१८ औं आहा रारा गाेल्डकपः पुलिस पुग्यो फाइनल

समाधान संवाददाता २०७६ फागुन २९ गते १२:३९

सुरेशराज अधिकारी
पोखरा

नेपाल पुलिस क्लब ३–० गोल अन्तरले रुस्लान थ्रि स्टार फुटबल क्लबलाई हराउँदै आहा रारा गोल्ड कपको फाइनल प्रवेश गरेको छ । बुधबार भएको खेलको ८ औं मिनेटमा नेपाल पुलिसका खेलाडी रवि पासवानको पासमा भरत शाहको प्रहारमा पहिलो गोल भएको थियो ।

५१ औं मिनेटमा मैदानको बीच भागबाट बलअघि बढाउँदै डि बक्स बाहिरबाट निरकुमार राइले प्रहार गरेको बल गोल भयो । खेलको ७२ औं मिनेटमा तेज तामाङको पासमा निरकुमार राइले प्रहार गरेको बलले जाली चुम्दै तेस्रो गोल हुन पुग्यो ।

Advertisement

खेल अवधिमा थ्रिस्टार क्लबको तर्फबाट गोल हुन सकेन । थ्रि स्टार क्लबका खेलाडीलाई पुलिसका खेलाडीले दबाबमा राखे । निधारित समयमा पाएका केही राम्रा अवसर थ्रि स्टारले उपयोग गर्न सकेन । म्यान अफ दि म्याच पुलिसका लागि २ गोल गरेका निरकुमार राई बने । उनले ५ हजारसहित ट्रफी हात पारे ।

पुलिसका लागि खेलको ११ औं मिनेटमा भरत शाहको पासमा हेम तामाङले प्रहार गरेको बल थ्रि स्टारका किपरले बचाउ गरे । थ्रि स्टारका खेलाडी मिक्चेन तामाङले ५ औं मिनेटमा प्रहार गरेको फ्रिकिक बल सञ्जोक राइले हेड गर्दा क्रसबार माथिबाट बाहिरियो ।

Advertisement

खेलको १९ औं मिनेटमा सञ्जोक राईको पासमा आशीष राईले प्रहार गरेको बल पुलिसका खेलाडी सन्तोष हर्मनले क्लियर गरिदिए । खेलको ३४ औं मिनेटमा मिक्चेन तामाङको पासमा आशीष राईले प्रहार गरेको बल किपरले पञ्चमार्फत बचाउ गरे । उक्त बललाई पुन अन्नत तामाङले प्रहार गर्दा किपरले नै फेरि बचाउ गरे ।

नेपाल पुलिस क्लबका कोच अन्नतराज तामाङले खेललाई युद्धको संज्ञा दिंदै युद्ध जितेको टिप्पणी गरे । उनले पुलिस फाइनल जित्नका लागि १८ औं आहा रारामा भाग लिन आएको बताए । ‘अब सेमिफाइनल खेल्ने मनाङ मस्याङ्दी र आर्मी क्लब दुवै बलिया छन्,’ उनले भने, ‘हामी दुवै टिमसँग युद्धका लागि तयारी गछौं ।’

थ्रि स्टारका कोच मेघराज केसीले पुलिसको खेल थ्रि स्टारको भन्दा राम्रो रहेको बताए । थ्रि स्टारले पाएका केही अवसर प्रयोग गर्न नसकेको उनले स्वीकारे । टिममा धेरै नयाँ खेलाडी भएका कारण पनि अवसर प्रयोग गर्न नसकिएको केसीको भनाइ छ । केसीले खेलको सुरुदेखि अन्तिमसम्म नै पुलिसको खेल समान रेसियोमा रहेको बताए ।

२४ गते भएको क्वाटर फाइनलमा सहारा फुटबल क्लबलाई हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश हो । २६ गते भएको क्वाटरफाइनल खेलमा भारतीय गोन्तोक सिटी फुटबल क्लबलाई हराउँदै थ्रि स्टार सेमिफाइनल प्रवेश गरेको हो ।

आर्मी–मनाङ चौथो भेट
बिहीबार त्रिभुवन आर्मी क्लब र मनाङ मस्याङ्दी फुटबल क्लबबीच सेमिफाइनल खेल हुँदै छ । आहा रारा गोल्ड कपमा आर्मी र मनाङको यो चौथो भेट हो । ९ औं आहा रारामा क्वाटर फाइनलमा मनाङ मस्याङ्दी फुटबल क्लबले १–० ले त्रिभुवन आर्मी क्लबलाई हराएको थियो । १३ औं आहा रारामा मनाङले २–१ गोल अन्तरले त्रिभुवन आर्मी क्लबलाई क्वाटर फाइनलमै हराएको थियो । १४ औं संस्करणमा मनाङले १–० ले त्रिभुवन आर्मी क्लबलाई फाइनलमा हराएर उपाधि जितेको थियो ।

१८ औं आहा रारा गोल्ड कपमा क्वाटर फाइनल खेलमा झापा ११ लाई हराउँदै मनाङ मस्याङ्दी सेमिफाइनल प्रवेश गरेको छ । संकटा फुटबल क्लबलाई क्वाटरफाइनलमा हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनल पुगेको हो ।

तपाईको प्रतिक्रिया