सेमी लकडाउनमा नेपाल

समाधान संवाददाता २०७६ चैत ६ गते १२:११

समाधान संवाददाता, काठमाडौं

सरकारले बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयका पठनपाठन चैत मसान्तसम्मका लागि बन्द गर्ने भएको छ । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले कोरोना भाइरस रोकथामका लागि चलचित्र घर, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, शारीरिक व्यायामस्थल, हेल्थ क्लब, संग्रहालय, स्विमिङपुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लबलाई भने वैशाख १७ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यक कामबाहेक आवतजावत तथा हिँडडुल नगर्न आग्रह गरिनाका साथै पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, गिर्जाघरजस्ता सांस्कृतिक, सामाजिक र धार्मिकस्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन बन्द गर्ने निर्णय गरेको छ ।

Advertisement

त्यसैगरी सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई चैत ७ गते रातिदेखि लागु हुने गरी आगामी वैशाख ३ सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

कोभिड–१९ बाट संक्रमण भई उपचार गर्नुपर्ने भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी, सामुदायिक र निजी अस्पतालबाट उपचार गराउने व्यवस्था मिलाउने निर्णयसमेत गरिएको छ । त्यसको अनुगमन गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्नेछन् ।

Advertisement

बैठकले सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायी र सर्वसाधारण नागरिकलाई अनुरोध गर्ने निर्णय गरेको अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए । मानिसको बढी जमघट हुने सार्वजनिक महत्वका स्थलमा स्थानीय तहले दैनिकरुपमा निश्चित समयको अन्तरालमा सरसफाइ गर्नुपर्ने र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार र स्थानीय प्रशासनले आवश्यक समन्वय गरी उक्त कार्यको अनुगमन गर्ने उनले बताए । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘बजारमा उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी र मिसावट गर्ने÷गराउनेलाई तत्काल प्रचलित कानुनबमोजिम कारवाही गरिनेछ, दैनिक उपभोग्य अत्यावश्यक सामग्रीको पर्याप्त मौज्दात भएकाले आम उपभोक्तालाई आवश्यकभन्दा बढी सामग्री खरिद र अनावश्यक सञ्चय नगर्न अनुरोध गर्दछौं ।’ यसको अनुगमन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्नेछ ।

त्यसैगरी सरकारले आवागमनमा लगाएको प्रतिबन्धका कारणले आफ्नो मुलुक फिर्ता जान नसकेका विदेशीको प्रवेशाज्ञा अवधि नियमित गर्न निर्धारित प्रवेशाज्ञा अवधिभित्र आवेदन गरेमा प्रचलित कानुनबमोजिम प्रवेशाज्ञा नियमित गर्ने भएको छ । मन्त्री डा खतिवडाले भने, ‘कुनै यात्रुले नेपाल सरकारद्वारा ट्राभल एडभाइजरी जारी गरेको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा वा वायुसेवा कम्पनीले आफैं उडान रद्द गरेका अवस्थामा हवाइ टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने व्यवस्था गर्ने र हवाई टिकट रद्द गर्दा पूरै रकम फिर्ता गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिइनेछ ।’

त्यसैगरी सार्वजनिक यातायातका सवारीधनीलाई यातायात साधन चलाउनुअघि प्रत्येक दिन समयसमयमा सवारी साधनलाई सफा गर्न लगाउनाका साथै होटल, रेस्टुराँ तथा सपिङ मलमा हात सफा गर्नेलगायत सफाइका सामग्रीको प्रबन्ध गरी टेबुल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमितरुपमा सफा गर्न लगाइनेछ । साथै तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी उक्त स्थानमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गरिनेछ । सरकारले अवैधरुपमा लुकाइ राखिएको अवस्थामा फेला परेका र गृह मन्त्रालयबाट जफत गरिएका मास्कमध्ये ५ लाख थान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई र बाँकी साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत बिक्री वितरण गर्ने प्रबन्ध मिलाउने भएको छ ।

एसइई परीक्षा स्थगित
माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित भएको छ । बुधबार सरकारले एसइई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । विश्वभर फैलिएको कोरोना (कोभिड १९) भाइरसको संक्रमण फैलने खतरालाई रोकथाम तथा नियन्त्रणका लागि एसइई स्थगित भएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । ४ लाख ८२ हजार परीक्षार्थी सहभागी हुने एसइईमा प्रदेश अनुसार फरक÷फरक प्रश्नपत्र छापिएको थियो । बिहीबारदेखि तोकिएको परीक्षा अर्को निर्णय नभएसम्मका निम्ति स्थगित भएको हो । एसइई परीक्षाका लागि देशभर १ हजार ९ सय ९५ केन्द्र तोकिएको थियो ।

तपाईको प्रतिक्रिया