१८ औं आहा रारा गोल्डकपः फाइनलमा पुलिस र मनाङको भिडन्त

सुरेशराज अधिकारी
पोखरा
१८ औं आहा रारा गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लबसँग नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब भिड्ने भएको छ । बिहीबार पोखरा रंगशालामा भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले पाखा लगाउँदै मनाङले फाइनल यात्रा तय गरेको हो ।
मनाङको जितका लागि खेलको चौथो मिनेटमा विमल रानाको पासमा फ्लोरेन्टले गोल गरे । मनाङको लागि खेलको २९ औं मिनेटमा अन्जन विष्टको पासमा विमल रानाले दोस्रो गोल गरे । खेलको ८१ औं मिनेटमा विमल रानाको पासमा किपर विवश चौधरी बिट भएको समयमा अन्जन विष्टले गोल गरे ।
त्रिभुवन आर्मी क्लबका लागि खेलको ४१ औं मिनेटमा भरत खवासले डि बक्स भित्रबाट हेडमार्फत गोल गरे । खेलको ८३ औं मिनेटमा टंक बस्नेतको पासमा दीपकुमार लामा प्रहारबाट दोस्रो गोल भयो ।
प्रतियोगिताको पहिलो हाफमा त्रिभुवन आर्मी क्लबलाई मनाङ मस्र्याङ्दीले दबाबमा राख्यो । दोस्रो हाफको अन्तिम समयमा खेल सुधारेको आर्मी क्लबले अवसरको सदुपयोग गर्न सकेन ।
मनाङ मस्र्याङ्दीको लागि खेलको १६ औं मिनेटमा विमल रानाको पासमा अन्जन विष्टले प्रहार गरेको बल गोल भएन । खेलको ५९ औं मिनेटमा विमल रानाको पासमा अन्जन विष्टले डि बक्स भित्रबाट प्रहार गरेको बल त्रिभुवन आर्मी क्लबका किपर विवश चौधरीले समाते । खेलको दोस्रो हाफमा मनाङका खेलाडी राम्रो प्रदर्शन गरे पनि फिनिसिङ राम्रो भएन ।
खेलको ६३ औं मिनेटमा सेसेह्याङ आङदेम्बाको पासमा जर्जप्रिन्स कार्कीले प्रहार गरेको बल मनाङका किपर सुजित गुरुङले क्याच गरे । खेलको ६९ औं मिनेटमा विवेक विष्टको पासमा जर्जप्रिन्स कार्कीले प्रहार गरेको बल क्रसबार माथिबाट बाहिरियो । खेलको ७४ औं मिनेटमा आर्मीले २ पटकसम्म पाएको कर्नरको सदुपयोग गर्न सकेन ।
त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानेले खेल सुरु भएको ४ मिनेटमा नै पहिलो गोलले खेलाडीको मनोबल गिरेको बताए । पहिलो हाफमा धेरै मिस पास भएको न्यौपानेले सुनाए । उनले खेलमा २ टिम नै बलियो भएको बताए ।
मनाङ मस्र्याङदीका प्रशिक्षक फुजा टोपेले त्रिभुवन आर्मी क्लबले राम्रो खेल खेलेको बताए । उनले खेलाडीलाई अब पुलिससँग फाइनलमा प्रतिस्पर्धा गर्न तयारी गर्ने बताए । पुलिसको टिम राम्रो रहेको योजना बनाएर खेल्ने उनले सुनाए ।
फाइनलमा पुलिस र मनाङको चौथो भेट
नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दीबीच शनिबार फाइनल खेल हुनेछ । यसअघि नै सहारा क्लब पोखराले आयोजना गरेको क्याराभान कप र आहा रारा गोल्डकपमा ६ पटकसम्म पुलिस र मनाङको भेट भएको छ । क्याराभान कपसहित यो प्रतियोगिताभन्दा अघि पुलिस र मनाङ ३ पटक फाइनलमा प्रतिस्पर्धा गरेका छन् ।
सहारा क्लबले आयोजना गरेको क्याराभान कपमा २–१ गोलले मनाङलाई हराउँदै पुलिसले उपाधि जितेको थियो । दोस्रो आहा रारा गोल्डकपमा ३–१ गोलले पुलिसलाई हराउँदै मनाङले उपाधि उचालेको थियो । तेस्रोमा ३–२ गोलले पुलिसलाई हराउँदै मनाङले उपाधि जितेको छ ।
८ औं संस्करणमा १–० गोलले मनाङ हराउँदै पुलिस क्लब फाइनलमा पुगेको थियो । १० औं संस्करणमा १–० गालले क्वाटर फाइनलमा पुलिसलाई पाखा लगाउँदै मनाङ सेमिफाइनल प्रवेश गरेको थियो । १२ औं संस्करणमा ५–० गोलले मनाङलाई हराउँदै पुलिस फाइनलमा प्रवेश गरेको थियो ।
तपाईको प्रतिक्रिया