गाउँकै होस्टेलमा पढ्छन् चेपाङ

समाधान संवाददाता २०७६ चैत ४ गते १४:०७

मोहसिन अली मियाँ
गोरखा

गण्डकी गाउँपालिका १ मकैसिङका कुशल चेपाङ आफ्नो गाउँको स्कुल छाडेर गत वर्षदेखि तोमनडाँडा आधारभूत विद्यालयमा पढ्दै छन् । लामागाउँ घर भएका चेपाङलाई गत वर्षसम्म विद्यालय पुग्नै घण्टौं हिड्नुपर्ने बाध्यता थियो । अब उनको यो बाध्यता हटेको छ ।

गण्डकी ६ भुम्लिचोकमा रहेको तोमनडाँडा स्कुलमा गाउँपालिकाले चेपाङ बालबालिकाका लागि होस्टेलको व्यवस्था गरेको छ । यसपछि घण्टौं हिडेर स्कुल पुग्नुपर्ने कुशलसँगै २२ जनाको बाध्यता हटेको छ । ‘१ वर्ष भयो होस्टेल बसेको, ३÷४ महिनामा एकपल्ट घर जान्छांै,’ कुशलले भने, ‘पहिला त स्कुल जान आउनै मुस्किल थियो, अहिले साह्रै सजिलो भएको छ ।’

Advertisement

अधिकांश चेपाङ बालबालिका अध्ययन गर्ने तोमडाडाँ विद्यालयमा गण्डकी गाउँपालिकाले गत शैक्षिक सत्रदेखि होस्टेलको व्यवस्था गरेको हो । कक्षा ६ का २२ विद्यार्थीलाई छात्रावासमा राखेर विद्यालयले पढाउँदै आएको छ । त्यसो त छात्रावासमा गण्डकीका मात्रै होइन, सहिद लखन गाउँपालिकाका चेपाङ बालबालिका पनि छन् । ‘यो सुरु वर्ष हो, ६ कक्षाका २२ जना विद्यार्थीलाई हामीले होस्टेल राखेका छौं,’ प्रधानाध्यापक कुलबहादुर चेपाङले भने, ‘गण्डकी गाउँपालिका भरका वडा र सहिद लखनको ताक्लुङका समेत विद्यार्थीलाई छात्रावासमा राखेर पढाएका छौं ।’

२ सय ९ विद्यार्थी रहेको सो विद्यालयमा गरिब, असाहाय र जेहेन्दार विद्यार्थी छनोट गरी छात्रावासमा बसेर पढ्ने व्यवस्था गाउँपालिकाले मिलाएको हो । हरेक वडाका चेपाङ बस्तीबाट छात्रावासमा बस्ने बालबालिका छनोट गरिन्छ । ‘सबैलाई अहिले राख्न हामीसँग भएको स्रोत साधनले भ्याउदैन । छनोट समिति बनाएका छौं । त्यसले सिफारिस गरेका विद्यार्थीलाई होस्टेलमा राखिन्छ,’ प्रअ चेपाङले भने। ‘यो अभियानले पढ्न नपाएका चेपाङ बालबालिकालाई ठूलो सहयोग गरेको छ ।’

Advertisement

हाल १३ छात्रा र ९ छात्र आवासीय रुपमा पढ्छन् । हाल कक्षा ८ सम्म रहेको सो विद्यालयलाई यस वर्षदेखि कक्षा बढाउँदै माध्यामिक बनाउने तयारीसमेत छ । विद्यालयको मुख्य भवनसँगै रहेको अर्को भवनलाई छात्रावासका रुपमा प्रयोग गरिएको छ । छात्रावासमा बसेका विद्यार्थाीलाई बिहान बेलुका अतिरिक्त कक्षासमेत दिइन्छ । त्यसका लागि विद्यालयले ३ शिक्षकको व्यवस्था गरेको छ । ‘हामी पनि विद्यार्थीसँगै होस्टेलमा बसेर उनीहरुको रेखदेख गर्छौ,’ शिक्षक भिमलाल चेपाङले भने ।

चेपाङ बालबालिकाको शैक्षिक गुणस्तर वृद्धिका लागि गत वर्षदेखि गाउँपालिकाले यो कार्यक्रम सुरुवात गरेको अध्यक्ष होमबहादुर रानाले बताए । ‘मुख्य कुरा चेपाङ बालबालिकालाई प्रोत्साहन गर्नु नै हो । पढाइमा हौसला दिन हो,’ गाउँपालिका अध्यक्ष रानाले भने, ‘गत वर्षदेखि निरन्तर ५ लाखका दरले बजेट विनियोजन गर्दै आएका छौं ।’ हाल गण्डकी गाउँपालिकाका मकैसिङ, ताङ्लीचोक, भुम्लिचोक, घ्याल्चोकसहित सहिद लखन गाउँपालिकाको ताक्लुङ लगायतका स्थानका चेपाङ बालबालिका आवासीय रुपमा विद्यालयमै बसेर पढ्दै आएका छन् । सो क्षेत्रमा गरिब तथा चेपाङ समुदायको बसोवास रहेकाले अधिकांश बालबालिका बीचैमा पढाइ छाड्ने गर्छन् ।

पछिल्लो समय सरकारले शैक्षिक क्षेत्रमा गरेको उल्लेख्य लगानीसँगै सुरुवात भएका बिभिन्न अभियानले सो दर विस्तारै घट्दै गएको सरोकारवालाको भनाइ छ ।

तपाईको प्रतिक्रिया