सरकार आर्थिक अनुशासनमा कमजोरः सांसद खड्का

समाधान संवाददाता, पोखरा
प्रदेश सांसद कुमार खड्काले सरकारले आर्थिक अनुशासन कायम राख्न नसकेको बताएका छन् । नेपाल यातायात मजदुर संघ कास्कीको कार्यक्रममा सांसद खड्काले जनताले दिएको बहुमतलाई दुरुपयोग गर्दै आर्थिक लाभमा सरकारको आँखा गडेको उल्लेख गरे । मजदुर संघद्वारा आयोजित विश्वमा फैलिएको कोरोना भाइरस सचेतना सभामा सांसद खड्काले आर्थिक सुशासनको नारा दिएर घोटला मच्चाएको बताए । उनले भने, ‘एनसेल, वाइडबडी, तारे होटल, ठूलो योजनामा गरेको बार्गेनिङ, आफन्त प्रकरणले पुष्टि ग¥यो ।’ जनताको मौलिक अधिकारलाई समेत पूरा गर्न नसकेको संघीय एवं प्रदेश सरकारले जनतालाई धोका दिएको खड्काले बताए । कांग्रेस नेता खड्काले आतंक र भय फैलाउनेलाई नियन्त्रणमा सरकार चुक्दै गएको बताए ।
यातायात मजदुर संघका जिल्ला अध्यक्ष दामोदर पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरले कोरोना विषयमा हल्ला बढी भएको उल्लेख गरे । नेता कुँवरले बलियो संगठनलेमात्र मजदुरको समस्या हल गर्न सक्ने बताए । नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेशका अध्यक्ष किरणबाबु पन्तले स्वागत गरेको सभामा नेकपा निकट संगठन छोडेर यातायात मजदुर संघमा प्रवेश गरेका कृष्णबहादुर गुरुङ, सन्तोष गुरुङ, दीपक बराल र भीमबहादुर गुरुङ लगायतलाई सदस्यता प्रदान गर्दै स्वागत गरिएको थियो ।
कार्यक्रममा एनटियुसी गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले कोरोनाबाट मजदुरलाई बढी प्रभावित पार्ने भएकाले सचेत बन्नु नै रोगको उपचार भएको बताए । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य जीतबहादुर गुरुङले यातायात क्षेत्रलाई धारासायी बनाएर सरकारले मजदुर विरोधी गतिविधि बढाएको बताए ।
प्रशिक्षण सभामा मनिपाल हस्पिटलमा कार्यरत डा. अन्जली भण्डारीले आत्मबल बलियो बनाउन सुझाव दिइन् । उनले रोगलाई हेट गर्नुपर्ने भन्दै मान्छेलाई गरिने व्यवहार सकारात्मक हुनु पर्ने बताइन् । उनले भनिन्, ‘यो रोग हिजो जनावरमा थियो, आज मानिसमा देखा प¥यो, समस्या धेरै रहँदैन ।’ उनले खानपान, जीवनशैली र सरसफाइलाई ध्यान दिन आग्रह गरिन् । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका सहसचिव केदार धमलाको सञ्चालनमा रहेको कार्यक्रममा कांग्रेस नेतृ सरस्वती गुरुङले भीडमा यात्रा गर्ने यातायात मजदुरलाई राज्यले विशेष ध्यान दिनसक्नु पर्ने बताइन् । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारीले मजदुरका ससाना समस्यामा नेतृत्वले ध्यान दिन सक्नु पर्ने बताए । पृथ्वी राजमार्ग बस सञ्चालन प्रालिका अध्यक्ष योगेन्द्र केसीले यातायात क्षेत्रमा देखिएको समस्या हल गर्न आफू सधैं क्रियाशील भएर लागेको बताए ।
यातायातका जिल्ला समन्वय समिति अध्यक्ष केदार पौडेलले सबै संघसंगठनले लिने नीतिले यस क्षेत्रको भविष्य निर्धारण गर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका सदस्य कमल पौडेल ‘अथक’, नेपाल यातायात मजदुर संघ महानगर इकाइका अध्यक्ष वीरेन्द्र शर्मा लगायतले धारणा राखेका थिए ।
यातायात मजदुर संघ कास्कीले विगतमा भन्दा फरकशैलीमा होली पर्वको सम्झाना गर्दै कोरोनाबारे सचेतना जगाउने सभामा पोखरा यातायात प्रालि, पोखरेली ट्याक्सी सेवा प्रालि, पोखरा फेवा यातायात प्रालि, गण्डकी यातायात प्रालि, सृष्टि यातायात प्रालि, एसएसएल मोटर कम्पनी, एनआरए यातायात प्रालि, गण्डकी टायर एन्ड ट्रेड कम्पनी, आटोवेज, सञ्जोग ट्राभल्स, पृथ्वीराजमार्ग बस सञ्चालन समिति लगायतलाई सम्मान गरेको नेपाल यातायात मजदुर संघ कास्की सचिव शिवप्रसाद अधिकारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया