हार्दिक श्रद्धाञ्जली बाबा

समाधान संवाददाता २०७६ चैत ३ गते १५:५४

ऋतु रानाभाट

हिजो आमालाई फोन गरें, सन्चो बिसन्चो सोधें, लगत्तै अर्को प्रश्न मनमा आइसकेको थियो, ‘आमा बुबालाई कस्तो छ ?’ तर मन कन्ट्रोल गरें । अब यो प्रश्न मनबाटै हटाउनुपर्छ मैले । म हरेक समय आमालाई नै फोन गर्थे र बुवाको बारेमा सोध्थें । कारण केही समय अघिदेखि बुवाको घाँटीमा समस्या थियो र आवाज त्यति प्रष्ट बुझिदैंनथ्यो । २०७६ माघ १३ गते रातिको घटनाले परिवारमा सन्नाटा छायो । केही समय अस्वस्थ भएर बुवा हामीबाट सदाको लागि बिदा भइसक्नुभएको छ । बुवाले हामीलाई सदाको छोडेर गएको पनि करिब २ महिना हुन लागिसक्यो, तर मन पटक्कै मानिरहेको छैन । थाहा छ जन्मपछि मृत्यु निश्चित छ । र पनि मृत्यु यति भयावह किन हुन्छ ? लाग्छ बुवा घेरमै बेडमा सुतिरहनु भएकाको छ । संसारमा सबै कुरा किन्न पाईन्छ सिवाय आमाबुवा । आमाबुवाको मायालाई हामीले कुनै कुरासँग पनि तुलना गर्नै सक्दैनौ ।

म अझै विश्वास गर्न सकिरहेकी छैन । बेला बेला मन झसंग हुन्छ, बुवाको त्यो अन्तिम बिदाई, शोकाकुल परिवार, र आमाको फेरिएको रुप । घरको अविभावक गुमायौं हामीले । उज्यालो गुमायौं हामीले र सदा सदाको लागि बुवा गुमायौं । सुन र हिराका करोडौं ढिक्का दिए पनि जीवनको एक क्षण पाइँदैन, र हामीले पाएको यो अमूल्य समय र जीवनलाई मेरो बुवाले जस्तै सधै सतकर्ममा खर्चिऊँ । मैले आफ्नो बुवा भनेर तारिफ गरेको होइन । बुवा समाजसेवी, सकारात्मक सोंच, र सबैलाई असल देख्ने व्यक्ति हुनुहुन्थ्यो । गाउँको वडाअध्यक्षको पनि पद सम्हालेको जिम्मेवार व्यक्ति अझ भनौं सारै रमाइलो व्यक्ति ।

मेरो बुवा दानविर हुनुहुन्थ्यो, बाटो, स्कुल, महायज्ञ, मन्दिर, प्रतिक्षालय, समाजघर तथा पार्टी कार्यालयमा म बुवाको सुगन्ध पाउँछु, जहाँ बुवाले आर्थिक सहयोग गर्नुभयो । आज हामीबीच बुवाको भौतिक शरीर नभएपनि लाग्छ, आत्मा सधैं हाम्रै वरिपरी रहनेछ । बुवाको आत्मविश्वासीपन, कर्मठ, सहयोगी भावना र लगनशिलताले हामी परिवारलाई मात्र होइन, समाजलाई नै ठूलो पाठ सिकाएको छ । बुवाको सतकर्म, पार्टीप्रतिको इमान्दारिता र निष्ठावान चरित्रका कारण १३ औं दिनभित्रको कार्य चलिरहँदा केन्द्रियस्तरका शीर्ष नेता रामचन्द्र पौडेलज्यूको उपस्थितिले परिवारमा सान्त्वना थप्यो ।

हामीले बुवासँग बिताएका साना–साना पल पनि त्यतिकै मूल्यवान् छन् । जसलाई करोडौंको धनसम्पतिले पनि खरिद गर्न सक्दैन । त्योमध्ये सबैभन्दा धेरै स्कुले जीवनको याद आउँछ । मेरो दिदी दाइ म भन्दा अल्ली बढी सिनियर भएकोले मेरो साथी भनेको दाइदिदीको छोराछोरी थिए र हामी संयुक्त परिवारमा हुर्किएका हौं । अनि हामी सबैको साथी बुवा हुनुहुन्थ्यो । बुवाले हामीलाई बेला बेलामा फिल्म हेर्न लैजानुहुन्थ्यो । सबैभन्दा रमाइलो कुरा त के भने फिल्ममा हिरोको इन्ट्री हुँदा होस् या फिल्मभित्रको कुनै कमजोर नारीपात्रलाई सशक्त ढंगले प्रस्तुत गर्दा होस्, बुवा आफ्नो सिटबाट जुरुक्क उठेर स्याबास नानी भन्दै ताली बजाउनुहुन्थ्यो । तर त्यति बेला हामी भनें लाजले भुतुक्कै हुन्थ्याैं । बुवाले हाम्रा आवश्यकताका हरेक चीज पूरा गरिदिनुहुन्थ्यो । त्यसैले पनि होला स्कुलमा सबैभन्दा टिपटप हामी नै हुन्थ्यौं । हामीले लगाउने स्कुलको जुत्ता पनि बुवाले नै पोलिस गरेर ठिक्क पारिदिनुहुन्थ्यो । यी सबै कुरा अब सम्झनामा मात्रै रहे । लाग्छ, राम्रा व्यक्तिबाट सिकेका राम्रा चीजलाई हामी आफैंले व्यवहारमा उतार्नको राम्रा चीज हामीबाट खोसिन्छन् र धेरै टाढा जान्छन् ।

बुवाको निधनले परिवार सुन्य भएको छ । हामीलाई गहिरो घाऊ लागेको छ । तर सम्हालिनुपर्छ, दुखाई भुल्नुपर्छ । आफु बाँच्नुपर्छ, अनि सम्बन्ध बचाउनुपर्छ । घाऊ त गहना हुन जिन्दगीका, जहाँ नेर दुख्छ त्यहीं त महसुस हुन्छ जिन्दगी । घाउलाई मलम लगाउँदै विस्तारै अगाडि बढाउनुपर्छ जिन्दगी ।

२०७६ माघ १४ गतेको बिहान बुवाको अन्तिम बिदाईको समय थियो, बुवालाई आँगनमा सुताइएको थियो । परिवार, आफन्तजन शोकाकुल अवस्थामा थियौं । हामी सबै जना बुवाको नजिकै बसिरहेका थियौं । मलाई लाश भनेपछि असाध्यै डर लाग्थ्यो । मैले त्यति नजिकबाट आजसम्म कसैको लाश हेरेकी थिइन् । तर आज डर कता गयो ? थाहा छैन । सायद मायाले होला र आफ्नो भनेर होला । मैले एकनासले बुवालाई हेरिरहें । मनमा धेरै कुरा आइरहेका थिए, ‘बुवा बेहोस मात्र हुनुभएको हो, सास अझै बाँकी छ’ तर यथार्थ त्यो थिएन । बुवा त चीर निन्द्रामा गइसक्नु भएको थियो । मलाई त मुटुमा गाँठो परिरहेको थियो, झन् मेरो आमालाई कस्तो भयो होला ?

यो अवस्थामा मैले आमालाई हेर्न सकिरहेकी थिइन् । बुवाको लाश उठाउनै लाग्दा एउटा कारुणिक दृश्यले मन झनै भक्कानियो । अन्तिम बिदाईसँगै आमाले आफ्नो सौभाग्यका सामान सिन्दुर, चुरा, पोते सबै पोको पारेर बुवासँगै पठाइदिनु पर्दो रहेछ । कस्तो परम्परा होला सोचें, र फेरि सम्हालिएँ । एक्लो त हामीले भन्दा पनि आमाले महसुस गरिरहनु भएको होला, संसारै सून्य लाग्यो होला । कति सम्झना मानसपटलमा ताजै होलान् । छोराछोरी आ–आफ्नो कर्ममा जानेनै भए । बुढेसकालको एकअर्काको साहारा, साथी आफूबाट सधैंको लागि बिदा भएपछि एक्लो महसुस त हुने नै भयो । तर यी सब दुखलाई हामीले अब शक्तिमा बदल्दै लैजानुपर्छ ।

जीवनमा कुनै पनि कुरा स्थायी हुँदैन । हाम्रो जीवन पनि अस्थायी हो । कति बेला के हुन्छ हामी आफैंलाई थाहा हुँदैन । हरेक रातपछि बिहान अवश्य आउँछ । हामीलाई परिस्थितिले भन्दा पनि मनस्थितिले कमजोर बनाउँछ । परिस्थिति गुज्रिसक्यो । अब हामीले आफ्नो मनस्थितिलाई बलियो बनायौं भनें भगवानरुपी बुवा पनि हामीसँग खुसी हुनुहुनेछ । बुवा तपाईंले गरेका राम्रा कामको फलले आज हजुरको बास राम्रो ठाउँमा पक्कै छ । र पनि स–परिवारको तर्फबाट कामना गर्छौं, बैकुण्ठमा बास मिलोस् । हार्दिक श्रद्धाञ्जली ।।।

तपाईको प्रतिक्रिया