निजी बोलेरोको मनोमानी, प्रहरीलाई चुनौती

समाधान संवाददाता २०७६ फागुन २९ गते १२:२९

फिस्लिङबाट गण्डकी गाउँपालिकाको तोलक जाँदै गरेको बोलेरो । तस्बिरः समाधान

Advertisement

मोहसिन अली मियाँ
गोरखा

गण्डकी गाउँपालिकाभित्र निजी जिपले जोखिम मोलेर यात्रु बोक्ने गरेको पाइएको छ । फिस्लिङको झोलुंगे पुलपारिबाट गण्डकी गाउँपालिका ६ को भुम्लिचोकका विभिन्न स्थानमा एउटै बोलेरो जिपले २५ जनाभन्दा बढी यात्रु राखेर जोखिमपूर्ण यात्रा गराउँदै आएकोे फेला परेको छ । निजी प्रयोगका लागि ल्याइएका त्यस्ता जिपले अनाधिकृत रुपमा गाउँपालिकाका विभिन्न स्थानमा यात्रु ओसार प्रसार गर्दै आएका हुन् ।

Advertisement

बोलेरोले सिट क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गराउँदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको स्थानीय बताउँछन् । यस क्षेत्रमा अन्य सवारी साधनको विकल्प नभएकाले पनि निजी बोलेरो जिपको मनोमानी बढेको यात्रु नै बताउँछन् । ‘फिस्लिङको झोलुंगे पुलवारिसम्म बोलेरो चल्छ, अरु विकल्पै छैन,’ स्थानीय सिर्जना गुरुङले भनिन्, ‘ठिक्कसँग चलाए त ठिकै हुने हो, गाडी चढेपछि नओर्लिएसम्म सासै रोक्किएला जस्तो गरेर मान्छे कोच्छन्, नचढे हिँडेर साध्य नलाग्ने, चढे दुर्घटनाको चिन्ता ।’

बढीमा चालकसहित ६ जना बोक्न पाउने नियम भए पनि त्यसक्षेत्रमा चल्ने निजी जिप र बोलेरोले २५ जनासम्म यात्रु बोक्ने गरेको भेटिएको हो । ६ जनाको सिटमा भित्रै ८ जना, पछाडि १० जना र छतमा ७ जनासम्म यात्रु कोचेर बोलेरोले कमाउ धन्दा गरिरहेका छन् । ‘मान्छेको त कुरै नगरौं, जति जना पनि हाल्छन्, डर भन्ने त छँदै छैन, पैसा भए पुग्ने रहेछ,’ १ स्थानीयले भने, ‘यस्तो उकालो बाटो छ, त्यसमाथि पूरै कच्ची, साह्रै कहालीलाग्दो अवस्था छ ।’

बोलेरोले यात्रु धेरै हाल्नेमात्रै होइन, भाडासमेत चर्को असुल्ने गरेका छन् । त्यस्ता सवारीले ३ किलोमिटर यात्रा गरेकोे ५० रुपैयाँसम्म भाडा लिने गरेको पाइएको छ । ‘मान्छे धेरै हालेपछि त भाडा अलि सस्तो गर्नु नि, झन् बढी माग्छन्,’ नाम नबताउने सर्तमा भुम्लिचोककी १ महिलाले भनिन्, ‘फिस्लिङबाट आग्रीडाँडा आएको ५० रुपैयाँ रे, जम्मा ३ किलोमिटर छ ।’

फिस्लिङबाट भुम्लिचोकका आग्रीडाँडा, वनटार, दलभन्ज्याङ, चिसापानी, तोलक, गाउँपालिका केन्द्र लगायत स्थानमा चल्ने यस्ता बोलेरो जिप यस क्षेत्रमा ८ वटा भएको सूचना प्राप्त भएको छ । जहाँ ५० देखि २ सय ५० रुपैयाँसम्म भाडा तोकिएको छ । सबै निजी प्रयोजनका लागि ल्याएका हुन् । तर उनीहरुले प्रहरी, प्रशासनलाई समेत चुनौती दिँदै जोखिम मोलेर यात्रा गराउँदै चर्को भाडा असुल्दै आएका छन् । त्यसो त यस क्षेत्रमा निजी नम्बर प्लेट धारीका सवारीको दादागिरीबारे गाउँपालिका कार्यालय र प्रहरी प्रशासन बेखबर भने होइन । बोलेरो र जिपको कमाउ धन्दामा प्रहरी प्रशासनले देखे पनि नदेखे झैं गर्दा जोखिम बढेको स्थानीयकै गुनासो छ ।

१ हप्तामा ३ दुर्घटना, २ को मृत्यु
यता १ हप्ताको अन्तरालमा गोरखामा ३ सवारी दुर्घटनामा २ जनाले ज्यान गुमाएका छन् । त्यसमध्ये २ दुर्घटना निजी जिप र १ ट्याक्टर छ । कच्ची बाटो र क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना भएको यी घटनाबाट प्रष्ट हुन्छ ।

२१ फागुनमा भएको दुर्घटनामा धार्चे गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित ७ जना घाइते भएका थिए । दुर्घटनामा धार्चे ६ का वडासचिव किरण रिमालको घटनास्थलमै ज्यान गएको थियो । अहिले पनि घाइतेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

२३ फागुनमा सिरानचोक गाउँपालिका ८ जौवारी धन्सारमा ट्याक्टर दुर्घटना हुँदा दाङका यज्ञबहादुर भण्डारीको घटनास्थलमै मुत्यु भयो भने २ जना गम्भीर घाइते भए । त्यस्तै मंगलबार बिहान बारपाक सुलिकोट गाउँपालिका ४ छहरेखोलामा जिप खस्दा १३ जना घाइते भएका छन् ।

यता जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख सुकबहादुर विक पनि बाटो र सवारीको अवस्थासँगै ओभर लोडका कारण दुर्घटना बढेको स्वीकार्छन् । ‘गाउँमा सबैजसो बाटा कच्ची छन्, त्यसमा पुराना जिप अनि हाम्रो आँखा छलेर बढी यात्रु बोक्छन्,’ विकले भने, ‘थाहा पाएसम्म र भेटाएसम्म त हामीले कारबाही गरिरहेका छौं, तर हाम्रो पनि जनशक्ति कम छ, जिल्लाभर हामीले पनि चेकजाँचलाई कडाई गर्न सकेका छैनौं ।’

तपाईको प्रतिक्रिया