‘उपभोग्य वस्तुको मौज्दात पर्याप्त, मूल्य यथावत्’

ईश्वर देवकोटा
पोखरा
चिनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासमा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव भइरहेको भन्ने सन्दर्भमा भने पोखराका अधिकांश थोक बिक्रेताले आफूसँग पर्याप्त मौज्दात रहेको बताएका छन् । प्रदेश बजार अनुगमन समितिले बुधबार पोखराका ५ थोक बिक्रेताका गोदाममा गरेको अनुगमनमा उनीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । चामल, दाल, तेल, चिनी लगायत आयातित खाद्यान्नका सामग्रीको समेत कृत्रिम अभाव गराई बजारमा मूल्य वृद्धि हुन सक्ने भन्दै अनुगमन समितिले थोक पसलमा निरीक्षण गरेको हो ।
समितिका संयोजक एवं उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीका निर्देशक गोकुल शर्मा पौडेलले बजारमा प्रचारित हल्ला र वास्तविकताबारे तथ्य पत्तो पाउन पनि खाद्यान्नमा आकस्मिक अनुगमन गरेको बताए । ‘हामी पुगेका थोक बिक्रेता कहाँ उपभोग्य वस्तुको मौज्दात अवस्था हेर्दा अभाव हुने देखिदैन,’ उनले भने, ‘बजारमा मूल्य वृद्धि र सामग्री अभाव भने खुद्रा बिक्रेता कै कारण भएको प्रष्ट हुन्छ ।’
टोलीले मासबारस्थित पिएसटी ट्रेडिङ, रत्नचोकको मिनबहादुर शेरचन स्टोर्स, मालेपाटनको आदर्श स्टोर र शिवशेखर एग्रो प्रालिको गोदाममा अनुगमन गरेको हो । पिएसटी ट्रेडिङले रातो दाल र तेलमा २ रुपैयाँ उद्योगबाट नै बढेर आएको जनाएको थियो । तर अन्य थोक बिक्रेताले मूल्य यथावत् नै रहेको टोलीसँग स्पष्ट पारेका थिए । मालेपाटनकै नारायणी आयल रिफाइनरी उद्योगको शाखामा समेत टोलीले अनुगमन गरेको छ । गोदाममा तेलको पनि मौज्दात पर्याप्त रहेको टोलीले जनाएको छ ।
बजारमा हल्ला भएजस्तो दैनिक उपभोग्यका सामग्री अभाव नभएको अनुगमनले नै प्रष्ट पारेको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए । ‘थोक बिक्रेतामा मौज्दात र मूल्यमा समस्या छैन, एक ठाउँमा रातो दाल र तेलमा उद्योगबाट नै २ रुपैयाँ बढाएर आएको भन्ने छ, त्यसबारे बुझ्न केन्द्रमा सिफारिस गर्छौ,’ उनले भने, ‘थोकबाट लैजाने र खुद्रामा बेच्नेहरुले समयलाई अवसरको रुपमा लिई तोकेभन्दा नाफा बढी लिएको प्रष्ट हुन्छ ।’ कहीँकतै खाद्यान्न तथा किराना सामग्रीको मूल्य बढाएर लिएमा तत्काल खबर गर्न समेत उनको आग्रह छ ।
मिनबहादुर शेरचन स्टोर्सका सञ्चालक दीपक शेरचनले खाद्यान्नका सामग्री अभाव नभएको बताए । उनले दैनिक सरदर आउने मागअनुसारकै १ महिनासम्म पुग्ने मौज्दात रहेको जानकारी दिए । तर, कोरोनाको त्रास फैलिनुभन्दा अघि ५ पेटी सामान माग गर्नेले अहिले १० पेटी सामान माग गर्ने गरेको उनको भनाइ छ । स्टोर्सले पोखराका विभिन्न खुद्रा बिक्रेता कहाँ दैनिक उपभोग्य सामग्री सप्लाई गर्दछ ।
गोदाम सफाई गर्न निर्देशन
मालेपाटनको आदर्श स्टोर्सको गोदाम भित्र रहेको शौचालय १ महिनाभित्र हटाउन प्रदेश बजार अनुगमन समितिले निर्देशन दिएको छ । शौचालयबाट दुर्गन्ध आइरहेको र खाद्यान्न लगायत सामग्रीको भण्डार एकै ठाउँमा भएकाले टोलीले हटाउन निर्देशन नै जारी गरेको हो । गोदाममा गाईवस्तुले खाने चोकर र मानिसले खाने खाद्यान्न एकै ठाउँमा राखेको पाएपछि छुटाछुटै व्यवस्थित गर्न अनुगमन टोलीले भनेको छ । ‘गोदामको अनुगमन गर्दा पर्याप्त सफाइमा ध्यान नदिएको पाइयो,’ बजार अनुगमन समितिका संयोजक गोकुल शर्मा पौडेलले भने, ‘१ महिना भित्र शौचालय हटाई आवश्यक सरसफाई गर्न निर्देशन दिएका छौं ।’ भण्डारण गरिएका वस्तुहरुमा मुसाले क्षति पु¥याएको देखेपछि त्यसको पनि उचित व्यवस्थापन गरी मालसामन सुरक्षित गर्न टोलीको निर्देशन छ ।
मालेपाटनकै शिव शेखर एग्रो प्रालिको बिक्री डिपोले च्यातिएका खाद्यान्नका बोराहरुलाई पुनः प्याकेजिङ गर्ने गरेको पाइएको छ । उद्योग बेगर पुनः प्याकेजिङ गर्न नपाइने हुँदा टोलीले डिपोलाई पहिलोपटक सचेत गराएको छ । डिपोले कम्पनीका उपकार र बजरंगी ब्रान्डका खाद्यान्न सामग्री थोक बिक्रेतालाई बिक्री गर्दछ ।
अनुगमनमा प्रदेश उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण हित निर्देशनालय, जिल्ला प्रशासन कार्यालय कास्की, गुणस्तर तथा नापतौल, खाद्य प्रविधि तथा गुण नियन्त्रण, उपभोक्ता मञ्च, प्रहरी प्रतिनिधिको टोली खटिएको थियो । केहीदिन यता टोलीले बजार अनुगमनलाई निरन्तरता दिइरहेको छ ।
तपाईको प्रतिक्रिया