वालिङका औषधी पसलमा बजार अनुगमन

समाधान संवाददाता २०७६ फागुन २८ गते १४:०३

समाधान संवाददाता, स्याङ्जा

वालिङ नगरपालिकाभित्रका सरकारी तथा निजी स्वास्थ्य संस्थाका औषधी पसलमा अनुगमन गरिएको छ । वालिङ नगरपालिका, इलाका प्रशासन कार्यालय, वडा प्रहरी कार्यालय वालिङ तथा सरोकारवालाको सहभागितामा अनुगमन गरिएको हो । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने खतरालाई नियाल्दै रोग लाग्नै नदिने अभियानमा सचेतना फैलाउन अनुगमनलाई तीव्र बनाइएको छ ।

नगरपालिकाभित्रका सरकारी तथा निजी स्वास्थ्य संस्थाको ‘लाइन लिस्टिङ’ गरिएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । रोग लाग्न नदिनका लागि औषधी पसल सञ्चालकसँग मास्क, सेनिटाइजर लगायत सामग्रीको कृत्रिम अभाव सिर्जना हुन नदिन, कोरोनाको लक्षण भएका कुनै विरामी आएमा वालिङ नगरपालिकाको स्वास्थ्य शाखामा पूरा विवरण उपलब्ध गराउन भनिएको छ ।

Advertisement

स्वास्थ्य संस्थामा उपचार गराउन आएका विरामीको पूर्ण विवरण राख्न आग्रह गर्दै नगर प्रमुख दिलीपप्रताप खाँणले उपचार पश्चात फर्केपछि २÷४ दिनपछि निको भए÷नभएको निगरानीमा राख्न, निको नभएमा नगरपालिकामा विवरण उपलब्ध गराउन आग्रह गरे । प्रमुख खाँडले निको नभएका विरामीलाई नगरपालिकाले आवश्यक उपचारमा सहयोग गर्ने बताए ।

स्वास्थ्य संघसंस्थामा आएका विरामीको रोग र अवस्था खुलाएर दैनिक विवरण नगरपालिकाको स्वास्थ्य शाखामा पठाउन आग्रह गरिएको छ । प्रमुख खाँडले दैनिक उपभोग्य बस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारीकरण भएको गुनासो आएमा सूचना दिन नागरिकलाई अनुरोध गर्दै नगरपालिकाले धमिलो पानीमा माछामार्न खोज्नेलाई नछोड्ने चेतावनी दिए । उनले कृत्रिम अभाव सिर्जना हुन नदिन र कालोबजारीलाई निरुत्साहित गर्न अनुगमनलाई नियमित कार्यतालिका तय गरेको बताए ।

Advertisement

इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले औषधी व्यवसायीले कृत्रिम अभाव सिर्जना तथा कालोबजारी वालिङमा नभएको बताए । कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखेर नगरपालिकाले ठूला सभा सम्मेलन नगर्न र भीडभाडमा नजान सचेत गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया