श्रृंगार बिनाकी बेहुली

समाधान संवाददाता २०७६ चैत ५ गते १३:४८

जमुना वर्षा शर्मा

‘बहिनी भोलि मेरो छोराको टिकाटालो गर्ने, कोर्ट म्यारिज गरिसके, फेरि पनि आमा बुबाको मन, यसो आफन्तमाँझ खुसी साटौं भनेर, मैले हजुरलाई सम्झिएँ ज्वाइँ लिएर आउनु है ।’ साँझ ८ बजेतिर फोन आयो पर्यटन व्यवसायी विष्णु गुरुङ ‘एकता’को ।

‘अनि वर्षा बहिनी बुहारी पनि तिमीले चिनेको हो, उसले पनि तिमीलाई चिनेको रहेछ ।’ मैले हो र दिदी को हो ? भन्दै प्रश्न गरें । उहाँले सरीता पुरी भन्नुभयो । सरीता पुरी ! एकछिन ‘कन्फ्युज’ भएँ । मैले चिनेकै सरीता हो कि अरु मनमा जिज्ञासा रहिरह्यो ।

Advertisement

भोलि पल्ट ११.३० मा लेकसाइड विष्णु दिदीको घर पुग्यौं । गुरुङ समुदायका आफन्तहरुको रमाइलो गफगाफ चलिरहेको थियो । दिदीमा बेग्लै खुसी थियो । उहाँ पाहुनालाई खादा लगाएर स्वागत गर्नमा व्यस्त हुनुहुन्थ्यो । हाम्रो आगमनलाई स्वागत गर्दै सोफामा बस्न आग्रह गर्नुभयो । मेरो मनमा भने बेहुली हेर्ने चाहाना तीब्र भयो । सोधे खै त बेहुली ? दिदीले भन्नुभयो। ‘बेहुली उता छ ।’ उतै गएँ म पनि । कतैबाट आवाज आयो ‘वर्षा दिदी !’ एक टक हेरें, सरीतालाई । आजकी बेहुली उही मैले चिनेकै सरीता पुरी । ओहो ! साँच्चै तिमीनै पो रहेछौ । खुसीले अंकमाल गर्दै बधाई दिए ।

‘अनि एकटक सरीतालाई हेरें, म पनि यहि समाजकी पात्र न हुँ, बेहुलीभन्दा बित्तिकै रातो साडी, गरगहनाले सजिएकी १ पात्रको कल्पना हुनु नौलो नै के भयो र ।’ तर सरीता विल्कुल फरक थिइन् । मेरो मानसपटलकी बेहुली भन्दा । ‘न हातमा चुरा, न निधारमा टिका, न गलामा पोते, न त रातो सारी ।’ सामान्य कुर्तामा हँसिलो अनुहारमा सजिएकी उनी कुनै कथाकी काल्पनिक क्रान्तिकारी पात्र जस्तै । तर सत्यताको धरातलमा उनी साच्चै बेहुली थिइन् ‘गरगहना र मेकअप बिनाकी ।’ त्यसै गरी बेहुला पनि सामान्य पहिरनमा थिए । कुनै तामझाम थिएन ।

Advertisement

विष्णु दिदी आफैंमा महिला सशक्तीकरणकी १ नमुना पात्र । अमेरिकामा रहँदा पहिलो ट्याक्सी चालक महिला उहाँ हरेक कुराको सुरुआत आफैंबाट गर्नुपर्छ भन्ने मान्यता राख्ने । सामाजिक क्षेत्रमा समेत सक्रिय उहाँले महिला अधिकार र स्वतन्त्रताको पक्षमा अमेरिका बस्दा देखिनै सशत्तरुपमा आवाज उठाउँदै आउनु भएको हो । तसर्थ परम्परागत मूल्य मान्यता भित्रको ढोंगको पर्दा उघार्न उहाँले बुहारीलाई साथ दिनुभयो । बुहारीको खुसीलाई सर्वोपरि ठान्दै उनको स्वतन्त्रतामा हस्तक्षेप गर्नुभएन । आफन्तले बुहारीलाई गरगहना र साडी नलगाइदिएको भनेर उहाँमाथि गरिएका कटाक्षलाई सामान्य ठान्नुभयो । किनकि नेपाली समाजमा सायदै होलान् जहाँ सिन्दुर, चुरा, टीका पोते र साडी बिनाको बिहे । छोरा बुहारीले आत्मसात् गरेको त्यो सकारात्मक कदममा उहाँको पूरा साथ रह्यो ।

पाहुना आइरहेका थिए । प्रगतिशील मानिने बिहेमा पनि गहना नभए पनि बेहुलीको श्रृगांरपटार भने हुने गरेको देखिन्छ । सबै जना बेहुली हेर्न उत्साहित मनसँगै भित्रिन्थे । बेहुली जुरुक्क उठ्थिन नमस्कार गर्थिन् । बेहुलीको सादकीपन देखेर उक्त समारोहमा आएका मान्छे १ अर्काको अनुहार हेरा हेर गर्थे तर अगाडिनै केही भनिहाल्ने आँट भने गर्दैनथे ।

दिनको १ बजे बेहुला बेहुलीलाई टिका टालो गर्न सुरु गरियो । टीका लगाउने बेलामा पनि रमाइलो परिवेश देखियो । जब बेहुला बेहुलीलाई टिका लगाउँदा ठूलोबडा अर्थात् केटाको बुबाले लगाउनुपर्छ भन्ने पाहुनाहरुबाट आवाज आयो । विष्णु दिदीको आवाज केही चर्को भयो । उहाँले ती आवाजलाई रोक्दै जवाफ दिनुभयो ‘नौ महिना पेटमा राखेर जन्माउन म ‘आमा’ ठूलो नहुने, अनि बुबालाई मात्र किन ठूलो देख्ने ?’ सोच परिवर्तन गरौं भनेर आफ्नो स्पष्ट धारणा राख्नुभयो । उहाँको भनाइमा पछि सहमति जनाउँदै ताल पनि बज्यो । उहाँको स्पष्ट विचारले तत्काल ठूलो स्वजस्तो लागे पनि परिवर्तनको झिल्कालाई सबैको मानपटलमा पुर्‍याउन सघाएकोमा कुनै शंका थिएन ।

बेहुलीको माइती गाउँ एवं पार्टीगत सम्बन्धकोे रुपमा माइतीको रुपमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र उहाँकी पत्नी पनि बिहेमा उपस्थित हुनुहुन्थ्यो ।

सामाजिक रुपान्तरणकै १ योद्धा हुन् सरीता । विद्यार्थी राजनीतिको उचाइमा अग्रपंत्तिमा पर्न सफल उनी अनेरास्ववियुकी केन्द्रीय सदस्य हुन् । १५÷१६ वर्षको उमेर देखिनै कम्युनिस्ट विचारबाट राजनीतिमा होमिएकी उनी २०७३ सालमा हुने स्ववियु निर्वाचनमा सभापतिको उम्मेदवारबाट उनको चर्चा निकै चुलिएको थियो । बिडम्बना, चुनाव भएन र उनको उमेर हद पनि नाघ्यो ।

भड्किलो र विलासी जीवनसँग टाढा रहेर सामाजिक जीवनको मूल्य निष्ठा लागि आफूले बोकेको वैचारिक आस्थामा अडिक उनले भनिन्, ‘मलाई बेहुलीको रुपमा श्रृंगारसहित गरगहना र रातो साडीमा देख्न खोज्नु स्वाभाविक हो । मलाई धेरै प्रश्न आउँछ भन्ने मैले जानेर नै ती तमाम प्रश्न सुन्न सक्ने मानसिकता लिएर उभिएकी छु ।’

यतिबेला नायिका आँचल शर्मा र डा. उदीप श्रेष्ठको बिहेको चर्चाले सामाजिक सञ्जाल निकै तातेको छ । एकै समयका २ बिहे १ नायिका थिइन् अर्की युवा नेता । ‘मेरो कमाइ मेरो रोजाइ अरुलाई के मतलब’ भन्दै सामाजिक उत्तरदायित्व चटक्क भुलेर १६ लाखको लेहेंगा र ६० लाखको गहना अनि ३ लाखको मेकअपमा आफूलाई सबैभन्दा सुन्दरी भएको घोषणा गरिरहेकी बेहुली आँचलको अगाडि कयाैं गुणा सुन्दर लागिन् मलाई मेकअप र गरगहना बिना बेहुली सरीता ।

‘जिन्दगीको यात्रा एकअर्का बीचको माया विश्वास र साथले जिउँने हो । आडम्बरी पनले खुसी र स्वतन्त्रताको घेरालाई साँघुरो बनाइदिन्छ,’ सरीताले बेहुली हुन आवरणमा श्रृगारिनुले आफ्नो जीवनमा कुनै महत्व नराख्ने तर्कसहितका धारणा राखिन् । उनले भनिन् ‘म स्वतन्त्र आफ्नो जीन्दगीको गोरेटोमा हिड्न रुचाउँछु । युधिर मेरो यात्राको सहयात्री हो, मलाई पूरा विश्वास छ म हिड्ने बाटो र ऊ हिड्ने बाटो कहिँकतै फरक होला तर गन्तव्यमा पुग्ने यात्री हामी सँगसँगै हुनेछौ ।’ बेहुला युधिर जो इन्जिनियर हुन् उनले पनि सरीताको खुसीनै आफ्नो खुसी भएको प्रतिक्रिया दिए ।

सरीताले रोजेको बाटोमा आफूले सधैं साथ दिने वाचा गरे । विवाह समारोहमा एकछिन अघिसम्म फिका लागेकी बेहुली उनका सुन्दर विचार र अटुट आत्मविश्वासले सोह्र श्रृंगारमा सजिएकीभन्दा साह्रै राम्री लाग्न थाल्यो । १६ लाखको लेहेंगा र ६० लाखको गहना अनि ३ लाखको मेकअपमा बेहुली बनेकी आँचलभन्दा कयौ गुणा सुन्दरता उनको अनुहारमा झल्किएको थियो । उनको अनुहारमा देखिएको मुस्कानले उनको सुन्दरतालाई सोह्र श्रृंगारले भन्दा बढी चम्काइरहेको थियो । कति बोलिएका र कति नबोलिएका तर निरन्तर आफूप्रति तेर्सिएका अनगिन्ति प्रश्नहरुको जवाफ सरीताले मुस्कानबाट दिँदै बधाई एवं शुभकामना ग्रहण गरिरहेकी थिइन् ।

तपाईको प्रतिक्रिया