हिमपात दुर्घटनाका सिकाइ

समाधान संवाददाता २०७६ फागुन २७ गते १५:०८

स्मीता अधिकारी

कास्कीको अन्नपूर्ण गाउँपालिका छोमरोङ देउरालीस्थित हिंकु केभमा अघिल्लो महिना भारी हिमपात भयो । अन्नपूर्ण बेसक्याम्प हिँडेका ५ कोरियाली र ३ नेपाली गरी ८ जना हिउँमा पुरिए । उक्त क्षेत्रबाट करिब १ सय ३० जनालाई उद्दार गरेर पोखरा ल्याइयो । हिउँमा हराएकाको अवस्था अझै अज्ञात छ । सोहि बेला अन्नपूर्ण राउन्ड ट्रे«क अन्तर्गत मुस्ताङ र मनाङ जिल्लाको बीचमा पर्ने थोरङपासमा पनि हिमपहिरोकै कारण ३ जना चिनीया पर्यटक करिब २ दिनसम्म सम्पर्कविहीन भए । र खोजी गरिएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सम्पर्कमा आए । सन् २०१४, अक्टोबरमा अन्नपूर्ण सर्किट क्षेत्रमै हिमपहिरो जाँदा ४१ जना विदेशी पर्यटकको मृत्यु भएको थियो । यो हिमपहिरो नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो हिउँ दुर्घटना थियो । बंगालको खाडीबाट उत्पन्न भएको हुद–हुद आँधीको प्रभाव भएको प्रतिवेदन आएका थिए उति बेला ।

जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विस्तारै हिउँ पग्लिँदै जाने र हिमपहिरो लगायतका घटना हुन सक्ने विभिन्न अनुसन्धानले बताइरहेका छन् । यसको असर नेपालले धेरै भोग्नु परेको यी घटनाले प्रमाणित गरिरहेका छन् । पदयात्रा नेपालमा सबैभन्दा धेरै पर्यटक भित्र्याउने क्षेत्र भएकोले पनि हिमपात तथा हिमपहिरो सम्बन्धी घटना चासोको विषय बनेको छ । पदयात्रा सम्बन्धी घटना दुर्घटना सार्वजनिक भइरहँदा पदयात्री स्वंयको व्यक्तिगत तथा राज्यले नीतिगत तवरबाट दिनुपर्ने सुरक्षा सम्बन्धी प्रश्न पनि सिर्जना भएका छन् ।

Advertisement

केही महिना अघि मात्र, पोखराबाट माछापुच्छ्रे बेसक्याम्प हिँडेका विद्यार्थी हिउँ दुर्घटनाको सिकार भए । त्यति बेला धेरैलाई उद्दार गरिए पनि पोखरा ५ का १ जना किशोरको हिउँ गुफामा खसेर मृत्यु भयो । हिउँको ढिस्कोमा उक्लेर सेल्फी खिच्ने क्रममा गुफामा खसेका थिए उनी । त्यस्तै अन्नपूर्ण क्षेत्रकै मार्दी हिमाल ट्रेकका क्रममा गत वर्ष मणिपाल शिक्षण अस्पतालमा काम गर्ने १ जना युवतीको मृत्यु भएको थियो । उक्त क्षेत्रमा गत वर्षदेखि हराइरहेकी नेदरल्याण्डकी १ युवतीको अवस्था अहिलेसम्म अज्ञात छ । त्यस्तै २ वर्ष अघि अन्नपूर्ण बेस क्याम्प क्षेत्रबाटै १ जना अज्ञात विदेशी नागरिको शव भेटिएको थियो । बेसक्याम्पमा विदेशी लिएर जाने सहयोगी ‘ट्रेकिङ गाइड’ को सहयोगमा उक्त शव सम्बन्धित निकायमा बुझाइएको थियो ।

नेपाल प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण क्षेत्र संरक्षण परियोजना एक्यापको गत वर्षको तथ्यांकले विगत १ दशकयता प्रत्येक वर्ष ४ वा ५ जना पर्यटक पदयात्राको क्रममा हराएको वा मृत्यु भएको बताउँछ । तर सुरक्षाका लागि तय भएका नियम पालनाका लागि पदयात्री स्वंयले हेलचक्र्याईं गर्नु र उक्त हेलचक्र्याईं कडाईका साथ पालना गराउन सम्बन्धित निकाय बलियो हुन नसकेकै कारण पर्यटक हराउने समस्या पूर्ण रुपमा समाधान हुनु सकेको छैन ।

Advertisement

पदयात्रीको सुरक्षालाई मध्यनजर गर्दै विगत वर्षदेखि नै विभिन्न व्यवस्था कार्यान्वयन भइरहेका छन् । पदयात्रा सुरक्षाका लागि अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना अन्तर्गत १७ वटा चेकपोस्ट र ३ वटा प्रवेश टिकट काउन्टर स्थापना गरेको छ । पोखरा, काठमाडौं र बेशीसहरमा राखिएका टिकट काउन्टरबाट दिइने टिकटमा पदयात्रीको पासपोर्ट नम्बर वा नागरिकता नम्बरदेखि लिएर, ठेगाना, बसाई समय लगायतका विषय रेकर्ड राखिएको हुन्छ । प्रवेश र बर्हिगमन (चेक आउट) समय पनि उक्त रेकर्डमै राखिने हुँदा प्रविधिमार्फत ती पदयात्री फर्किए नफर्केको निगरानी राख्ने गरिएको छ । पदयात्रीले हरेक चेकपोस्टमा उक्त तथ्यांक अध्यावधिक गराउनुपर्ने नियम भएकोले पनि चेकपोस्ट, टिकट काउन्टर र अन्नपूर्ण परियोजना कार्यालयको बारम्बार कम्युनिकेसन भइरहेको हुन्छ । यसले पदयात्री प्रवेश भएको, गन्तव्यमा पुगेको र फर्किएको रेकर्ड राखिने गरिएको छ । यद्यपि कुनै पदयात्रीले बाटो (टे«किङ टे«यल )बदलेर अर्को बाटो हिँडेको खण्डमा उसलाई पछ्याउने बलियो आधार अझैसम्म छैन ।

पदयात्रामा आउने विदेशी पर्यटकमध्ये धेरैले जोखिमपूर्ण यात्रा मन पराउने स्थानीय सरोकारवालाको अनुभव छ । त्यसैले एक्याप लगायतका सम्बन्धित निकायले विभिन्न चेकपोस्ट तथा सूचना केन्द्रबाट प्रवाह गराउने मौसम स्थिति, सही रुट, लगायतका विषयमा उनीहरु खासै ध्यान दिँदैनन् । विगत २० वर्षदेखि पदयात्री सहयोगीको काम गर्दै आएका पोखरा २१ का तुलसीप्रसाद सुवेदी भन्छन्, ‘विशेष गरी विदेशी पर्यटक आफू खुसी एक्लै एक्लै हिँड्दा बाटो बिराउने र मानव बस्ती भन्दा टाढा जंगलतिर हराएको धेरै पटक भेटेका छौं ।’ टे«किङ गाइड गर्ने बेला कतिपयलाई हराएको अवस्थामा स्थानीयवासी मार्फत् फेला पारेर आफूसँगै हिँडाएका अनुभव पनि उनले सुनाए ।

