डाटा प्रयोगको आधारमा बोनस उपहार

समाधान संवाददाता २०७६ फागुन २५ गते १३:४७

समाधान संवाददाता, काठमाडौं

एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा प्रयोग गर्न पाउने भएका छन् । कम्पनीका अनुसार नयाँ डेटा बोनस योजना सार्वजनिक गरेको छ, जस अन्तर्गत मेन ब्यालेन्स अर्थात पे एज यु गोबाट चलाउँदा लाग्ने २ रुपैयाँ प्रतिएमबी दर ८० प्रतिशतसम्म घट्छ ।

मेन ब्यालेन्सबाटै डेटा सेवा प्रयोग गर्ने र प्याक सुविधा नलिने ग्राहकलाई लक्षित यो अफर आइतबारदेखि कार्यान्वयनमा आउनेछ । यो अफरमा डेटा सेवाका लागि जति मात्रामा मेन ब्यालेन्स खर्च हुँदै जान्छ, डेटा सेवाको शुल्कथप घट्दै जान्छ । ग्राहकले मेन ब्यालेन्सबाट डेटामा खर्च गरेको आधारमा बोनस डेटा दिने कम्पनीले जनाएको छ । ग्राहकले आफ्नो ब्यालेन्सबाट २, ५, १०, २०, ३० वा योभन्दा थप १० रुपैयाँका दरले खर्च गर्दै जाँदा त्यही अनुपातको बोनस पाउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसरी पाउने डेटाको अवधि २ दिनको समयावधि हुनेछ ।

Advertisement

कम्पनीका अनुसार ग्राहकले पे एज यु गो अन्तर्गत पहिलो १० खर्च गरेपछि, प्रत्येक थप १० डेटामा खर्च गरेवापत २०÷२० एमबी बोनस डेटा तत्कालै पाउनेछन् । कम्पनीले ग्राहकले २ रुपैयाँ मेन ब्यालेन्सबाट डेटा खर्च गरेमा तत्कालै २ एमबी डेटा बोनस पाउने जनाएको छ । ग्राहकले ३० रुपैयाँ ब्यालेन्स खर्च गर्छन् भने बोनसको ५७ एमबीसहित कुल करिब ६९ एमबी डेटा पाउने कम्पनीले जनायो । मेन ब्यालेन्सको सय रुपैयाँ डेटामा खर्च गरे मेन ब्यालेन्सबाट पाइने ३९.१६ एमबी र बोनस १९७ एमबीसहित २ सय ३६ एमबी डेटा पाउनेछन् ।

यो अफर आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा सञ्चालन हुने कम्पनीले जनाएको छ । हप्ताभित्र जति मेन ब्यालेन्सबाट पे एज यु गोमार्फत डेटामा खर्च गरेको हिसाबको आधारमा ग्राहकले बोनस पाउने कम्पनीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया