गैरागाउँको बाटो

समाधान संवाददाता २०७६ फागुन २८ गते १३:२५

पश्चिमा मुलुकमा विकास भन्ने बित्तिकै प्रविधि जोडिएको हुन्छ । उनीहरुको रहर हुन्छ विश्व नै चकित पार्ने खालका नयाँ आविस्कारमा । हामी नेपाली पनि विकासप्रेमी छौं । तर हाम्रो विकास प्रविधिभन्दा पनि पूर्वाधारसँग जोडिएको छ । संघ, प्रदेश र स्थानीय ३ वटै सरकारको प्राथमिकतामा परेको छ पूर्वाधार । पूर्वाधारमा पनि अझ सडक १ नम्बरमा आउँछ । हो, गाउँमा आवतजावत गर्नका लागि सडक अपरिहार्य बनेको छ । सामान्य घरव्यवहार मात्र होइन, बिरामी पर्दा एम्बुलेन्स बोलाउनेदेखि, आगलागीका लागि दमकल बोलाउन परे पनि सडकले सहज नै बनाउँछ । यस हिसाबमा सडकको महत्व असाध्यै छ । अन्यत्रजस्तै पोखरा महानगरपालिका वडा नम्बर ३३ गैरागाउँमा पनि विकासको काम धमाधम भइरहेको छ । कतै लडेका रुख, कतै बारीमा थुपारिएको माटो त कतै भताभुंग आँगन । यो दृश्य देख्दा लाग्छ त्यहाँका बासिन्दालाई घरभन्दा पनि सडक नै प्यारो छ । त्यहाँ गएर बुझ्दा वास्तविकता त्यस्तो रहेनछ । थोरै माथि पक्की सडक छ । त्यसैको समानान्तर हुने गरी केही तल डोजर लगाएर भर्खरै सडक खनिएको छ । तर उक्त सडक केही सिमित व्यक्तिको रहरका भरमा खनिएको छ । अर्काको घरबारी जेसुकै होस आफ्नो घरमा सडक पु¥याउन पाए हुन्थ्यो भन्ने केहीलाई लागेको छ । त्यसैको मारमा परेका छन् । गैरागाउँका केही बासिन्दा ।

हिउँदमा डोजर लगेर सडक खन्दा राम्रै देखिएला । तर त्यही सडकका कतिपयका लागि काल बनेर आएका उदाहरण हामीले बर्सेनी देख्दै र सुन्दै आएको हो । गैरागाउँमाथि पर्ने मुल सडकको दुलेगौंडाचोकदेखि बुढीपोखरी जाने बाटो २ तिरबाट निकास दिन भन्दै महानगरले कनेक्टिङ रोड अन्तर्गत आयोजनामा पारेको छ । महानगरमा अझै पनि कति ठाउँ छन्, जुन गाउँमा अझै सडक पुगेको छैन । सडक पुगे पनि बाह्रै महिना यातायात सञ्चालन हुन सक्दैन । बाटैबाटो भएको गैरागाउँमै फेरि अर्को सडकको लागि योजना पार्न पोखरा महानगरलाई के त्यस्तो वाध्यता आइलाग्यो बुझिनसक्नु छ । किनभने मुलबाटो र अहिले बनाउन लागिएको बाटोको दुरी अति कम छ । एकातिर अनावश्यक बाटोका लागि राज्यको लगानी भइरहेको छ, अर्कोतिर सर्वसाधारणको घर नै जोखिममा परेको छ । यसैबाट प्रस्ट हुन्छ कि पोखरा महानरको विकासको प्रस्ट खाका नै छैन । कसैको भनसुनका आधारमा योजना बनायो, बजेट पा¥यो अनि हिसाबकिताब मिलायो । अनि विकास बजेट खर्च भएको त कागजमा देखिने नै भयो । तर त्यस्ता विकासले दीर्घकालीन असर के पारेको छ भनेर खोजी गर्नतिर महानगरको लगानी शून्यप्रायः छ ।

गैरागाउँ मात्र होइन यस्ता विकासे योजना मुलुकका धेरै ठाउँमा देखिन्छ । नेपालमा डोजर भित्रिएपछि बाटोमा मात्रै कति लगानी भयो होला त्यसको अंकगणित निकै ठूलो निस्कन्छ । तर लगानी अनुसारको उपलब्धि हेर्ने हो भने नजिता कहालीलाग्दो हुन्छ । हिउँदमा खनेको बाटो, बर्खामा जस्ताको तस्तै हुन्छ । फेरि मर्मत गर्नुपर्‍यो । बजेट खन्याउनुपर्‍यो । जनताको पसिनाबाट उठेको रकम विकासका नाममा खर्च भइरहेकै देखिन्छ । तर त्यसको उपयोगिताबारे कसैको चासो पुगेकै हुँदैन । योजना बनाउनु अघि त्यसको उपयोगिता, दीर्घकालीन असरका बारेमा अध्ययन हुनु पर्ने हो । तर यहाँ त अध्ययन हुनु त कता हो कता डोजर अपरेटरले जताजता भन्यो उतैतिर बाटो तेस्र्याउने प्रवृत्तिको बढिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया