कागको पछि कुद्नुअघि…

समाधान संवाददाता २०७६ फागुन २७ गते १३:३०

कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिँदा नेपाली पनि भयमा छन् । विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिमयुक्त देशमा दर्ज जो गरेको छ । यसै पनि चीन नेपालको छिमेकी मुलुकमा उत्पत्ति भएको कोरोना भाइरस विश्वका ९० मुलुकमा फैलिइसकेको छ । यही भयका बीच नेपाली एउटा उखान अहिले चरितार्थ भइरहेको छ—कागले कान लग्यो भनेर कान नछामी कागको पछि दौडने । कोरोना भाइरसका कारण भोलिका दिनमा खाद्यान्न र औषधी लगायत सामग्री अभाव हुँदैछ भन्ने हल्लाको पछि दौडेका छन् नेपाली । त्यसैले अनावश्यक सामानको जोहो गर्दैछन् । त्यसको असर बजारमा परेको छ । सरकारले भनिसकेको छ कि ६ महिनालाई पुग्ने खाद्यान्न नेपालभित्रै छ । आत्तिनुपर्ने अवस्था छैन । औषधीको मामलामा पनि मौज्दात पर्याप्त छ भनिएको छ । गण्डकी प्रदेशमै ३ महिनालाई पुग्ने औषधी रहेको व्यवसायीले बताइसकेका छन् । तर नेपाली धमाधम बजारबाट नुन, चामल, दाल, तेल जस्ता सामान धेरै महिनालाई पुग्ने गरी किनेर घरघरमा थन्क्याइरहेका छन् । साल्ट ट्रेडिङले भनिसकेको छ—६ महिनालाई पुग्ने आयो नुन छ । खाना पकाउने ग्यास र अरु पेट्रोलियम पदार्थको पनि मौज्दात पर्याप्त छ भन्ने सरकारले प्रष्ट पारिसकेको अवस्थामा अनावश्यक रुपमा आत्तिनु पर्दैन ।

यस्तो प्रवृत्ति नेपालमा बेलाबेला प्रकट हुन्छ । एक त नेपालमा कोरोना भाइरस पसिसकेको छैन । तयारी गर्नुपर्ने चाहिँ बरु त्यो भाइरस नपसोस् भन्नेतिर हो । तर त्यसको तयारी छैन । त्यसमा हुनुपर्ने जति संवेदनशीलता देखिएको छैन, सरकारी स्तरबाट र जनस्तरबाट पनि बेमतबी चाला प्रकट भएको छ । खुला साँध सीमाबाट जो कोही पनि नेपाल धमाधम छिरिरहेको छ । भाइरस आखिर त्यसरी जाँचबिनै आएका मानिसमार्फतै छिर्न सक्छ कुनै दिन । त्यसले निम्त्याउने संकटको सामाना गर्न हाम्रो राज्य संयन्त्र कमजोर छ । नागरिक पनि कमजोरै हालतमा छन् । तर अनावश्यक हल्लाको पछि दौडेर खाद्यान्न लगायत सामान घरमा थुपारेर बजारमा झन् त्रास फैलाउने काममा नागरिक लागेका छन् । प्रशासनले बजार निगरानी बढाउन जरुरी देखिएको छ । माग बढेकै आधारमा बजारमा वस्तुको मूल्यवृद्धि हुन सक्नेतर्फ प्रशासन चनाखो हुनुपर्छ ।

कोरोना भाइरसको संक्रमणले विश्व नै आतंकित छ । हजारौं उद्योग कलकारखाना बन्द भइसकेका छन् । मानिसको आवातजावत रोकिएको छ । हवाई उद्योगलाई घाटा हुन थालिसकेको छ । उत्पादनका क्षेत्रमा मन्दी लागिसक्यो । मेला, महोत्सव, सभा, समारोह र ठूलाठूला विश्व सम्मेलन यतिबेला स्थगित भएका छन् । वास्तवमा विश्व नै एक भएर यो भाइरसको सामाना गर्नुपर्ने बेला आएको छ । मानव सभ्यतामाथिकै चुनौतीका रुपमा देखा परेको भाइरसले मानव जातिको स्वार्थीपना, प्राकृतिक स्रोत साधनको दोहन र मानवीय संवेदनाहीन हुँदै गइरहेको प्रवृत्तिमाथि ठूलो सन्देशसमेत दिएको छ । यो मानवीय संवेदना प्रकट गर्ने बेला हो । सामूहिक हितको रक्षा गर्ने बेला हो । आफूमात्रै बाँचू भन्ने बेला होइन । तसर्थ अनावश्यक खाद्यान्न र वस्तुको जोहो गरी बजारमा अभाव सिर्जना गराई अरुलाई संकटमा पार्ने स्वार्थी काम नगरौं । हल्लाको पछि नकुदौं । कोरोनाबाट नआत्तिऔं । संयमित बनौं ।

Advertisement

तपाईको प्रतिक्रिया