शुक्लागण्डकीकाे जिपीमा आइसोलेसन कक्षकाे स्थापना

समाधान संवाददाता
दमौली
तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रले कोरोना भाइरसको शंकास्पद बिरामीको उपचार गर्न आइसोलेसन कक्ष स्थापना गरेको छ ।
अस्पतालमा २० श्ययाको आइसोलेसन कक्ष निर्माणको तयारी अन्तिम चरणमा पुगेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । ‘अस्पतालको भवनभित्र १ कोठामा आइसोलेसन कक्ष निर्माण भइरहेको छ’, उनले भने, ‘केही दिनभित्रै सबै काम सकिन्छ ।’
सो कक्षमा सो भाइरसका शंकास्पद बिरामीको उपचार गर्ने, खकार र सिगानको नमूना संकलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइने निर्देशक डा श्रेष्ठले जानकारी दिए । कोरोनाको विश्वव्यापी संक्रमणलाई मध्यनजर गरेर स्थानीयस्तरमा पूर्वतयारी स्वरुप आइसोलेसन कक्ष स्थापना गरिएको बताइएको छ । गण्डकी प्रदेश सरकारले यहाँसहित पोखराका ५ अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरेको छ । पोखराका ४ अस्पतालमा ७० श्ययाको आइसोलेसन कक्ष स्थापना गरिएको छ ।
मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक अस्पतालमा ३० र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० श्ययाको आइसोलेसन कक्ष स्थापना भएको बताइएको छ । गण्डकी प्रदेशको मुख्य नाका तनहुँको आँबुखैरेनी गाउँपालिका ४ स्थित पुलजीपमा कोभिड १९ परीक्षण गर्न आइतबार स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ ।
सहायता कक्षबाट कोरोना भाइरसविरुद्ध सचेतनामूलक सन्देश प्रवाह गरिने र साबुनपानीले हात धुने तरिका सिकाइने गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए । सहायता कक्षमा २ स्वास्थ्यकर्मी खटाइएको छ । ‘पृथ्वीराजमार्ग हुँदै दैनिक सयौं सर्वसाधारण गण्डकी प्रदेश प्रवेश गर्ने गर्दछन्’, उनले भने, ‘सर्वसाधारणलाई कोरोना भाइरसबाट बच्ने उपायबारे सहायता कक्षबाट सचेतना प्रदान गरिनेछ ।’ उक्त सहायता कक्षको गाउँपालिकाका अध्यक्ष थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, योजना अधिकृत बुद्धिप्रसाद भुसाल लगायतले अवलोकन गरेका थिए ।
जिल्लाका विभिन्न स्थानीय तहले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । कोरोना भाइरस स्वासप्रश्वासबाट फैलनेमात्र नभई हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाको माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग हुने स्थानीय तहले आह्वान गरेका छन् ।
नियमितरुपमा साबुनपानीले हात धुन, खोक्दा, हाछ्युँ गर्दा नाक र मुख ढाक्न, ज्वरो आउने, घाँटी दुख्ने तथा श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।
तपाईको प्रतिक्रिया