गोरखा संग्रहालय क्षेत्रमा ठूला सवारी रोक

समाधान संवाददाता २०७६ चैत ३ गते १३:३२

मोहसिन अलि मियाँ
गोरखा

Advertisement

सदरमुकामको ठूलोआँगन क्षेत्रमा मालवाहक सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । गोरखा नगरपालिका ६ मा रहेको गोरखा संग्रहालय आसपासको क्षेत्रमा हेभि सवारीलाई प्रवेशमा रोक लगाइएको हो । उपभोक्ता हित संरक्षण मञ्च र पदेली टोलविकास संस्थाको आग्रहमा गोरखा नगरपालिकाले त्यस क्षेत्रको संरचना संरक्षणका लागि ठूला खाले सवारीलाई प्रवेश नदिने निर्णय गरेको हो ।

‘ठूलो आँगन क्षेत्र गोरखाको मात्रै होइन देशकै इतिहास जोडिएको क्षेत्र पनि हो, यहाँका संरचनालाई हेभि गाडीले असर गर्न सक्छ भनेर प्रवेशमा रोक लगाएका हौं’ नगरप्रमुख राजनराज पन्तले भने, ‘यहाँका सडकमा सबै ढुंगा बिच्छाइएको छ, त्यसलाई जोगाउनु हाम्रो कर्तब्य हो ।’

Advertisement

पुरातात्विक क्षेत्र र साँघुरो सडक भएकाले यस क्षेत्रमा सवारी प्रवेश गर्दा संरचना बिग्रदै गएको भन्दै नगरपालिकाले त्यस्ता सवारीलाई रोकेको बताएको छ । त्यस्तै यस क्षेत्रमा आन्तिरिक तथा बाह्य पर्यटकको समेत आवतजावतलाई सहज बनाउने उद्देश्यले ठूला सवारी रोक्नु परेको नगरप्रमुख पन्तको भनाइ छ । ‘१२ महिना पर्यटक आवतजावत गर्ने क्षेत्र पनि हो, सडक पनि धेरै साँघुरो छ’ उनले भने, ‘ऐतिहासिक संरचनाको संरक्षण गर्दै पर्यटकलाई हिडडुललाई सहज बनाउने हाम्रो उद्देश्य हो ।’

यस क्षेत्रमा सवारी प्रवेश रोक लगाइएसँगै चिल्ड्रेनपार्क हुँदै सतिपिपल निस्कने सडक प्रयोग गर्न सवारी चालकलाई नगरपालिकाले आग्रह गरेको छ । यस सडकको स्तरोन्नतिका लागि गत वर्षदेखि नै लगानी गरिरहेको नगरपालिकाले यस वर्ष पनि २५ लाख बजेट बिनियोजन गरेको छ । ‘हामीले प्रवेश रोक मात्रै लगाएका छैनौं, विकल्पमा धारापानी–चिल्ड्रेनपार्क हँुदै सतिपिपल सडकलाई स्तरोन्नति पनि गरेका छौं’ नगरप्रमुख पन्तले भने, ‘अघिल्लो वर्ष ढलान हुन बाँकी काम पूरा गर्न यो वर्ष हामीले २५ लाख रुपैयाँ छुट्याएका छौं ।’

Advertisement

तपाईको प्रतिक्रिया