पदयात्राका क्रममा भेटिने जैविक, भौगोलिक, सांस्कृति, सामाजिक र वातावरणीय विविधताका कारण पनि नेपाल पदयात्राको प्रमुख गन्तव्य मध्येको १ हो । कतिपय पर्यटकको उद्देश्य नै यहाँको विविधता लगायत लेकाली जडिबुटी र स्थानीय रहन–सहनको बारेमा रिसर्च गर्नु हुन्छ । ‘जोखिमपूर्ण यात्रा गर्नु त उनीहरुको सौख नै हुन्छ, तर यात्रालाई उपलब्धिमुलक बनाउनका उनीहरुको ध्यान उत्तिकै केन्द्रित भइरहेको हुन्छ, त्यसैले अनुसन्धानलाई प्राथमिकतामा राखेर पर्यटक ट्रेकिङ गर्न आएका हुन्छन् ।’ टे«किङ एजेन्टस एसोसियसन अफ नेपाल टान पश्चिमाञ्चल सम्बन्धित अर्का ट्रेकिङ गाइड कृष्णप्रसाद आचार्यले भने । उतिबेला करिब ३ वर्ष अघि अन्नपूर्ण बेसक्याम्प जाँदा अचानक हिमपात भएपछि आफूसँग गएका ४ जना पर्यटकसहित अगाडि गइरहेका र पछाडिबाट आउँदै गरेका करिब १ दर्जन बिना गाइडका पर्यटकलाई पनि आफूले बचाएको स्मरण उनले गरे । हिमपात भएको बेला ठूला–ठूला चट्टानको तल ओत लाग्दा एक्कासी आएको पहिरो बाँडिएर २÷३ कोलममा बग्ने हुँदा पार लगाउन सजिलो भएको उनी सुनाउँछन् ।

स्थानीय सरोकारवालाका अनुसार गण्डकी तथा अन्नपूर्ण क्षेत्रमा आउने पर्यटकमध्ये ६० प्रतिशतले पदयात्रा रोज्ने गरेका छन् । ‘त्यसमध्ये पनि ४० प्रतिशतले गाइड बिना हिड्न रुचाउँछन्,’ एक्याप घान्द्रुक चेकपोस्ट प्रमुख बिदुर कुँइकेलले भने । पर्यटक बिदा मनाउन तथा उद्देश्य बनाएर पैदलयात्रामा आउने हुँदा मौसम पुर्वानुमान तथा पूर्व सचेतना सम्बन्धी जानकारी उतिसारो ध्यानपूर्वक नसुन्ने उनको अनुभव छ ।

पर्यटक एक्लै जाँदा बाटो बिराउन सक्ने सम्भावना त हुन्छ नै उनीहरुले खोजेको अनुसन्धानमा आउनुपर्ने सत्य तथ्य जानकारी मिसिङ हुनसक्ने जानकार बताउँछन् । कतिपय अवस्थामा उनीहरुलाई नेपालको सांस्कृतिक, सामाजिक परिवेश र मूल्य मान्यता थाहा नहुँदा समस्यामा पर्ने गरेका छन् । अन्नपूर्ण क्षेत्रकै पुनहिलमा गत वर्ष केही विदेशी पर्यटक लुगा नलगाएको अवस्थामा जमघट गरेको भेटिएका थिए । ‘स्थानीयवासीसँग विवाद गरिरहेको अवस्थामा विदेशी पर्यटक भेटिएपछि हामीले उनीहरुलाई सम्बन्धित निकायको जिम्मा लगाएका थियौं ।’ पैदलयात्रा गाइड कृष्ण आचार्यले भने ।

नेपालको पर्यटनमा पदयात्राको विशेष महत्व छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गत वर्ष प्रकाशन गरेको तथ्यांक अनुसार, नेपालमा आउने २५ प्रतिशत पर्यटकको रोजाइ पदयात्रा हो । त्यसमा धेरै पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिने तथ्यांकले देखाउँछन् । अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना एक्यापका सूचना अधिकृत ऋषि बरालका अनुसार एउटा विदेशीले १० अन्नपूर्ण क्षेत्रमा प्रति १० दिन पैदलयात्राको ५ सय अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । यदि गाइड लैजान चाहेमा ३५ सय थप तिर्ने गरेका छन् । अपर मुस्ताङ, मनास्लुजस्ता उच्च जोखिम क्षेत्रबाहेक अन्य ठाउँमा गाइड लैजानुपर्ने बाध्यकारी व्यवस्था पर्यटकलाई हुँदैन ।

तपाईको प्रतिक्रिया