडियाले अनावश्यक त्रास फैलाएको र कर्जामा बैंकले चर्को ब्याज लिंदा समस्या परेको विषयले उनीहरुले उठाए ।

संकट आइपरे पनि चूप लागेर समस्या समाधान नहुने भन्दै अध्यक्ष तुलाचनले पर्यटनलाई जीवित राख्न के कस्ता पहल आवश्यक पर्छन् भन्ने विषयमा सबैले सोच्नुपर्ने औंल्याए । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको डेन्जर जोनमा राखेको स्मरण गर्दै उनले भारतसँग नेपालको खुला सिमाना रहेकाले सचेत हुन आग्रह गरे ।

संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले घरमा अनावश्यक रुपमा सामान थुपार्न बन्द गर्नुपर्ने सुझाव दिए । होटल क्षेत्रमा अहिले २० प्रतिशत अकुपेन्सी पनि नभएको भन्दै उनले अझ विकराल समस्या आउन सक्नेतर्फ तयार हुनुपर्ने सुझाव दिए । संघका सल्लाहकार गोविन्दराज पहारीले पर्यटन क्षेत्रलाई सिक इन्डस्ट्री घोषणा गर्नुपर्ने माग गर्र्दै कोरोना विरुद्ध सरकार थप सचेत हुनुपर्ने भनाइ राखे । संघका सल्लाहकार बच्चुराम तिवारीले कर्मचारीलाई लक्षित गरी सरकारले पेड होलिडेको व्यवस्था गर्नुपर्ने सुझाव दिए । अर्का सल्लाहकार लक्ष्मीबहादुर भट्टराईले कोरोनाका कारण पाहुना आउँदासमेत डराउनुपर्ने अवस्था सिर्जना भएको बताए ।

तपाईको प्रतिक्रिया