करमा ५० प्रतिशत सहुलियत दिन पर्यटनकर्मीको माग

समाधान संवाददाता २०७६ चैत ३ गते १२:५२

समाधान संवाददाता
पोखरा

कोरोना भाइरस (कोभिड–१९) संक्रमणले विश्वकै अर्थतन्त्रलाई प्रभावित पार्ने संकेत देखिँदा पर्यटन क्षेत्र झनै चिन्तित बनेको छ । विश्व स्वास्थ्य संगठनले ‘महामारी’ घोषणा गरिसकेपछि नेपालसहित अधिकांश देशले पर्यटक भिसा नदिने सूचना जारी गरिसकेका छन् । कोरोना संक्रमण नियन्त्रण हुने अवधिको निक्र्यौल नहुँदा पर्यटनमा पर्न सक्ने आर्थिक जोखिम न्युनिकरणका लागि भन्दै पोखराका पर्यटन व्यवसायीले सरकारका सबै तहले लिने करमा ५० प्रतिशत सहुलियत गर्न माग गरेका छन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पर्यटनमन्त्री योगेश भट्टराई समक्ष आइतबार काठमाडौंमा प्रत्यक्ष भेटमार्फत पोखराबाट गएको पोखरा पर्यटन संकट व्यवस्थापन समितिले कर सहुलियतसहित विभिन्न माग राखेको हो ।

Advertisement

नेपाल भ्रमण वर्ष २०२० का गण्डकी प्रदेश सहसंयोजक अग्निप्रसाद कँडेल संयोजक रहेको उक्त समितिले बैंकबाट कर्जा लिई पर्यटनमा लगानी गरिरहेका व्यवसायीलाई ठूलो मार परिरहेको बताएको छ । सरकारसँग कर्जा पुनःतालिकीकरण संकट व्यवस्थापन कर्जाको व्यवस्था, पुनःकर्जा र कर्जामा जरिवाना शुल्क हटाउन माग गरेको समिति संयोजक कँडेलले जानकारी दिए । ‘पर्यटन क्षेत्रमा बैंकबाट ठूलो मात्रामा कर्जा लिई स्थायी संरचना निर्माण भइसकेका छन्, जसले राष्ट्रिय पुँजी निर्माणमा पनि योगदान दिएको छ,’ उनले भने, ‘तर यस्तो संकटको अवस्थामा बैंकको उच्च ब्याजदर र मासिक किस्ता तिर्ने अवस्था नहुँदा राष्ट्र बैंकमार्फत बैंकहरुलाई कर्जाको विषयमा आवश्यक निर्देशन दिन माग गरेका हौं ।’

व्यवसायीले लिएको कर्जा अवधिमा १ वर्ष थप र यस वर्षमा बुझाउनुपर्ने कर्जा बापतको दायित्व अन्तिम वर्षमा सार्न माग गरेको उनले बताए । कार्यरत कर्मचारीहरुको रोजीरोटी बन्द हुन सक्ने अवस्थालाई रोक्न र व्यवसायलाई निरन्तरता दिन थप संकट व्यवस्थापन कर्जा उपलब्ध गराउन उनीहरुको माग छ । बैंकको ब्याजदर पुनःकर्जामार्फत एक अंकमा सीमित गरी केही प्रतिशत ब्याजको रकम अनुदान दिन राष्ट्र बैंकसँग पर्यटन व्यवसायीको अनुरोध छ । त्यस्ता व्यवसायीलाई कर्जा विलम्ब बापतको जरिवाना नलिन समेत उनीहरुले सरकारसँग माग गरेका छन् ।

Advertisement

पर्यटन व्यवसायीको माग पत्र बुझ्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोनाबाट मुक्त हुन सरकार लागिरहेकाले मागका सम्बन्धमा पनि यथोचित सम्बोधन गर्ने गरी अघि बढ्ने बताए । अर्थमन्त्री युवराज खतिवडाले महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसले माओवादी द्वन्द्वकालमा भन्दा पनि बढी पर्यटन क्षेत्रलाई असर गरिरहेको सुनाए । पर्यटनसहितका लगानी क्षेत्रलाई उकास्न सरकारले योजना ल्याउने उनको भनाइ थियो ।

‘संक्रमण कतिन्जेलसम्म रहिरहन्छ भन्ने ठूलो अन्योल छ,’ उनले भने, ‘लगानीका क्षेत्रलाई रुग्ण हुन नदिन सरकारले सकारात्मक कदम चाल्छ ।’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले क्षतिको पूर्वानुमान गर्न सरकारलाई नै गाह्रो अवस्था आइपरेको सुनाए । पहिलो चरणमा संक्रमणलाई नै परास्त गर्नुपर्ने उनले बताए । पर्यटनमन्त्री योगेश भट्टराईले संकटको अवस्था पार गरिसकेपछि पर्यटन क्षेत्रलाई पूर्ववत् रुपमै फर्काउन सरकारले योजना बनाउने बताए । उनले भने, ‘यस अवस्थाबाट पर्यटनलाई रिभाइज गराउन केके गर्नुपर्छ हामी तयार छौं ।’

छलफलमा पर्यटन व्यवसायीहरुले सबै प्रदेशमा भरपर्दो क्वारेन्टाइनको तुरुन्तै व्यवस्था गर्न अनुरोध गरेका थिए । कास्की २ की संघीय सांसद विद्या भट्टराई अधिकारी र प्रदेश सांसद राजीव पहारीले व्यवसायीका प्रस्तुत मागलाई सरकारले सम्बोधन गर्नुपर्ने बताए ।

सरकारलाई ध्यानाकर्षण गराउनकै लागि पोखरबाट अग्निप्रसाद कँडेलको नेतृत्वमा पर्यटन व्यवसायीहरुको टोली काठमाडौं पुगेको थियो । टोलीमा नेपाल पर्यटन बोर्ड सदस्य विप्लव पौडेल, पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेल लगायत विभिन्न पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि विकल तुलाचन, हरि भुजेल, भीमसेन भुजेल, सञ्जयकान्त सिग्देल, गोपी भट्टराई, श्री भुजेल, बासु त्रिपाठी, हरिशर्मा गैरे, नरेश भट्टराई, भरतराज पराजुली र उद्योग वाणिज्य महासंघका महासचिव अर्जुन पोखरेल सहभागी थिए । भेटमा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली र पत्रकार अर्जुन गिरीसमेत सहभागी थिए ।

तपाईको प्रतिक्रिया