‘गुम्बाका लामालाई हेर्ने दृष्टिकोण फेरिनुपर्छ’

समाधान संवाददाता २०७६ फागुन २५ गते १३:५५

समाधान संवाददाता
पोखरा

नेपाल सरकारले गुम्बा र गुम्बामा बस्ने लामालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन जरुरी रहेको सांसद् इन्द्रधारा बिष्टले बताएका छन् । अझै पनि रातो बस्त्रधारी बौद्ध गुम्बाका लामालाई सरकारले भोट क्षेत्रका लामाको रुपमा हेर्ने गरेको विष्टको भनाइ छ । मुस्ताङ शाक्य बौद्ध संघले आयोजना गरेको मुस्ताङका विद्यालय स्तरीय त्रिभाषा वक्तृत्वकला प्रतियोगितामा सांसद विष्टले आफूले प्रदेश सभा सदस्यको जिम्मेवारी पाएसँगै प्रदेश सरकारलाई यसबारेमा ध्यानाकर्षण गराएकोसमेत बताए ।

आफू प्रदेशसभा सदस्य भएपछि आफ्नो मातहतबाट मुस्ताङका गुम्बालाई बजेट उपलब्ध गराएको भन्दै सांसद विष्टले अहिले उपल्लो मुस्ताङका पुराना गुम्बाको जीर्णोद्धार गर्ने, नयाँ गुम्बा निर्माण गर्ने र छोर्तेन निर्माण तथा संरक्षणमा आफूले पहल गरेको बताए ।

Advertisement

उनले गण्डकी विश्वविद्यालय स्थापना गर्न लागिरहँदा मुस्ताङ, मनाङ र उत्तरी गोरखाको चुमनुब्री भ्यालीमा सञ्चालित गुम्बाबाट उतीर्ण भई उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई समेत विश्वविद्यालयमा अध्ययन गर्ने वातावरण बनाउन लागिपरेको सुनाए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि यसबारे सकारात्मक रहेको विष्टको भनाइ थियो ।

सांसद विष्टले मुस्ताङ शाक्य वौद्ध संघले ४ वर्षदेखि बौद्ध र अन्य विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित त्रिभाषा वक्तृत्वकलाको आयोजना गरी विद्यार्थीलाई सक्षम व्यक्ति बनाउनतर्फ अघि बढाएकोमा प्रशंसा गरे ।

Advertisement

काग छ्योदेन स्कुल सर्वाेत्कृष्ट
मुस्ताङ शाक्य बौद्ध संघले आयोजना गरेको विद्यालय स्तरीय त्रिभाषा वक्तृत्वकला प्रतियोगिता तथा भोट भाषाको हाजिरी जवाफ प्रतियोगितामा मुस्ताङका ७ विद्यालयलाई पछाडि पार्दै कागबेनीको काग छ्योदेन थुप्तेन साम्फेललिङ मोनास्टिक स्कुल सर्वाेत्कृष्ट भएको छ ।

त्रिभाषा वक्तृत्वकला प्रतियोगितातर्फ अंग्रेजी र नेपाली भाषामा दोस्रो तथा भोट भाषाको हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै काग छ्योदेनले सर्वोत्कृष्ट स्थान हासिल गरेको हो । चराङ दोर्जे मोनास्टिक स्कुलले भोट भाषाको वक्तृत्वकलामा दोस्रो र नेपाली भाषाको वक्तृत्वकलामा प्रथम स्थान हासिल गर्दैै दोश्रो हुन सफल भयो भने अंग्रेजी भाषा र भोट भाषाको वक्तृत्वकलामा तेस्रोे स्थान हासिल गर्दै पाल इ वाम नाम्ग्याल स्कुल तेस्रो भयो ।

त्रिभाषा वक्तृत्वकला प्रतियोगिता अन्तर्गत अंगे्रजी भाषातर्फको वक्तृत्वकलामा चराङ लेक्षे छ्योलिङ न्युनरी स्कुलका ङ्वाङ ल्हाजेले प्रथम स्थान हासिल गरे भने काग छ्योदेन थुप्तेन साम्फे लिङ मोनास्टिक स्कुलका सोनाम छिरिङ र पाल इ वाम नाम्ग्याल मोनास्टिक स्कुलका ङ्वाङ छ्योदोनले क्रमश द्वितीय र तृतीय स्भए ।

नेपाली भाषाको वक्तृत्वकलामा चराङ मोनास्टिक स्कुलका सोनाम छोपेल प्रथम, काग छ्योदेन मोनास्टिक स्कुलका टेन्पे ग्यात्सेन द्वितीय र महाकरुणा शाक्यापा विद्यालयका खेन्राब साङ्वो तृतीय भए भने भोट भाषातर्फको वक्तृत्वकलामा महाकरुणा शाक्यापा विद्यालयका तेन्जिङ ल्योदोइ प्रथम, चराङ दोर्जेधन मोनास्टिक स्कुलका नवाङ तेन्जिङ र पाल इ वाम नाम्गोन स्कुलका याग्चेन डोल्कर तृतीय भए ।

भोट भाषाको हाजिरी जवाफ प्रतियोगितामा काग छ्योदेन थुप्तेन साम्फेल लिङ स्कुल प्रथम, हिमालयन बुद्धिस्ट एकेडेमी द्वितयी र लो निफुङ नाम्द्रोल नोरबुलिङ स्कुल तृतीय भए । प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट र राजीव पहारी, रिम्पोछे गुरु, मुस्ताङ शाक्य बौद्ध संघका पदाधिकारी, खेन्पो लामा गुरु लगायतले पुरस्कार वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया