एलपी ग्यासः उद्योगमा पर्याप्त, बजारमा अभाव

समाधान संवाददाता २०७६ चैत ५ गते १२:०९

अनुप पौडेल
पोखरा

विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसले नेपाली बजार प्रभावित बनेको छ । अहिले बजारमा दैनिक उपभोग्य वस्तु हुन थालेको छ । अन्य वस्तुमा खासै प्रभाव नपरे पनि खाना पकाउने ग्यास अभाव हुन थालेको उपभोक्ताले गुनासो गरेका छन् । ‘भन्नलाई नाकाबन्दी लाग्यो भन्छन् । यस्तो भयो, उस्तो भयो भन्छन् । तर सबै बिगारेको विचौलियाले हो जस्तो लाग्छ,’ नयाँबजारकी कल्पना पौडेलले भनिन् ।

कल्पनासँगै भेटिएकी निर्मला लम्सालले पनि बेला बखत विभिन्न बाहानामा अभाव सिर्जना हुने गरेको सुनाइन् । ‘ग्यास अभाव हुन्छ भन्ने हल्ला सुनेकी थिएँ । अहिले ग्यास कम आएको रहेछ,’ निर्मलाले भनिन् । आफूले १ महिनाका लागि पहिले नै खरिद गरेर राखेकाले तत्काललाई कुनै समस्या नभएको उनको भनाइ छ ।

Advertisement

खुद्रा बिक्रेता भन्छन्ः डिलरले फोन उठाउनै छोडे
‘डिलरलाई फोन गरेको १ हप्ता भइसक्यो । फोन नै उठाउँदैनन्,’ नयाँबजारका पुष्प श्रेष्ठले भने, ‘अहिले मसँग खाली सिलिन्डरमात्रै छन् ।’ १० दिन पहिलेसम्म उनले सहज रुपमा ग्यास बेचिरहेका थिए । नियमित आपूर्ति भइरहेका बेला अभाव हुन्छ भन्ने हल्ला चले पनि उनलाई अभाव हुन्छ भन्ने लागेकै थिएन । ‘खासै फाइदा पनि हुँदैन । आजभोलि त ग्यास बेच्नै नपरे हुन्थ्यो जस्तो लाग्न थालिसक्यो,’ श्रेष्ठले सुनाए । अरु बेला आफूले हप्तामा १५ वटासम्म सिलिन्डर बेच्ने गरेको उनले भनाइ छ ।

अर्का व्यापारी दीपेन्द्र गोदारले पनि अहिले सहज रुपमा ग्यास पाइरहेका छैनन् । ४ डिलरबाट ग्यास किन्दै आएका उनले भने, ‘अभाव हुन थाल्यो भने पछि सबै डिलरबाटै सकिन्छ । हामीकहाँ आउँदैन ।’ अहिले चिनीको मूल्य प्रतिबोरा १ सय रुयैयाँ बढे पनि अन्य उपभोग्य वस्तुमा खासै मूल्यवृद्धि नभएको उनले बताए । डिलरले निश्चित संख्यामा ग्यास बजारमा पठाउने गरेको कतिपयको गुनासो छ ।

Advertisement

खुद्रा बिक्रेताको चलखेलः अनुगमन समिति
खुद्रा बिक्रेताले डिलरले ग्यास उपलब्ध नगराएको बताइरहँदा अनुगमन समितिले भने खुद्रा बिक्रेताका कारण बजारमा ग्यास अभाव देखिएको जनाएको छ । ग्यासका खुद्रा बिक्रेताले बढी चलखेल गरेको प्रदेश बजार अनुगमन समिति सदस्य कपिलनाथ कोइरालाले बताए । ‘ग्यासका विषयमा खुद्रा बिक्रेताले बढी चलखेल गरेका छन् । हल्लाका भरमा उपभोक्ताले पनि अतिरिक्त ग्यास सञ्चय गर्न खोज्नुभएको छ । यसले पनि समस्या बनाएको छ,’ उपभोक्ता मञ्च गण्डकीका अध्यक्षसमेत रहेका उनले भने । विश्वभर महामारीका रुपमा फैलिइरहेको कारोना भाइरसको नाममा खुद्रा बिक्रेता अतिरिक्त रकम कमाउन लागिपरेको कोइरालाले आरोप लगाए ।

उद्योगबाट नियमित रुपमा बजारमा ग्यास आएको उनले जानकारी दिए । उनले भने, ‘हामीले केही दिन पहिले डिलर कहाँ पुगेर अनुगमन गरेका थियौं । तर त्यहाँबाट पनि बजारमा पर्याप्त संख्यामा ग्यास आएको पाइयो ।’ बजारमा कुनै वस्तुको समस्या नहुने भन्दै उनले सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरे ।

ग्यास व्यवस्थापन जिम्मा प्रहरी र सेनालाई दिने चेतावनी
समितिले गएको साता पोखराका ग्यास डिलर अनुगमन गरेको थियो । ४ दिन पहिलामात्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट पोखरा आएका थिए । पोखरा आएका बेला उनी ग्राहकको भेषमा केही खुद्रा पसलमा पुगेका थिए । त्यस बेला उनले मूल्यमा खासै परिवर्तन नभएको बताएका थिए । मन्त्री भट्टले सोमबारमात्र पारदर्शी रुपमा ग्यास वितरण नगरे व्यवस्थापनको जिम्मा प्रहरी र सेनालाई दिने चेतावनी दिएका छन् ।

ग्यास नियमितः बिक्रेता संघ
कास्कीमा दैनिक ५ हजार ५ सय सिलिन्डर ग्यास खपत हुने गरेको छ । अहिले पनि सोही संख्यामा ग्यास आइरहेको र कुनै अभाव नरहेको एलपी ग्यास बिक्रेता संघ कास्कीले जनाएको छ । ‘एउटै व्यक्तिले ४÷५ वटासम्म सिलिन्डर राख्दा समस्या भएको हो । कास्कीमा ग्यास अभाव छैन,’ संघका अध्यक्ष बालकृष्ण कोइरालाले भने, ‘पहिले पनि ५ हजार ५ सय वटा सिलिन्डरसम्म ग्यास आउँथ्यो । अहिले पनि त्यति नै आएको छ ।’ १ परिवारले २ वटा सिलिन्डरसम्म राख्दा कुनै असर नपर्ने भएकाले बढी सञ्चय नगर्न उनले उपभोक्तालाई आग्रह गरे ।

‘भारतले नाकाबन्दी गरेताका एकजनाले ८ वटासम्म सिलिन्डर राखेकाले अहिले त्यसलाई साट्न खोज्दा १÷२ वटा सिलिन्डर हुने समस्यामा पर्नुभएको छ । यो कृत्रिम अभाव हो,’ उनले भने । कास्कीमा ७ लाख ग्यास सिलिन्डर रहेको अनुमान संघको छ । तीमध्ये मासिक १ लाख ५० हजार सिलिन्डर ग्यास खपत हुने गरेको छ ।

गृहलक्ष्मी, शक्ति, भानु, बाबा, जानकी, लुम्बिनी लगायत कम्पनीका ग्यास सिलिन्डर कास्कीमा छन् । गृहलक्ष्मी र शक्ति पोखरेली कम्पनी भएकाले पनि यहाँको बजारमा यी २ कम्पनीको दबदबा छ । गृहलक्ष्मी र शक्तिले पोखरामा खपत हुने ग्यासको ७० प्रतिशत हिस्सा ओगटेको अध्यक्ष कोइरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया