डेंगु सतर्कता

समाधान संवाददाता २०७६ चैत ३ गते १४:२६

संसारभरिको ध्यान कोरोना भाइरसले भंग गरिरहेको छ । नेपालमा भने कसैलाई कोरोना लागेको पुष्टि भएको छैन । यो सुखद संयोग हो । हामी प्राविधिक रुपमा कमजोर भएको र सचेत पनि नभएका कारण परीक्षणकै अभावले पनि कोरोनाको खाँटी जानकारी नआएको हुनसक्ने सम्भावना पनि छँदैछ । तर, कोरोना भाइरसबाट कुनै नेपालीलाई पनि हानि नोक्सानी नुहुनु आफैंमा सौभाग्यकै कुरा भएको छ । कोरोनाजस्तै ज्यानामारा अर्काे रोगले भने नेपालीलाई छोइसकेको छ । त्यो रोग हो, डेंगु । लामखुट्टेबाट लाग्ने यो रोग गर्मी मौसम सुरु हुँदा नहुँदै देखा परिसक्यो । गण्डकी प्रदेशकै ५ जनालाई डेंगु लागेको पुष्टि भइसकेको छ । देशभरिमा ३६ जनामा यो रोग देखा परेको छ । कोरोना भाइरसजस्तै उपचार पत्ता लगाउन बाँकी नै रहेको रोग हो डेंगु पनि ।

जसरी कोरोनाको उपचार पत्ता लाग्न बाँकी रहेको हुँदा ज्यानमारा बनिरहेको छ, उस्तै डेंगु पनि महामारीको कारण बन्न सक्ने सम्भावित रोग हो । यो रोग लाग्नै नदिने उपाय नै बँच्ने पहिलो र अन्तिम जुक्ति हो । बँच्नका लागि पनि लामखुट्टेले टोक्नुबाट जोगिनुपर्छ । लामखुट्टेबाट जोगिन त्यसका बासस्थानहरु नष्ट हुनुपर्छ । अथवा हुँदै हुनु हुँदैन । घर, बारी, सडक वा जहाँ पनि जमेको पानीमा बस्ने लामखुट्टेबाट डेंगु रोग लाग्छ । तसर्थ पानी जम्न नदिने उपाय गर्नुपर्छ । तर हामी कतिपयका घरमा थोत्रा टायरमा त्यत्तिकै पानी जमेको हुन्छ । अरु भाँडाकुँडामा पनि पानी जमेर बसेको हुन्छ । आकाशबाट परेको पानी वा अरु प्रकारबाट त्यसरी कुनै पनि भाँडाकुँडा वा खाल्डाखुल्डीमा जम्न दिएनौं भने लामखुट्टे बस्न पाउँदैन । बासस्थान नभएपछि त्यसले सन्तान उत्पादन गर्न पनि सक्दैन र डेंगु फैलाउन सक्दैन । यो नागरिकस्तरबाट सबै घरघर र परिवारले गर्नुपर्ने कर्तव्य हो ।

महामारी नै आइहाले सरकारको मात्रै मुख ताकेर हुँदैन । सरकारको आफ्नै कर्तव्य हुन्छ, नागरिकको आफ्नै । जसरी कोरोना भाइरसको रोकथामका लागि सरकारले अस्पतालहरुमा आइसोलेसन वार्ड र अन्त क्वारेन्टाइन व्यवस्था गरेको छ, त्यस्तै तयारी डेंगुको लागि पनि जरुरी छ । डेंगु लाग्न नदिन स्थानीय, प्रदेश र संघ सरकारले नागरिकहरुसमेतको हातेमालोमा अभियान चलाउन सक्छ । त्यस सँगसँगै स्वास्थ्य सतर्कताको आवश्यकता छ । औषधीमुलो नै नभएको रोगसँग जुध्ने तयारी ख्यालठट्टा हुन सक्दैन । कोरोना कोरोना भन्दै ध्यान त्यतापट्टिमात्रै भएको बेला फ्याट्ट डेंगुले कसैको ज्यान नलिओस् ।

Advertisement

डेंगु होस् या कोरोना, यस्ता थुप्रै सरुवा र अज्ञात रोगहरुको उपचारका लागि विशेष अस्पताल काठमाडौंमा मात्रै छ । पोखरामा पनि अस्पताल खोल्न भनेर गण्डकी प्रदेश सरकारले संघलाई अनुरोध गरेको छ । बजेट मागेको छ । वास्तवमा पोखरासँगै ७ वटै प्रदेशमा त्यस्ता अस्पताल खोल्न संघले सघाउनुपर्छ । त्यस्तो अस्पताल जुनसुकै मौसम र समयमा पनि चाहिने हुँदा कोरोना र डेंगुले झक्झकाइदिएका छन् । बेलैमा सोचौं ।

Advertisement

तपाईको प्रतिक्रिया